२०७५ आश्विन २५

‘समाजमा सहकारीको माध्यमबाट प्रतिष्ठा बढेको छ’

‘समाजमा सहकारीको माध्यमबाट प्रतिष्ठा बढेको छ’

सोलुखुम्बु जिल्लाको तत्कालीन नेचा बेतघारी गा. वि. स. वडा नंंं. ९ रातमाटामा आमा रत्नकुमारी बाँस्तोला र बुवा छविलाल बाँस्तोलाको कोखबाट कनिष्ठ सुपुत्रको रुपमा वि.सं. २०३२ सालमा जन्मनु भएका बालकुमार बाँस्तोला काठमाडांको एक सफल सहकारी सहकाली बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सचिव र हाल प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले विगतमा पर्यटन क्षेत्र, नेपालको बैकिङ्ग क्षेत्र र सहकारीका विभिन्न छाता संगठनहरुमा रहि कुशलतापूर्वक कार्यक्षमताको प्रदर्शन गरिसक्नु भएको छ । प्रस्तुत छ काठमाडौंका साकोसहरुको भिडमा छोटो समयमा उल्लेख्य प्रगति गर्न सफल सहकारीलाई एक दशक देखि नेतृत्व गर्दै आउनुभएका सफल सहकारीकर्मी बाँस्तोलासँग गरिएको अन्तरङ्ग कुराकानी ।

तपाईंको जन्म कहिले र कहाँ भएको हो ?

मेरो जन्म विक्रम संवत् २०३२ सालको चैत्र महिनामा सोलुखुम्बु जिल्लाको तत्कालीन नेचा बेतघारी गा. वि. स. वडा नं. ९, रातमाटामा भएको हो ।

सानो हुँदा परिवारमा को–को हुनुहुन्थ्यो ?

हजुरबुवा, हजुरआमा, बुवा, आमा, दाजु र तीन जना बहिनीहरु भएको परिवार थियो ।

तपाईंको बाल्यकाल कसरी वित्यो ?

मेरो बाल्यकाल सामान्यरुपमा नै वित्यो । निम्न मध्यमवर्गीय परिवारको सदस्य भएको कारणले केहि कठिनाई नभएको होइन । तै पनि घरको कान्छो छोरो हुनुका नाताले स्कूल जाने आउने र विदाका बेलामा सबै भन्दा सजिलो काम गाईबस्तु चराउने र रहर लागेको बेला मात्र घाँस, दाउरा गर्ने अनि बहिनीहरुको हेरचाहको हल्का जिम्मेवारी पनि आई पर्थियो । यो मामिलामा परिवारको म भाग्यमानी सदस्य नै हुँ ।

बाल्यकालमा घटेको कुनै यादगार घटना वा प्रसंग सुनाउनुस न ?

कक्षा ४ मा पढ्दा स्कूलका साथीहरुको लहै लहैमा वनभोज गरिने भईयो । खाद्य सामाग्री जुटाउने गहन जिम्मेवारी थियो । बुवा नभएको र हजुरआमालाई नटेर्ने अवस्था भएकोले घरबाट चामल र अन्य आवश्यक सामाग्री मजाले चोरियो र बनभोज खाईयो । साथीहरुले केहि सामाग्री नल्याई बनभोजको मजा लिए भने घरमा चोरी गरेको कारणले बुवाको नराम्रोसँग कुटाई खाएको अहिले पनि झलझली याद आउँछ ।

बाल्यकालका साथी संङ्गीहरुसंगको संगत कस्तो रह्यो ?

गाँउमा खासै नराम्रो संगत गरिएन र अहिले सोच्दा राम्रो संगतमा पनि परिएनछ जस्तो लाग्छ । दुर्भाग्य त्यो समयमा मिल्ले साथीहरु अहिले धेरै जति त हुनुहुन्न र भएकाहरुसँग पनि भेट दुर्लभ भएको छ ।

औपचारिक शिक्षा कहाँबाट शुरु गर्नुभयो ?

औपचारिक शिक्षा घर नजिकैको श्री केदार निम्न माध्यमिक विद्यालयबाट शुरु गरियो भने एस. एल. सी. हिमाल दर्शन माध्यमिक विद्यालयबाट गरियो ।

विद्यालयमा हुँदाताकाको दिनचर्या ?

