२०७६ पुष १५

‘आडम्बरी कुरा नगरी पार्टीको सहजीकरणलाई स्वीकार गरौं’

‘आडम्बरी कुरा नगरी पार्टीको सहजीकरणलाई स्वीकार गरौं’

राष्ट्रिय सहकारी महासंघको सत्ताईसौं वार्षिक साधारण सभा आउन अव नौ दिन मात्र बाँकी छ । साधारण सभाले महासंघमा आगामी चार वर्षका लागि संचालक समिति र लेखा समितिको निर्वाचन गर्ने भएकाले अहिले यो विषय सहकारी वृत्तमा चर्चा र चासोको शिखरमा छ ।


महासंघको निर्वाचन नजिकिदै जाँदा नेतृत्वका आकांक्षीहरुको व्यवस्तता पनि चुलिँदै गएको छ । यस्तै व्यस्ततामा हुनुहुन्छ महासंघलाई नेतृत्व प्रदान गर्ने तयारीमा रहनुभएका महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा पनि । २०५५ सालमा राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्ष भएदेखि निरन्तर यो अभियानमा लाग्नुभएका देवकोटा बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ मा रहेको रुद्रमति बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । उहाँ मुलुकको सत्ता संचालन गरिरहेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को सहकारी सम्बन्ध संगठनका इन्चार्ज पनि हुनुहुन्छ ।


प्रस्तुत छ उहाँसंग महासंघको निर्वाचन र उहाँको उम्मेदवारीको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंशः

तपाईंले अध्यक्ष पदमा निर्वाचन लड्ने निश्चय गर्नुभएको हो ?

– महासंघलाई परिपक्व ढंगले संचालन गर्न, चुनौतीलाई सही तरिकाले समाधान गर्न र हासिल भएका उपलब्धिहरुको निरन्तरताका लागि धर्मदत्त देवकोटाको आवश्यकता छ भन्ने धेरै साथीहरुको सुझाव छ । त्यसैले मैले अनुकुलता मिल्यो भने अध्यक्षको जिम्मेवारी सम्हाल्छु भनेर मन बनाएको हो । त्यसका लागि म मानसिकरुपमा तयार छु । जिम्मेवारी प्राप्त भयोभने सक्षमताका साथ पुरा गर्छु भनेर साथीहरुकोबीचमा विचार अभिव्यक्त गरिरहेको छु ।

 महासंघका प्रतिनिधि सहकारीकर्मीहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

– मुलुकभरिबाट ३ सय ३४ ओटा संघका प्रतिनिधिहरु हुनुहुन्छ । अधिकांशसंग मेरो व्यक्तिगत चिनजान, परिचय र सम्बन्ध छ । मैले सकारात्मक प्रतिक्रिया पाएको छु ।
 

पार्टीको स्वीकृति पाउनुभयो ?

म नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को सहकारी सम्बन्ध संगठनको ईन्चार्ज पनि हुँ । पार्टीको केन्द्रीय सदस्य पनि हो । म उम्मेदवार नै हो भनेर घोषणा गर्न मलाई पार्टीको औपचारिक निर्णय र निर्देशन पनि चाहिन्छ । म त्यसको प्रतिक्षामा छु । पार्टीका निकाय र नेताहरुसंग मैले हार्दिक अनुरोध गरेको छु ।म २०३७ सालदेखि पार्टीको अनुशासित कार्यकर्ता भएर निरन्तर देश र जनताका लागि खटिईरहेको छु । अहिले सम्म मैले सामाजिक क्षेत्रमा नेतृत्व गर्ने अवसर पाएको छैन । विगत देखि पार्टीले दिएका हरेक जिम्मेवारी अनुशासित भएर खुरुखुरु गर्दै आएको छु । अहिले म पार्टीको औपचारिक अनुमतिको प्रतीक्षामा छु । सहकारीमा पार्टीले सहजीकरण गर्दै आएको छ । पार्टीसंग सम्बन्ध राख्न हुँदैन भनेर आडम्बरी कुरा गर्नेहरुलाई पनि पछि पार्टीले नै सहजीकरण गर्नुपर्ने अवस्था छ । त्यसैले यस्ता आडम्बरी कुरा नगरी पार्टीको सहजीकरणलाई स्वीकार गरेर जानुपर्छ ।

तपाईंले अध्यक्षमा आकांक्षा प्रकट गर्ने अन्य सहकारीकर्मीहरुसंग छलफल गर्नुभएको छ कि छैन ?

