२०७५ जेष्ठ १६

‘बल्ल चार दिन पछि भैंसी भेटियो’

‘बल्ल चार दिन पछि भैंसी भेटियो’

कुशश्री न्यौपाने कोलमतेश्वर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । ५४ बर्ष अघि रामेछाप जिल्लाको बाबियाखर्कमा जन्मिनुभएका न्यौपाने सहकारी अभियानका अतिरिक्त बिभिन्न सामाजिक संस्थामाहरुमा पनि संलग्न हुनुहुन्छ । समाज परिवर्तन गर्ने अभिप्राय बोकेर उहाँ चार दशक सक्रिय राजनीतिमा समेत होमिनुभएको थियो । हामीले यस अंकमा मिजासिलो तथा फरासिलो व्यक्तित्वका धनी न्यौपानेका केही वैयत्तिक विचार र जीवन यात्राका वारेमा उहाँसंग कुराकानी गरेका छौं ।

जन्म कहाँ र कहिले भएको हो ?

मेरो जन्म रामेछाप जिल्लाको बाबियाखर्क वडा नं. ९ मा बुबा पण्डित रामप्रसाद र आमा जानकीको कोखबाट माइलो सुपुत्रको रुपमा बि. सं. २०२० साल असार २४ गते सोमबार भएको हो ।

परिवारमा को–को हुनुहुन्थ्यो ?

हाम्रो परिवारमा हजुरबुबा कोमलप्रसाद, लबश्री (दाजु) र बहिनी सुभद्रा थिई ।

तपाईंको बाल्यकाल कसरी बित्यो ?

मेरो बाल्यकाल पहाडको ग्रामीण परिवेशमा व्यतित भएको हो । हाम्रो घरमा गाई, भैंसी, बाख्रा लगायतका बस्तुभाउ प्रशस्त हुन्थे । म सानोमा तिनका लागि घाँस काट्ने, गोबर सोहोर्ने, स्याउला काट्ने, पँधेराबाट पानी बोक्ने लगायतका घरायसी काम गर्थें ।

बाल्यकालमा घटेको कुनै यादगार घटना वा प्रसङ्ग छ कि ?

बाल्यकालमा घटेका अविस्मरणीय घटनाहरु धेरै छन् । ती मध्ये अहिले स्मृतिमा म चार बर्षको हुँदा घटेको घटना याद आयो । हामी गाउँका केटाकेटी भैँँंसी लिएर चराउन गएका थियौं । भैंसीलाई चरनमा छोडेर हामी केटाकेटीहरु गट्टा खेल्न थाल्यौं । गट्टा खेलीसकेर हेर्दा त भैंसी छैनन् । सबैतिर खोज्यौं तर भैंसी भेटेनौं । पछि सबै घरका अभिवावकहरु मिलेर खोज्दा बल्ल चार दिन पछि भैंसी भेटियो त्यो पनि धेरै टाढा । त्यसैगरी एकचोटी म रुख बाट करिब ३० फिट माथिबाट लडेको छु । त्यो दुर्घटनाको पनि याद आईरहन्छ ।

बाल्यकालमा साथी संगीहरु को–को हुनुहुन्थ्यो ?

त्यतिखेर छिमेकी भलाखर्कमा उद्धव, भगवती, सानी, कान्छी, नानीबाउ(बिमल) लगायतका दौतरी थिए । ती सबै अहिले सामान्य जिबन बिताएर बसेका छन् ।

औपचारिक शिक्षा कहाँबाट सुरु गर्नुभयो ?

प्रारम्भिक शिक्षा १ कक्षा सम्म, त्यस पछि घरबाटै धाएर रामेछापको गौरीशंकर हाईस्कुलमा एस.एल.सी सम्मको अध्यन गरे ।

बिद्यालय हुँँदा को दिनचर्या ?

घरबाट एक ढेड घण्टा हिँडेर स्कुल जानुपर्थियो । तैपनि पढाईमा कक्षामा अग्रपङ्तिमा थिएँ । मैले भलिबल खेलाडीको रुपमा जिल्ला स्तरीय खेल खेलेको थिएँ । साँस्कृतिक कार्यक्रम हुँदा नाचगानमा भाग लिन्थें । अन्य क्रियाकलापहरुमा पनि भाग लिन्थें । स्कुलमा सबै बिध्यार्थीहरुसंग परिचित थिएँ ।

कुन तह सम्मको अध्यन गर्नुभएको छ ?