रहर लागे १ भारी घाँस काट्ने र स्कूल जाने नलागे स्कूल जाने अलिअलि पढ्ने अनि भकुण्डो खेल्ने आउने ।

कुन विषय र कुन तह सम्मको अध्ययन गर्नुभएको छ ?

स्कूलमा शिक्षा विषय लिएको थिएँ । उच्च शिक्षा चाहिँ त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सरस्वती बहुमुखी क्याम्पसमा अध्ययन गरेँ । मानविकी संकायमा अर्थशास्त्र विषय लिएर स्नातक तह सम्म अध्ययन गरियो । अगाडि बढाउने समय अझै आईपुगेन ।

अहिले तपाईको परिवारमा को को हुनुहुन्छ ?

हामी अहिले सम्म बुवा, आमा, दाजु, भाउजु, भतिजा, भतिजी, १ जना बहिनी, श्रीमती र २ वटा छोराहरु छौं । बुवा आमा गाउँको घरमा, दाजु भाउजु र भतिजा भतिजी सदरमुकाममा बस्नुहुन्छ । श्रीमती, २ वटा छोरा र १ बहिनी सहित म काठमाडौंमा बस्छु । यसर्थ हाम्रो परिवार ठूलो छ ।

मागी विबाह कि भागी विबाह ?

विल्कुल मागी विबाह हो ।

यौवनमा कसैसँग प्रेम गर्नु भयो ?

अपरिपक्व अवस्थाको प्रेम त गरियो । दुर्भाग्य दुर्घटना भयो ।

फुर्सदको समय कसरी व्यतित गर्नुहुन्छ ?

अहिले खासै फुर्सद निकाल्नै सकिन्न । फुर्सद भयो भने घुमफिर लगायत अध्ययनमा समय व्यतित गर्ने गर्छु ।

खानपानमा कस्तो रुची छ ?

सफा र सामान्य दाल, भात, तरकारी मै रमाउँछु । केही समय देखि शाकाहारी जीवनशैली अपनाएको छु । भोजन भन्दा भोक नै मिठो हो भन्ने भावनाले ओतप्रोत छु । खानका लागि बाँच्ने होईन बाँच्नका लागि खाने हो भन्ने लाग्छ ।

साहित्य सिर्जना, अध्ययन र लेखनमा रुची छ कि छैन ?

साहित्य मन पर्ने विधा हो । यो सबैले प्राप्त गर्न सक्दैनन् । सिर्जना गर्न सकिएको छैन । प्रेरक व्यक्तित्वको जीवनी, कथा र ईतिहास खोजी खोजी पढ्ने गर्छु । साप्ताहिक पत्रिकाहरुमा स्तम्भ लेखिन्थ्यो । आजकाल लेखिएको छैन । रुची भएर पनि लेखन सामान्य मानिसले गर्न सक्ने काम होईन ।

गीत सङ्गीतमा ?

गीत सङ्गीत मनोरम विधा हो । नेपाली आधुनिक गीत सुनेर रमाउन मन लाग्छ । अधिकांश आधुनिक गीत सुनेको छु ।

कहाँ कहाँ घुमफिर गर्नुभएको छ ?

देशका प्राय सबै ठाँउ पुगेको छु । भारतका अधिकांश शहर घुमें । अन्य देश घुम्न जाने समयको व्यवस्थापन गर्न सकेको छैन ।

राजनीतिलाई कसरी हेर्नुहुन्छ ?

मुलुक संचालन गर्ने, समाजको विकास गर्ने उच्चतम विधि नै राजनीति हो ।

तपाईसँग सक्रिय राजनितिको कुनै अनुभव छ ? कुनै राजनितिक दलमा आवद्ध हुनुहुन्छ ?

विद्यार्थी राजनीति गरियो । अहिले पनि केही जिम्मेवारीहरु छन । म प्रगतिशील वामपन्थी राजनीतिबाट प्रभावित छु । वामपन्थी राजनीतिबाट प्रभावित भए पछि कुनै दलमा आवद्धता अनौठो रहेन ।

आध्यात्ममा रुची छ कि छैन ? यसलाई कसरी हेर्नुहुन्छ ?

आध्यात्ममा रुची र चासो छ । जीवन र जगतलाई बुझेर आफूलाई मजबुत पार्ने काम केवल अध्यात्मले मात्र गर्न सक्छ ।

कुनै सामाजिक संस्था वा सामाजिक सेवामा संलग्न हुनुहुन्छ कि ?