– सहकारी महासंघमा काम गरेका अन्य साथीहरुले पनि अध्यक्षमा आकांक्षा प्रकट गर्न पाउनुहुन्छ । मैले पार्टीको तर्फबाट सहकारीमा पार्टीगत प्यानल बनाएर चुनाव लड्न उचित हुँदैन भन्ने कार्यविधि बनाएको छु । यसैगरी व्यक्तिले पनि प्यानल बनाउनु राम्रो होईन । व्यक्तिगतरुपमा कुनै निश्चित पदका लागि इच्छा जाहेर गरौं । यसरी इच्छा प्रकट गर्ने साथीहरुको नाम संकलन गरौं । पार्टीले जसलाई उपयुक्त ठह¥याउँछ, त्यो निर्णयलाई मानेर जाऔं । सरकार पार्टीले चलाउने हो । सरकार र पार्टीसंग सहकार्य नगरी सहकारी अभियानलाई अगाडि बढाउन सकिँदैन । त्यसैले राजनीतिक दलहरुलाई सहकारीको महत्व बुझाएर, उहाँहरुबाट सल्लाह सुझाव लिएर र आवश्यक परेको बेला पार्टीको सहजीकरणलाई स्वीकारेर जानुपर्छ ।

 सहकारीमा नेकपा भन्दा भिन्न राजनीतिक विचार बोक्ने सहकारीकर्मीहरुपनि छन् । तपाईंले उहाँहरुसंग निर्वाचनको विषयमा सम्वाद गर्नुभयो त ?

– सहकारी अभियान जनताको अभियान हो । सहकारी संस्थामा विभिन्न दलमा आवद्ध भएका स्वतन्त्र नागरिकहरु सदस्य बनेका हुन्छन् । जिल्ला संघहरु यिनै संस्थाका प्रतिनिधि हुन र महासंघ सबै संघहरुको प्रतिनिधि हो । यिनीहरु आफ्नो विनियम र सरकारका ऐन नियम अुनसार चल्छन् । सहकारीमा पार्टीको प्रत्यक्ष हस्तक्षेप हुँदैन । र, हुनुहुँदैन । पार्टीको अप्रत्यक्ष सहयोग र सहजीकरण चाहिन्छ । पार्टीले सहकारीको चुनावमा विगत देखि नै सहजीकरण गरेर मिलाईदिँदै आएको छ । सहकारी जनताको अभियान भएकाले सबैको प्रतिनिधित्व हुनेगरी टिम निर्माण गर्न सकियो भने त्यसले सकारात्मक परिणाम ल्याउँछ । सहकार्य नै सहकारीको मर्म हो । महासंघको वर्तमान टिममा पनि सवै पक्षलाई समेटिएको छ । बैंकको चुनावमा पनि हामीले भूमिका खेल्यौं । हालै सम्पन्न नेफ्स्कूनको चुनावमा पनि पार्टीको इन्चार्जको हिसावले मैले अगुवाई गरेँ । साथीहरुले साथ दिनुभयो । महासंघ सबैको शीर्षस्थ अभिभावक छाता संघ भएकाले यहाँ झन बढी सहकार्यको आवश्यकता छ । त्यसैले मैले नेपाली काँगे्रस र अन्य पार्टीका सहकारी हेर्ने साथीहरुसंग पनि परामर्श गरिरहेको छु । हदैसम्म लचक भएर सहकार्य गर्नुपर्छ । कसैले पनि अनुचित माग राखेर सहकार्यलाई टुटाउन हुँदैन । आफ्नो हैसियत र क्षमतालाई ख्याल गरेर सहमति गर्नुपर्छ ।


तपाईं अध्यक्ष हुनुभयो भने महासंघमा के परिवर्तन ल्याउनुहुन्छ ?

