२०७४ माघ २५

मेची कृषक बहुमुखी सहकारी संस्था लि. : एक चिनारी

मेची कृषक बहुमुखी सहकारी संस्था लि. : एक चिनारी

परिचय
मेची कृषक बहुमुखी सहकारी संस्था बि.सं. २०५६ साल पुस १६ गते डिभिजन सहकारी कार्यालय, झापामा विधिवत दर्ता भएको हो । तत्कालिन मेचीनगर नगरपालिकाको ग्रामिण भेग मेचीनगर ७ र ८ का मध्यम वर्गीय किसान, साना व्यापारी, शिक्षक, मजदुरहरु र स्थानीय बासीहरुको आम भेलाले छलफल पश्चात संस्था स्थापना गर्ने निधो गरेको थियो । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सहकारी मार्फत आयमूलक काम गर्न सम्भव छ भन्ने कुरा बोध गरेर संस्था खोल्ने निर्णय गरिएको हो ।

उद्देश्य
संस्थाले सदस्यहरुमा बचत गर्ने बानीको विकास गराउनुका साथै उनीहरुलाई स–सानो बचतले पनि ठूलो काम गर्न मद्दत पुग्छ भन्ने कुराको महत्व बोध गराउन प्रयास गरिरहेको छ । संस्थाले सदस्यहरुको पृष्ठभूमिलाई मध्यनजर गर्दै कृषि पेशालाई मर्यादित व्यवसायको रुपमा बिकास गरी व्यावशायीक कृषिको माध्यमबाट खाद्यान्न र खाद्यान्नको बीउमा नगर, जिल्ला, बिकास क्षेत्र हुँदै सिंगो राष्ट्रलाई आत्मनिर्भर गराउँदै तिनको खरिदमा बाहिरिने धनराशीलाई देश भित्रै राख्नुका साथै मुलुकलाई खाद्यान्न निकासीकर्ताको रुपमा विकास गर्ने मूख्य उद्देश्य रहेको छ ।

वित्तीय अवस्था
संस्थामा हाल ७ हजार १ सय जना सर्वसाधारणहरुले सदस्यता लिएका छन् । ४ हजार ९४ जना पुरुषहरु सदस्य बनेको संस्थामा ३ हजार ६ जना महिलाहरु आवद्ध बनेका छन् । संस्थाको २०७४ असार मसान्तसम्मको शेयर पूँजी ३ करोड २७ लाख २ हजार ९ सय रुपैयाँ रहेको छ । उक्त अबधि सम्ममा २४ करोड २४ लाख ६१ हजार ५ सय ४६ रुपैयाँ निक्षेप मौज्दात पु¥याएको संस्थाको जगेडा कोषमा २ करोड ४५ लाख ९६ हजार १ सय ४८ रुपैयाँ जम्मा भएको छ । संस्थाले आफ्ना सदस्यहरुलाई बिभिन्न शीर्षकमा २२ करोड ३५ लाख ३६ हजार ७९ रुपैयाँ ऋण लगानी गरेको छ ।

लगानी
संस्थाबाट सदस्यहरुले कृषि कर्जा, व्यावसायिक कर्जा, शैक्षिक कर्जा आदि शीर्षकमा कर्जा लिने गरेका छन् । संस्थाबाट ऋण लिएका सदस्यहरुले आधुनिक कृषि प्रणालीबाट बिऊ उत्पादन ब्यवसाय, कृषि उपज खरिद बिक्री, व्यापार व्यवसाय आदि सफलरुपमा संचालन गरी आय स्तर बृद्धि गरेका छन् ।