पहिले लायन्स क्लवमा थिएँ । अहिले बागमती नागरिक सरोकार समाज नामक संस्थाबाट सामाजिक कार्य अगाडि बढाईरहेको छु ।

सहकारी क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

समुदायसँग साझेदारी गरेर आर्थिक उपार्जन गर्ने ध्येयले अभिप्रेरित भईयो । महानगरपालिकामा नेपाल सरकारले बचत तथा ऋण सहकारी खोल्न प्रतिबन्ध जस्तै लगाएको बेला जोश जाग्यो । महानगरले छोएको तर आर्थिक क्षेत्रमा अलि अलग्गै रहेको गोठाटार गा. वि. स. मा स्थाजीय प्रवुद्ध व्यक्तिहरुको सहकार्यमा सहकारी खोलियो । तर सहकारीमा नै बसेर काम गरिन्छ जस्तो लागेको थिएन । पछि जिम्मेवारी आफैंले बहन गर्नु पर्ने भयो । हाल पुरा समय यही सहकारीलाई दिने गरेको छु । अहिले सहकारीमा नै रमाईएको छ ।

सहकारी क्षेत्रमा लाग्छु भन्दा परिवारबाट कस्तो प्रतिक्रिया प्राप्त गर्नु भयो ?

तत्कालीन अवस्थामा सहकारीमा काम गर्छु भन्ने कुरा मैले परिवार समाज कतै पनि गरिन त्यसैले प्रतिक्रिया नै भएन । हाम्रो सहकारी दर्ता गर्ने बेलामा सहकारी संस्थाहरुको छवि राम्रो थिएन र कसैलाई भन्ने आँट नै गरिएन । हाल परिवारका सदस्यहरु अत्यन्तै खुशी हुनुहुन्छ । समाजमा यही सहकारीको माध्यमबाट प्रतिष्ठा बढेको छ ।

सहकारीमा लागेर घरपरिवार संचालन गर्न सक्ने गरि व्यवसायिक हुन सम्भव छ ?

नेपालको संविधानले अर्थतन्त्रका ३ खम्वा मध्ये एउटा खम्बा सहकारीलाई नै मानेको छ । अर्थतन्त्रमा सहकारीको योगदान उल्लेखनीय रहेको वर्तमान अवस्थामा सहकारीमा लागेर घर परिवार चलाउन सकिँदैन भन्नु आफ्नै पेशालाई सम्मान गर्न नसक्नु हो । अहिले म सहकारीको सदस्य हुँ भन्न हिचकिचाउनु पर्ने अवस्था छैन । बैंक तथा वित्तीय संस्थामा रहँदा व्यवसायिक भईने र सहकारीमा रहँदा व्यवसायिक नभईने अवस्था अहिले छैन । बैंक वित्तीय संस्था निजी क्षेत्रको एउटा विधा हो भने सहकारी अर्थतन्त्रको प्रमुख विधा भएर समाजमा प्रत्यक्ष सम्बन्ध विस्तार गर्न सक्ने व्यवसायिक क्षेत्र हो ।

सहकारी क्षेत्रमा लाग्नु भन्दा पहिले वा अहिले कुनै अन्य पेशा व्यवसायमा संलग्न हुनुहुन्छ कि ?

सहकारी क्षेत्रमा आउनपूर्व म टेडिङ्ग कम्पनी मार्फत छिमेकी देशबाट औद्योगिक कच्चा पदार्थ आयात गर्ने कार्यमा संलग्न थिए । केही समय पर्यटन क्षेत्रमा रहेँ । त्यसपछि बैंकिंग क्षेत्रमा रहेर कार्य गर्दै गर्दा सहकारी प्रति मोह जाग्यो र यस क्षेत्रमा होमिएको हो । अहिले सहकारीमा पूर्णकालीन जस्तै छु । केही समय पछि नयाँ पुस्तालाई सहकारीको ‘सिस्टम’ सिकाएर अन्य निजी व्यवसाय तिर जाने योजनामा छु ।

सहकारी क्षेत्र नै रोज्नुको केही विशेष कारण छ कि ?