मैले त्रिभुवन विश्वबिद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र नेपाल ल क्याम्पसबाट कानुन बिषयमा स्नातक तहसम्मको अध्यन गरेको छु ।

अहिले परिवारमा को–को हुनुहुन्छ ?

दुईवटी श्रीमती, चार भाई छोरा र म छौं ।

मागी कि भागी बिहे ?

एउटा मागी गरें अर्को भागी ।

यौवनमा कसैसंग प्रेम गर्नुभयो ?

केटी साथी त धेरै थिए । धेरै संग राम्रो सम्बन्ध पनि थियो । माया पिरतीको कुरा पनि भए । एकआपसमा खुल्ला कुरा पनि भए । तर गहिरिएर अथवा माया चाहिँ कोहीसंग पनि बसेन ।

फुर्सदको समय कसरी ब्यतित गर्नुहुन्छ ?

म आखा राम्रोसंग देख्दिनँ । त्यसैले टेलिभिजनमा मा संसारभरिका समाचारहरु सुन्छु र बस्छु ।

खानपानमा कस्तो रुची छ ?

पहिले पहिले साथीभाईसंग रेस्टुरेन्ट गइन्थ्यो । उनीहरुसंग बसेर खाइन्थ्यो । आजभोलि मलाई खानपानमा त्यति रुची छैन । तैपनि गफगाफ चाहिँ सबैसंग खुलेरै गर्न मन लाग्छ ।

साहित्य र लेखनमा रुची छ कि छैन ?

धेरै रुची छ । हाईस्कुल पढ्दा बिभिन्न कार्यक्रमहरुमा कविताहरु लेखी प्रतियोगितामा भाग लिन्थें । जिल्लामा हुने कविता प्रतियोगितामा भाग लिइ प्रथम/द्वितीय पनि भएको थिएँ । पछि उच्च शिक्षा हासिल गर्ने क्रममा मैले रचेका कविताहरु रेडियो नेपालबाट प्रशारण हुने साहित्यिक कार्यक्रममा पनि वाचन हुनेगर्थे । त्यसबेला प्रकाशित हुने बिभिन्न पत्र पत्रिकाहरुमा समेत मेरा लेख रचनाहरु छापिएका थिए । त्सैगरी मैले भागवत, गीता, महाभारत, देवी भागवत, तुलसीकृत रामायण आदि धार्मिक ग्रन्थहहरुको पनि मैले राम्रो अध्यन गरेको छु । बी.पी. कोइरालाका सम्पूर्ण लेख रचनाहरु पनि मैले अध्ययन गरेको छु । मैले आफ्नो आत्मवृत्तान्तका लगभग ९ सय ५ पृष्ठ तयार पारेको छु । आजभोलि चाहिँ मेरो सुन्ने मात्र काम हुन्छ देख्ने काम हुँदैन ।

गीत संगीतमा ?

वास्तबिक कुरा बुझेर होला गीत संगीतमा त्यति रुची छैन ।

कहाँ कहाँ घुमफिर गर्नुभएको छ ?

मैले विश्वका अधिकांश देशहरु घुमेको छु । नाम चलेका देशहरु चाहिँ नछुटाई घुमेको छु । छिमेकी मुलुक भारतका ३०/३१ प्रान्तहरु घुमिसकेको छु ।

राजनीतिलाई कसरी हेर्नुहुन्छ ?

राजनीतिलाई मैले राम्रोसंग बुझेको छु । राजनीति भनेको ठुलो छाती भएका मानिसहरुले गर्ने सामाजिक पेशा हो । तर नेपालमा राजनीति फटाहा, लुच्चो, झुट, अपराधी र गरेर होईन मागेर खानेखालको मान्छेहरुको पेशा बनेको छ । त्यसैले म हाम्रो मुलुकको राजनीतिलाई राम्रो दृष्टिकोणले हेर्दिनँ ।

कुनै दलमा आबद्ध हुनुहुन्छ कि ?

मैले चालिस वर्ष सम्म नेपाली कांग्रेस पार्टीमा सक्रिय बनेर काम गरेँ । जेल गएँ । कुटाई खाएँ । लिडरशिपमा रहेर नेतृत्व गरेँ । पार्टीमा चिनजान भएका साथीहरुले पनि असल मान्छे हो भन्छन् ।

कस्तो खालको राजनैतिक दर्शनले तपाईलाई आकर्षित गर्छ ?

