२०७६ पुष १३

‘उपाध्यक्ष ज्ञान बहादुर तामाङको नेतृत्वमा प्यानल घोषणा गर्छौं’

‘उपाध्यक्ष ज्ञान बहादुर तामाङको नेतृत्वमा प्यानल घोषणा गर्छौं’

                                                                  टेक प्रसाद चौलागाईं
                                                                           अध्यक्ष
                                                          जिल्ला सहकारी संघ, काठमाडौं 

साधारण सभाको तयारी कहाँ पुग्यो ?

– संघको पुस १८ गते बीसौं वार्षिक साधारण सभा हुँदै छ । साधारण सभाले संघको कार्यसमितिको निर्वाचन गर्ने कार्यक्रम छ । त्यसका लागि निर्वाचन उपसमितिले मतदाता नामावली प्रकाशन गरिसकेको छ । संघको निर्वाचनमा १ हजार ९ सय २३ जना प्रतिनिधिहरुले मतदान गर्दै हुनुहुन्छ । मतदान गर्नका लागि प्रतिनिधि कार्ड आवश्यक पर्छ । अहिले साथीहरुले संघबाट धमाधम कार्ड लगिरहनुभएको छ । संचालक समिति र लेखा सुपरीवेक्षण समितिले साधारण सभामा प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन छाप्ने काम पनि भईरहेको छ ।


तपाईं पुनः अध्यक्ष बन्ने विचारमा हुनुहुन्छ कि नेतृत्व हस्तान्तरण गर्ने पक्षमा ?

– मैले संघमा पाँच वर्ष अध्यक्ष भएर काम गरेँ । यसअघि पाँच वर्ष संचालक थिएँ । यसरी दश वर्ष मैले जिल्ला संघमा काम गरेँ । अहिले संघका उपाध्यक्षको  नेतृत्वमा नयाँ टिम बनाउनुपर्छ भन्ने मेरो सोच हो । यही अनुरुप हामीबीच एकखालको सहमति पनि भईसकेको छ । म नेतृत्व हस्तान्तरण गर्दै छु । संघका उपाध्यक्ष ज्ञान बहादुर तामाङको नेतृत्वमा सर्वसम्मत नयाँ समिति बनाउने मेरो प्रयास जारी छ ।


तपाईंले सर्वसम्मत समिति बनाउने कुरा गर्नुभयो । तर एउटा पक्षले अध्यक्षका उम्मेदवार सार्वजनिक गरिसक्यो । सबैलाई मिलाउनका लागि तपाईंले कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

– मैले तपाईंहरुको समाचार हेरेँ । एकजना साथीले अध्यक्षको नाम टुङ्गियो, अर्को बैठकबाट टिम बनाउँछौं भन्नुभएको रहेछ । सहकारी सबैको साझा मञ्च हो । हामी हिजो पनि सहमतिको पक्षमा थियौं र आजपनि त्यही पक्षमा छौं । सहकारीमा संकट आउँदा कुनै एउटा पार्टीलाई मात्र आउँदैन । राज्यले कडा कानुन ल्याउँदा एउटा पार्टीलाई मात्र अप्ठ्यारो पर्दैन, सिंगो अभियानलाई असर पर्छ । सबै सहकारीकर्मीहरुलाई असर पर्छ । अहिले जिल्ला संघको समितिमा भएका सबै साथीहरु पनि सहमतिमा जानुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । हामी अहिलेपनि सहमति र सहकार्यकै पक्षमा छौं । हामी उपाध्यक्षको नेतृत्वमा सहमति गरेर अगाडि जान खोजीरहेका छौं । अर्कोपक्ष छुट्टै टिम बनाएर आउँछ भने हामी पुस १५ गते ज्ञान बहादुर तामाङको अध्यक्षतामा प्यानल घोषणा गर्छौं ।


तपाईं राष्ट्रिय सहकारी महासंघमा संचालक बन्ने अभियानमा हुनुहुन्छ भन्ने चर्चा छ । वास्तविकता  के हो ?

– महासंघको पनि २४ र २५ गते निर्वाचन सहितको साधारण सभा छ । महासंघमा जान मेरो योग्यता अपुग भएजस्तो लाग्दैन । निर्वाचन हुनु अघि यसो भन्नु उचित हुँदैन होला, तरपनि संचालकमा मेरो उम्मेदवारी मात्र होईन म महासंघको संचालक हुन्छु भन्नेमा विश्वस्त छु ।