२०७५ जेष्ठ १७

‘मासिक पन्ध्र रुपैयाँ बचत संकलन गर्दथ्यौं’

‘मासिक पन्ध्र रुपैयाँ बचत संकलन गर्दथ्यौं’

वि.सं. २०१७ सालमा राजधानीको चिंकमंगलमा जन्मिनुभएका दयाराम प्रजापति काठमाडौंको सफल सहकारी संस्था अ‍ैंचो पैंचो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ । उहाँ साथीहरुसंग मिलेर टंकेश्वरमा खोलेको पुस्तकालयले पहिलोपटक आफूमा सामाजिक सेवाप्रति अभिरुची जगाएको बताउनुहुन्छ । स्थानीय युनाईटेड युथ क्लबमा आवद्ध बनेर थुप्रै सामाजिक गतिविधिमा संलग्न भएपछि उहाँको समाजसेवा गर्ने अभिरुची अन्तत आसक्तिमा बदलियो । जुन आज पर्यन्त अटुट् छ । सहकारी सञ्चारको यस अंकमा संघर्षशील स्वभावका प्रजापतिसंग ऋषिराम ढकालले केही अन्तरङ्ग कुराकानी गर्नुभएको छ ।

तपाईंको जन्म कहाँ र कहिले भएको ?

मेरो जन्म वि.सं. २०१७ सालमा काठमाडौं जिल्लाको चिंकमंगल (हालको काठमाडौं महानगरपालिका वडा नं. १) मा भएको हो ।

वाल्यकाल कसरी बित्यो ?

मेरो वाल्यकाल संघर्षमय रह्यो । म १९ वर्षको हुँदा वुवा स्वर्गे हुनुभयो । त्यसपश्चात मेरो समय व्यापारमा संघर्ष गर्दैमा वित्यो ।

वाल्यकालमा घटेको कुनै यादगार घटना वा प्रसंग छ कि ?

सानोमा म अलि उटपट्याङ थिएँ । म हाम्रो किराना पसलमा वस्थेँ । पसलबाट निस्कँदा जहिले पनि मुमा ले मेरो शरीर खानतलासी गर्नुहुन्थ्यो । त्यसैले खर्च निकाल्ने मैले नयाँ जुक्ति निकालेको थिएँ । पसलबाट निस्कनु अगाडि पैसालाई पोको पारेर सडकमा फाल्थेँ । आमा पसलमा आउनुहुन्थ्यो । मेरो खल्ती छाम्नुहुन्थ्यो अनि मलाई पठाउनुहुन्थ्यो । म चाहिँ बाटोमा खेल्दै गएर अघि फालेको पैसाको पोको टिपेर खल्तीमा हाल्थेँ । सदा झैँ एकदिन पैसा पोको पारेर बाटोमा फाल्ने वित्तिकै एउटा केटाले टिपेर भाग्यो । म त्यो केटालाई लखेट्दै लगन सम्म पुगेँ तर भेट्टाउन सकिनँ । मलाई पसलको भन्दा पनि मेरो खर्चको धेर माया लागेछ । त्यसपछि मैले कहिल्यै त्यसो गरिनँ । यो घटना म कहिल्यै विर्सदिनँ ।

औपचारिक शिक्षा कहाँबाट शुरु गर्नुभयो ?

म नेपाल आर्टसमा पढ्थेँ । पछि परोपकारमा ‘जोईन’ भएँ र त्यहिँ बाट एसएलसी पास गरेँ । नेपाल ल क्याम्पसमा आई.एल. पढ्दै गर्दा वुवा स्वर्गे हुनुभएपछि मेरो औपचारिक पढाई त्यतिमै रोकियो ।

बिद्यालयमा पढ्दाताकाको दिनचर्या कस्तो थियो ?

बिहान म पसलमा बस्थेँ । दिउँसो विद्यालयमा पढ्न जान्थेँ । विद्यालयबाट घर फर्केपछि साँझमा फेरि पसलमा पालो दिन जान्थेँ । प्राय दैनिकी यसरी नै वित्थ्यो ।

अहिले परिवारमा को को हुनुहुन्छ ?

परिवारमा म, श्रीमति, छोरा, बुहारी र नाती छौं । दुईजना छोरीहरुको बिहे भईसक्यो ।

मागी की भागी बिहे ?

मेरो मागी बिहे हो ।

योवनमा कसैसंग प्रेम गर्नुभयो ?

सानैबाट अधिकांश समय पसलमै वितेको हुनाले त्यस्तो मौका मिलेन ।

फुर्सदको समय कसरी व्यतित गर्नुहुन्छ ?