म बी.पी.को लोकतान्त्रिक समाजवादबाट प्रभावित भएको व्यक्ति हुँ । मलाई लोकतन्त्र, मौलिक हक अधिकार, स्वतन्त्र व्यय र बहुलवाद सहितको राजनैतिक दर्शनले आकर्षित गर्छ ।

आध्यात्ममा रुची छ कि छैन ? यसलाई कसरी हेर्नुहुन्छ ?

म आध्यात्ममा बहुत रुची राख्ने व्यक्तिहरु मध्येमा पर्छु । मैले सानै उमेरमा रामायण, महाभारत, गीता, भागवत आदि शास्त्रहरुको राम्रोसंग अध्ययन गर्ने मौका पाएँ । धर्म के हो भन्ने कुरा मैले गहिराई सम्म बुझेको छु । म तीर्थ यात्रामा पुग्नुपर्ने प्रमुख सबै धार्मिक स्थलहरुमा पुगिसकेको छु ।

सामाजिक संस्थाहरुमा आबद्ध हुनुहुन्छ ?

यहाँसम्म आईपुग्दा मैले धरै संस्थाहरुमा आबद्ध भएर योगदान दिएको छु । म कोलमतेश्वर समाजमा १३ वर्ष देखि हाल सम्म पनि अध्यक्ष पदमा कार्यरत छु । साथै मैले बाबियाखर्क समाजमा पनि बिगतमा अध्यक्षको जिम्मेवारी र हाल सल्लाहकारको रुपमा काम गरिरहेको छु । मैले HEDC Nepal मा पनि मैले अध्यक्ष पदमा रहेर १० वर्ष योगदान दिएको छु । नेपाल अपाङ्ग संघमा पनि २० वर्षदेखि बिभिन्न पदमा रहेर काम गर्नुका साथै संघको आजीवन सदस्य बनेको छु ।

सहकारी क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

म बि.सं. २०३९ सालमा जय नेपाल बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरेर त्यसको संस्थापक अध्यक्षकोरुपमा सहकारी अभियानमा प्रवेश गरेको हुँ । सुरुमा सहकारी क्षेत्र सम्बन्धी ज्ञान थिएन । समयक्रममा अनुभवबाट सिक्दै गएँ ।

यस क्षेत्रमा लाग्छु भन्दा परिवारबाट कस्तो प्रतिक्रिया प्राप्त गर्नुभयो ?

घर परिवारबाट कुनै प्रकारको प्रतिक्रिया ब्यक्त भएन । मैले जीबनमा कुनै पनि बिषय र क्षेत्रमा पाईला चाल्दाखेरी परिवारबाट बिरोध वा नकारात्मक प्रतिक्रिया पाएको छैन ।

सहकारीमा लागेर घरपरिवार संचालन गर्न सम्भव छ ?

सहकारी भनेको सेवा हो । कमाई खाने भाँडो होईन । यस क्षेत्रमा लागेर परिवार संचालान गर्न सम्भब छैन ।

सहकारी क्षेत्रमा लाग्नु अगाडि कुन पेशा र ब्यवसायमा संलग्न हुनुहुन्थ्यो ?

सहकारी पेशा होईन । म सामाजिक क्रियाकालापमा मात्र व्यस्त छु ।

सहकारी क्षेत्र नै रोज्नुको केही विशेष कारण छ कि ?

म योजना र लक्ष्य बनाएर यस क्षेत्रमा प्रवेश गरेको होईन ।

हाल तपाई आबद्ध हुनुभएको सहकारी संस्थाको अवस्था कस्तो छ ?

म आबद्ध भएको कोल्मतेश्वर बचत तथा ऋण सहकारी संस्था समुदयमा आधारित एउटा सामाजिक संस्था हो । यो संस्था बित्तीय अनुशासन कायम राख्नका लागि पूर्णरुपमा पर्ल्स् अनुगमन प्रणाली अनुसार संचालित छ ।

संस्थाको आर्थिक अवस्था कस्तो छ ?

हाल संस्थामा आबद्ध हुनुभएका ७ हजार २ सय जना शेयर सदस्यहरुबाट २ करोड १० लाख रुपैयाँ शेयर पूँजी र १० करोड रुपैयाँ निक्षेप संकलन भएको छ ।

संस्थाले आगामी दिनका लागि के कस्ता योजनाहरु बनाएको छ ?