समुदायसँग प्रत्यक्षरुपमा आफैं बसेर समुदायको समेत समुन्नत भविष्य निर्माण गर्न सकिन्छ भन्ने अभिप्रायले अधिप्रेरित भई सहकारी रोजेको हो र समुदायसँग प्रत्यक्ष आर्थिक, सामाजिक, सांस्कृतिक कार्यमा जोडिएर काम गर्ने नौलो मोडेल सहकारी भन्दा अन्य व्यवसायमा छैन । यसमा समाजको र आफ्नो बृहत्तर हित हुन्छ भने, अन्य व्यसायमा जो संलग्न हो उसैले मात्र लाभ प्राप्त गर्ने गर्दछ । समग्र समाजको समुन्नत भविष्य निर्माणको चिन्तनले सहकारी क्षेत्र रोजेको हो ।

हाल तपाईं आवद्ध हुनुभएको सहकारी संस्थाको अवस्था कस्तो छ ?

म आवद्ध भएको सहकाली बचत तथा ऋण सहकारी संस्था लि. उदाहरणीय रुपमा उद्देश्य प्राप्तिका लागि सवल, सक्षम, मजवुत र समाजमा लोकप्रिय रहेको छ ।

शेयर पूँजी, निक्षेप, कर्जा र संस्थाको समग्र आर्थिक अवस्था कस्तो छ ?

२०६४ साल असार ११ गते दर्ता भएको हाम्रो संस्थाको आफ्नै व्यवसायिक भवन छ । हाल शेयर पूँजी ९ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा ५ करोड ७० लाख रुपैयाँ रहेको छ । त्यसैगरी निक्षेप ९२ करोड रुपैयाँ र कर्जा ९० करोड रुपैयाँ रहेको छ । संस्थाको कुल कारोबार हाल सम्म १ अर्व २५ करोड पुगेको अवस्था छ । समग्र आर्थिक अवस्था मजवुत रहेको भएर हाम्रो संस्था प्रति समाजमा रहेका हरेक व्यक्तिको आकर्षण बढेको छ ।

संस्थामा कुन संख्यामा महिला र पुरुष सदस्य आवद्ध हुनुहुन्छ ?

हाल सम्म कुल सदस्य संख्या २ हजार ६ सय ४२ रहेको छ । महिला सदस्य संख्या ५६ प्रतिशत र पुरुष सदस्य संख्या४४ प्रतिशत रहेको छ ।

संस्था आफैं प्रत्यक्ष संलग्न भएर कुनै उद्योग, व्यापार, व्यवसाय वा अन्य कुनै आयमूलक योजना संचालन गरेको छ कि ?

हामीले ऐन नियमको परिधिभित्र रहेर सहकारी संस्था संचालन गरेको हुनाले ऐन, नियम, मापदण्ड भन्दा पृथक रहेर कार्य सम्पादन गरेका छैनौ। सहकारी ऐन २०४८ ले आफै संलग्न भएर उद्योग, व्यवसाय गर्ने छुट दिएको थिएन । त्यसैले प्रत्यक्ष संलग्न भएर व्यवसाय गरिएन तथापि संस्थाको लगानीमा सदस्यहरुले राम्रै आर्थिक उपार्जन गरिरहनु भएको छ ।

संस्थाले आगामी दिनका लागि के कस्ता योजना तथा कार्यक्रमहरु बनाएको छ ?

संस्थाको मुख्य उद्देश्य संस्थामा आवद्ध सदस्यहरुलाई आर्थिक उपार्जनका लागि बैंक तथा अन्य वित्तीय संस्था धाउनु नपर्ने वातावरण सिर्जना गर्नेखालका योजना प्रस्तुत गरेका छौं । सहकारी ऐन २०७४ पछि सहकारीले पर्यटन क्षेत्रमा, जलश्रोतको क्षेत्रमा, कृषिको आधुनिकीकरण र व्यवसायिकीकरणमा लाग्ने र आयमूलक, उत्पादनमूलक, रोजगारी सिर्जना गर्नसक्ने दीर्घकालीन योजना बनाई कार्यान्वयन तर्फ परिलक्षित रहेको अवस्था छ ।

सदस्यहरुले संस्थाबाट विशेषगरी कुन प्रयोजनका लागि बढी कर्जा लिने गरेका छन ? संस्थाबाट ऋण लिएर नमूनायोग्य उद्यम तथा व्यवसाय गरिरहेका केही सदस्यहरुको बारेमा बताईदिनुस न ?