आजकाल पनि म व्यापार मै व्यस्त छु । केही वर्षदेखि म यस संस्थामा ‘भोलेन्टियर्स’ को रुपमा कार्यरत छु । साथीहरुले मलाई कार्यकारी प्रमुखको रुपमा काम गर्नुस् भन्नुभएको थियो । हामी नीति नियमको परिधिमा रहेर नीति निर्माण गर्ने तहमा पुग्ने हो । कर्मचारीहरुलाई नै सक्षम बनाएर संस्था संचालन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।

खानपानमा कस्तो रुची छ ?

मलाई दाल, भात, तरकारी जस्तो सामान्य भोजन मन पर्छ । अरु जस्तो वेलुका भएपछि मद्यपान गर्ने रुची छैन ।

साहित्य र लेखनमा रुची छ कि छैन ?

खासै रुची छैन ।

गीत संङ्गीतमा ?

पहिले यसमा लागेको पनि थिएँ । तर समय पाउन सकिनँ ।

कहाँ कहाँ घुमफिर गर्नुभएको छ ?

मलाई घुमफिरमा असाध्यै रुची छ । म छिमेकी मुलक भारतको नयाँ दिल्ली, कलकत्ता, बैंगलौर, हरिद्वार लगायतका ठाउँहरुमा पुगेको छु । मुलुम भित्र पश्चिमको नेपालगञ्ज देखि पूर्वको ईलाम सम्म पुगेको छु ।

कुनै दलमा आवद्ध हुनुहुन्छ ?

म वामपन्थी स्वभाव भएको मान्छे हुँ । वि.सं. २०३५/०३६ सालदेखि नै म विभिन्न राजनैतिक दलहरुमा आवद्ध भएर क्रियाशील छु ।

कस्तो खालको राजनैतिक दर्शनले तपाईंलाई आकर्षित गर्छ ?

म वामपन्थी दर्शन प्रति आकर्षित छु । पञ्चायत कालमा रुपचन्द्र बिष्ट हाम्रो घरमा ६ वर्ष बस्नुभयो । उहाँ राष्ट्रिय पञ्चायत सदस्य पनि हुनुभयो । उहाँ संगको संगतले नै मेरो वामपन्थी राजनीति तर्फ झुकाव वढाएको हो ।

आध्यात्ममा रुची छ कि छैन ?

यसमा रुची छैन ।

कुन–कुन सामाजिक संस्थाहरुमा आवद्ध हुनुहुन्छ ?

टंकेश्वरका साथीहरुसंग भिजेको भएकाले हामीले त्यहाँ एउटा पुस्तकालय खोलेका थियौं । पुस्तकालयले नै मेरो सामाजिक सेवाप्रति अभिरुची जगाएको हो । त्यसपछि म युनाईटेड युथ क्लबमा प्रवेश गरेँ । त्यसको केही समयपश्चात म अ‍ैंचो पैंचोमा लागेँ र अहिले सम्म पनि यहिँ छु ।

सहकारी क्षेत्रमा कसरी लाग्नुभयो ?

सम्भवत मुलुकमै पहिलो पटक युनाईटेड युथ क्लब मार्फत हामीले टंकेश्वरमा टोल सरसफाई अभियान चलाएका थियौं । त्यसका लागि हामीले पसल हेरेर १५ देखि ३० रुपैयाँ सम्म पैसा उठाएर केही कुचीकारहरुको व्यवस्था गरेका थियौं । तर मलाई एकदिन मेरो एकजना साथीको वुवाले भन्नुभयो, ‘दया, तिमीहरुले किन यसरी पैसा उठाएको ? नउठाएको भए हुन्थ्यो । नगर पञ्चायतले सरसफाई गरेकै छ । आज फोहोर भए भोलि सफा भईहाल्छ । क्लबको आडले तिमीहरुले पैसा उठायौ । हामीले नाई भन्न सकेनौं । अहिले हामीले दिएको पैसा जसरी तिमीहरुले हात थापेर लिएका छौ, अर्को जुनीमा पनि त्यसैगरी हात थाप्नुपर्छ है ।’ मैले त्यसवेला उहाँलाई तपाईंहरुले दिएको पैसा व्यक्तिगत लाभका लागि प्रयोग गरेको भए तपाईंको आशिष लागोस होईन सामाजिक क्षेत्रमा नै खर्च भएको रहेछ भने घुमफिर गरेर तपाईंमै पुगोस भन्ने जवाफ दिएँ । यसले म मा मान्छेले चित्त नबुझाउँदा नबुझाउँदै काम गर्न हुँदैन भन्ने कुरा जागृत गरायो । मैले अव के गर्ने भनेर साथीहरुसंग सल्लाह गर्दा एकजना मित्रको दाईले अव सहकारीमा लागौं भन्नुभयो । उहाँको प्रेरणा र स–सानो बचतले पनि भविष्यमा ठूलो काम गर्न सकिन्छ भन्ने मान्यताले हामी सहकारीमा लागेका हौं ।

यस क्षेत्रमा लाग्छु भन्दा परिवारबाट कस्तो प्रतिक्रिया प्राप्त गर्नुभयो ?