समाजलाई आवश्यक पर्ने सामाजिक क्रियाकलापहरु अगाडि बढाउने, गरिब तथा सुकुम्बासीहरुको आर्थिक अवस्था माथि उठाउने, सदस्यहरुको अवस्था हेरी स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम गर्ने आदि योजना तथा कार्यक्रमहरु छन् ।

संस्थाबाट कर्जा लिएर नमुनायोग्य उद्यम वा सफल व्यवसाय गरिरहेका कोही सदस्यहरु छन् कि ?

यस सस्थाले बिभिन्न क्षेत्रमा लगानी गरी सदस्यहरुको जीवनस्तर उकास्नका लागि सहायता गरेको छ । संखरापुर नगरपालिक वडा नम्बर ९ बस्ने कृष्णबहादुर खत्रीलाई घुम्ती तरकारी पसल संचालन गर्नका लागि संस्थाले ठेलागाडा खरिद गरिदिएको थियो । उहाँले संस्थासंग गरेको नियमित कारोवारलाई विश्वास गरेर हामीले उहाँलाई ११ लाख रुपैयाँ सम्म बिना धितो कर्जा प्रदान गर्यौं  । संस्थाबाट प्राप्त कर्जाको सदुपयोग गरेर उहाँ आफ्नो व्यवसायमा स्थापित हुनुभयो । इन्द्रयानीमा घर बनाएर बसोबास गर्न सफल हुनुभएका उहाँ हाल तरकारी व्यवसायलाई पनि निरन्तरता दिँदै हुनुहुन्छ । त्यससैगरी थलीमा बसोबास गर्दै आउनुभएका सरोज परियारलाई पनि संस्थाले सुरुमा १ लाख ५० हजार रुपैयाँ लगानी गरी व्यवसाय संचालन गर्न मद्दत गरेको थियो । हाल उहाँ ३० लाख रुपैयाँ पूँजी भएको पसल चलाईरहनु भएको छ । संस्थाले आफ्नो कार्यक्षेत्रभित्र रहेका कृषकहरुलाई बिना धितो कर्जा प्रदान गरेर उत्पादन बृद्धि गर्नमा सहयोग गरेको छ । उहाँहरुले यसबाट उल्लेख्य आम्दानी प्राप्त गर्न सफल हुनुभएको छ । त्यसैगरी संस्थाले सुकुम्वासी टोलहरुमा लघुवित्त कार्यक्रम मार्फत लगानी गरेको छ । कार्यक्रमबाट धेरै सुकुम्बासीहरु आयआर्जन गर्नसक्ने हुनुका साथै उहाँहरुलाई सहज ढंगले जीवनयापन गर्ने वातवरण बनेको छ ।

सहकारी संस्था संचालन गर्दा के कस्ता अप्ठ्याराहरु आउने रहेछन । अनुभव सुनाइदिनुस् न ?

बिगतमा समाजमा सहकारी सम्बन्धी ज्ञान र चेतना थिएन । सर्बसाधारणमा सहकारी भनेको बचतकर्ताहरुको निक्षेप पोको पारेर भाग्ने संस्था हो भन्ने भ्रम थियो । संचालकहरुलाई पैसा खाएर भाग्न संस्था खोलेको भनेर गालीगलौज गरिनुका साथै कालोमोसो सम्म दल्ने सम्म प्रयास हुन्थ्यो । कहिलेकहिँ त ढ्याङ्ग्रो ठोकेर खेद्छु सम्म भन्थे । आजभोलि संचालक साथीहरुलाई जति तालिम तथा सेमिनारहरुमा पठाएपनि आफ्नो उत्तरदायित्व वहन गर्नुहुन्न । कुनैवेला त मैले बेकारमा सहकारी खोलें कि जस्तो लाग्छ !

सहकारी क्षेत्रमा लाग्छु भन्ने व्यक्तिहरुलाई केही सल्लाह दिनुहुन्छ कि ?

सहकारीको मूल्य, मान्यता, सिद्धान्त र कार्यपद्धतिको बारेमा राम्रोसंग कुरा नबुझी केवल कमाएर खान्छु भन्ने गतल सोच र नियतले सहकारी क्षेत्रमा प्रवेश नगर्नुस । सोच्छ सामाजिक सेवा भाव बोकेर सहकारी सम्बन्धी आवश्यक अध्ययन गरेर मात्र अभियानमा लाग्नुहोस ।