साँच्चै भन्ने हो भने २०४८ सालको सहकारी ऐनले व्यवसायिक क्षेत्रमा लगानीका लागि निरुत्साहित नै गरेको अवस्था थियो । काठमाडौं रहेका सहकारी संस्थाहरुले सबैभन्दा बढी लगानी व्यवसायिक रुपमा ‘रियलस्टेट’ क्षेत्रमा नै केन्द्रित गरेका छन हामी पनि यसमा अछुतो रहने कुरा भएन । यस संस्थाबाट कर्जा लिई नमूनायोग्य काम गरेका धेरै सदस्यहरु हुनुहुन्छ । मेरा लागि सबै सदस्य बराबर रहेका छन कोही कसैको मात्र नाम लिएर छुटेकाहरु रिसाउने अवस्था रहला । सबैले उत्कृष्ट कार्य गर्नु भएको छ तपार्इंको यो लोकप्रिय पत्रिका मार्फत सबैलाई उत्तिकै सम्मान प्रकट गर्न चाहन्छु ।

सहकारी संस्था संचालन गर्दा व्यवहारमा के कस्ता व्यवधान, कठिनाई र अप्ठ्याराहरु आउने रहेछन ? अनुभव सुनाईदिनुस न ?

ऐन, नियम, कानुन, राज्य एकातिर छ, व्यवहार, समुदाय, समाज र सदस्यका आफ्नै सहकारी प्रति महत्वकांक्षा छ । यसलाई पुलको काम गर्न नियम कानुनको परिपालना गर्न सदस्यको उच्च महत्वकांक्षा परिपूर्ति गर्न समुदायमा रहेका बैंक तथा वित्तीय संस्थाहरुसँग प्रतिस्पर्धा गरि सवल सक्षम र सुदृढ सहकारीको निर्माणमा अत्यन्त ठूलो कठिनाई रहेको छ । सीमित कार्यक्षेत्र, करको दर, सदस्यको प्रतिफलको आकांक्षा सरकारको सहकारीप्रतिको दृष्टिकोणका कारणले पनि काम गर्न कठिनाई रहेको अवस्था छ । लामो समय सम्मको दिगो निक्षेप संकलन गर्न नपाउनु, राज्यलाई बढी दरमा कर भुक्तानी गर्नु, शेयर सदस्यलाई कम मुनाफा वितरण गर्नु पर्ने बाध्यकारी व्यवस्थाले सहकारीलाई सिद्धान्त विपरित जान प्रेरित गरिरहेको छ । पुराना सहकारीकर्मीहरुमा नैराश्यता आउनु र नयाँ सदस्यले सहकारीमा भविष्यको सुनिश्चितता नदेख्नु गम्भीर विषय बनेको छ । ६१ बर्षे सहकारीको ईतिहासमा स्वनियममा चल्ने सहकारी संस्था विरलै देखिनु अर्को चुनौती बनेको छ । समाजमा रहेर समाजको समुन्नतिका लागि काम गर्ने हुनाले समस्याहरुसँगै सहकारीकर्मी रमाउन बाध्य भएको छ । समाज सहकारीको सिद्धान्त प्रति जानकार र सचेत नभईरहेकोले पनि सहकारी संचालनमा कठिनाई उत्पन्न भईरहेको जस्तो लाग्छ ।

अन्त्यमा, सहकारी अभियानमा क्रियाशील सहकारीकर्मीहरु र यस क्षेत्रप्रति उत्सुक व्यक्तिहरुलाई केही सल्लाह दिनुहुन्छ कि ?

हाल सहकारी अभियानमा क्रियाशील सहकारीकर्मीहरुलाई यस क्षेत्रका समुदायप्रति जिम्मेवार हुन र सहकारीको नेतृत्व गर्दैगर्दा को प्रति उत्तरदायी रहने भन्ने पूर्ण जानकारीमा रहन आग्रह गर्दछु । यस क्षेत्र प्रति उत्सुक व्यक्तिलाई सहकारी लिने व्यवसाय होईन समाजलाई दिने व्यवसाय हो भन्ने पूर्ण जानकारी सहित सहकारीकर्मी बन्न अनुरोध गर्दछु । सहकारीमा प्रवेश गरेपछि सजिलै बाहिरिन कठिन हुने हुनाले सधै जिम्मेवारपूर्ण भूमिका निर्वाह गरिरहनु पर्ने हुन्छ । सहकारी ऐन, नियमावली, मापदण्ड, सिद्धान्तको पूर्ण ज्ञान सहित प्रवेशका लागि अनुरोध गर्न चाहन्छु ।