गतिविधि
संस्था आफंैले नेपाल सरकार र कृषि इन्जिनियरिङ्ग निर्देशनालय हरिहर भवनको सहयोगमा सामुदायिक पोष्ट हार्भेष्ट सेवा केन्द्र स्थापना गरेको छ । जसमा २ सय मेगाटन क्षमताको गोदाम, मेशीनरी भवन, ट्रान्जिट भवन, कार्यालय भवन, थ्रेसिङ्ग फ्लोर आदि निर्माण गरिएको छ । संस्थाले मिल मेशीनरी जडान गरेर उन्नत बिऊ उत्पादन, भण्डारण, प्रशोधन गर्दै कृषक माझ पु¥याउने गरेको छ । साथै संस्थाले कृषकहरुको उत्पादनलाई उचित मूल्य दिलाउनका लागि राईस मिल, ट्रयाक्टर, पावर ट्रेलर, थ्रेसर आदि संचालन गरेर हाल प्रत्यक्ष रुपमा ३० जनालाई रोजगारी दिएको छ । अप्रत्यक्ष रुपमा संस्थाका अधिकांश सदस्यहरु कुनै न कुनै व्यवसायमा आवद्ध भएर स्वरोजगार हुन सफल भएका छन् ।
बिजबृद्धि व्यवसायमा संलग्न भएर १ सय ५० जना कृषकहरुले व्यवसायिकरुपमा बिज उत्पादन गरी मनग्गे आम्दानी गरिरहेका छन् । हिजोका दिनमा कृषि पेशाबाट जीविकोपार्जन गर्न समेत हम्मे परिरहेका सदस्यहरु हाल यस व्यवसायबाट वार्षिक सरदर १ लाख रुपैयाँ शुद्ध मुनाफा आर्जन गर्न सफल भएका छन् । तर संस्थाले संचालन गरेको बिज उत्पादन र खाद्यान्न दुवै व्यवसायमा खुल्ला सिमानाका कारण छिमेकी मुलुक भारतबाट निर्बाध आउने गुणस्तरहीन बिऊ तथा खाद्यान्नसंग प्रतिस्पर्धा गर्न कठिनाई भएको छ । उपभोक्तामा गुणस्तरप्रति चेतना अभिबृद्धि नभएकाले झन समस्या परेको छ । साथै सरकारले दिने अनुदान कार्यक्रम प्रत्यक्ष उत्पादनमा संलग्न सहकारी वा समूह मार्फत संचालन हुनुपर्नेमा सरकारले खोलेका कम्पनीहरु मार्फत परिचालन गरेकाले कृषकहरुले राहतको अनुभूति गर्न पाएका छैनन् । गुणस्तरीय बिऊको अभावमा स्थानीय किसानहरु त मर्कामा परेका छन् नै त्यसमाथि सहकारीले उत्पादन गरेका गुणस्तरीय बिऊले बजारमा कमशल बिऊसंग प्रतिस्पर्धा गर्न नसक्दा संस्थापनि मर्कामा परिरहेको छ ।

सदस्यहरुको वित्तीय आवश्यता पुरा गर्नका लागि बचत तथा ऋण सेवा संचालन गरेको संस्थाले कृषक सदस्यहरुलाई मलखाद उपलब्ध गराउनुका साथै कृषि भण्डार पनि संचालन गरेको छ । त्यसैगरी कृषि तालिम, गोष्ठी, कृषक अवलोकन भ्रमण, जनचेतनामूलक कार्यक्रम, कृषि मेला, प्रदर्शनी, स्वास्थ्य शिविर, माटो परीक्षण शिविर आदि शिक्षा तथा सेवामूलक कार्यक्रमहरु पनि संस्थाले संचालन गर्दैआएको छ ।

संस्थाले आगामी दिनमा आफ्ना कृषक सदस्यहरुलाई बिऊ तथा खाद्यान्नको उत्पादनमा व्यवसायिक बनाएर समग्र मुलुकलाई नै यिनमा आत्मनिर्भर बनाउने संकल्प बोकेको छ । त्यसैगरी संस्थाले बैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि व्यवसायमा लाग्न प्रेरित गर्नुका साथै बिदेशिन लागेका युवाहरुलाई समेत कृषि व्यवसाय प्रति आकर्षित गर्नका लागि कृषिलाई आधुनिक एवं मर्यादित व्यवसायको रुपमा बिकास गरी यसमा आमूल परिवर्तनकारी योजना तर्जुमा गरेर अगाडि बढाउने महत्वकांक्षी लक्ष्य लिएको छ ।

हासिल उपलब्धी
संस्थाले आफ्ना सदस्यहरुलाई एक्लैले गर्न नसकिने काम समूहमा मिलेर गर्न सकिन्छ भन्ने बोध गराउन सफल भएको छ । हिजो संस्था स्थापनाताका दैनिक १० रुपैयाँ समेत बचत गर्न नसक्ने सदस्यहरु आज ५ सय र १ हजार रुपैयाँ सहजै बचत गर्न सक्ने भएका छन् । हिजो ५ हजार रुपैयाँको व्यवसाय गर्नपनि साहुको मुख ताक्ने सदस्यहरु आज लाखौंको उद्योग व्यवसाय गर्न सक्ने भएका छन् । प्रारम्भमा ७८ जना सदस्यहरुबाट प्रति सदस्य ५ कित्ताका दरले ३९ हजार रुपैयाँ संस्थापन शेयर पूँजी संकलन गरी स्थापना भएको संस्थामा आज एकै सदस्यले बीसौं हजार शेयर र लाखांै रुपैयाँ निक्षेप बचत गर्नुभएको छ । संस्थाको शेयर पूँजी र जगेडा कोषमा भएको उल्लेख्य बृद्धिले पनि संस्थाले सदस्यहरुमा व्यवसायिकताको विकास गर्नुका साथै विश्वनियता आर्जन गर्न सफल भएको देखिन्छ ।