व्यापारलाई अप्ठ्यारो नपार्ने कुनैपनि किसिमको काम कारवाही गर्नमा मलाई परिवारले छेकवार लगाएन ।

सहकारीमा लागेपछि कसरी समय व्यवस्थापन गर्नुभएको छ ?

सहकारीमा पूरा समय दिनुपर्दैन । हामीले ‘सिस्टम डिभेलप’ गर्ने हो । त्यसैले यस क्षेत्रमा लाग्दा घरपरिवार र व्यापारमा कुनै असर पर्दैन ।

हाल तपाईं अवद्ध हुनुभएको सहकारी संस्थाको अवस्था कस्तो छ ?

हामी १५ जना साथीहरु मिलेर संस्था स्थापना गरेको हौं । प्रति सदस्य ५० रुपैयाँ शेयर हालेर खोलेको संस्थामा मासिक १५ रुपैयाँ बचत संकलन गर्दथ्यौं । तर मानिसहरु त्यो १५ रुपैयाँ बचत गर्दापनि अल्लारे केटाहरुले संचालन गरेको संस्था कसरी चल्ला र ? भनेर सन्देह प्रकट गर्थे । तरपनि हामीले संस्थालाई निरन्तरता दियौं । यहाँ सम्म आईपुग्दा हाम्रो संस्थामा २२ सय जना शेयर सदस्यहरु आवद्ध हुनुभएको छ । यसमापनि ५२ प्रतिशत संख्या महिलाहरुको छ । संस्थाको शेयर पूँजी ३ करोड ५६ लाखको हाराहारीमा छ । त्यसैगरी निक्षेप २४ करोड र कर्जा लगानी २२ करोड रुपैयाँ रहेको छ । हामीले एक दशक अघि आफ्नै कार्यालय भवन निर्माण गरेका हौं । हाम्रो संस्थाको जगेडा कोषमा २ करोड १६ लाख रुपैयाँ जम्मा भएको छ ।

संस्थाले आगामी दिनका लागि के कस्ता योजनाहरु बनाएको छ ?

हाम्रो संस्थाको कार्यक्षेत्र नेपाल भरि रहेको छ । तर यस वर्ष हामी कुनै संस्थासंग एकीकृत भएर वा सेवा केन्द्र स्थापना गरेर काठमाडौं जिल्लामा केन्द्रित हुँदै छौं । राजधानीको साँखुमा सेवा केन्द्र खोलेर सदस्यता विस्तारलाई प्रभावकारी बनाउने सोच बनाएका छौं ।

संस्थाबाट कर्जा लिएर नमूनायोग्य उद्यम वा व्यवसाय गरिरहेका कोही सदस्यहरु छन की ?

उद्यम भन्दापनि संस्थाबाट ऋण लिएर थुप्रै महिलाहरु सफल व्यवसायी बनेका छन् ।

सहकारी संस्था संचालन गर्दा के कस्ता अप्ठ्याराहरु आउने रहेछन ? अनुभव सुनाईदिनुस न ?

हामी ‘सिस्टम’मा संचालित भएकाले होला मैले सहकारी संस्था संचालन गर्दा कुनै अवरोध देखेको छैन । यदाकदा ऋणीले समयमा ऋण नतिर्ने कुरा सामान्य हो । सहकारी स्वनियमन र नीति नियम भित्र रहेर चल्ने निकाय भएकाले खासै समस्या आउँदैन ।

सहकारी क्षेत्रमा लाग्छु भन्ने व्यक्तिहरुलाई केही सल्लाह दिनुहुन्छ कि ?

सहकारीमा लाग्दा आफ्नो मूल पेशालाई अप्ठ्यारो नपर्ने गरी लाग्नुपर्छ । यस क्षेत्रमा लाग्दा विभिन्न पेशा व्यवसायमा संलग्न सदस्यहरुबीच निकटता कायम हुनुका साथै सामाजिक गतिविधिहरुमा सहभागी हुने अवसर प्राप्त हुन्छ । मानिसहरुलाई स–सानो बचत मार्फत भविष्य सुनौलो पार्न सकिन्छ भन्ने कुरा बुझाउनका लागि पनि यस क्षेत्रमा लाग्नुपर्छ ।