– महासंघ सहकारी अभियानको ‘एपेक्स बडी’ हो । यसले सदस्यहरुको चासो सम्बोधन गरेर उनीहरुको सुदृढिकरण गर्ने हो । महासंघले सरकार र सहकारी अभियानकाबीच पुलको काम गर्छ । यसर्थ महासंघले सरकारका चासोका विषयहरुलाई अभियानमा कार्यान्वयन गर्न सघाउने र अभियानका चासोका विषयहरुलाई सरकार समक्ष लगेर सम्बोधन गराउने हो । नमिलेका विषयमा अधिक वार्ता, छलफल गरेर मिलाउने हो । सरकार र सहकारी मिलेर देशको उत्पादन व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नका लागि वातावरण बनाउन प्रयास गर्नेछु ।

सरकारले २०७४ मा जारी गरेको सहकारी ऐनमा सहकारीलाई उत्पादनमा जानका लागि सहज वातावरण दिने, सहज ढंगले चल्न दिने र सरकारले विश्वास गर्ने वातावरणको कमि छ । सहकारी ऐनमा सहकारी मैत्री नभएका दफाहरुलाई संशोधन गर्न आवश्यक छ । सहकारी मैत्री ऐन बनाउने, सरकार मैत्री सहकारी बनाउन भूमिका खेल्नेछु ।

जनमानसमा सहकारी भनेको बचत ऋण मात्र हो भन्ने सन्देश गएको छ । एकाध वित्तीय सहकारीले जनतालाई ठगेर भाग्ने गरेकाले यस्तो भएको हो । त्यसैले केही सर्वसाधारण र नेताहरुले सहकारीमा जान हुँदैन भन्ने गर्नुभएको छ । तर सहकारी भनेको बचत ऋण मात्र होईन । सहकारीलाई उत्पादन र व्यवस्थापन क्षेत्रको महत्वपूर्ण भाग हो भनेर पहिचान दिन जरुरी छ । म महासंघको अध्यक्ष भएँभने सहकारी भनेको उत्पादन र व्यवस्थापनका मेरुदण्ड हुन भनेर पहिचान दिन प्रयास गर्ने छु । बचत ऋण सहकारीले अहिले धेरै राम्रो काम गरेका छन् । यसको सराहना गर्नुपर्छ । वित्तीय सहकारीमा देखिएका विकृतिलाई नियन्त्रण गरेर यो क्षेत्रलाई अनुशासित र पारदर्शी बनाएर लानुपर्छ ।

सहकारीका मूल्य, मान्यता, सिद्धान्त र आदर्शलाई अतिक्रमण गर्ने, आफ्नो निहित स्वार्थका लागि बङ्ग्याउने र अनुचित प्रयोग गर्ने कामहरु पनि भएका छन् । सहकारीका मूल्य, सिद्धान्तलाई सहीरुपमा कार्यान्वयन गर्ने, विधि पद्धतिबाट संस्था चलाउने कुरालाई जोड दिनेछु । सहकारी महासंघ देखि सिंगो सहकारीको संगठनलाई मुलुकको संविधानले बनाएको राष्ट्रिय संरचनाअनुसार व्यवस्थित बनाउने काम गर्नेछु ।

सहकारी भनेको जनताबीच सहकार्य गर्ने क्षेत्र हो । त्यसैले म पार्टीको नेता हो, मेरो पार्टीको मात्र हित हुनुपर्छ भन्ने सोच्दिनँ । सहकारी अभियान जनताको साझा अभियान भएकाले जनताका प्रतिनिधिकोरुपमा रहेका राजनीतिक पार्टीहरु मिलेर काम गर्नुपर्छ । त्यसैले सबैपक्षलाई वचन, काम र संगठनमा समेटने मेरो प्रयास हुनेछ ।

सन्दर्भ व्याजदरको मुद्दामा महासंघले प्रारम्भिक सहकारीको भावनालाई बेवास्ता ग¥यो भन्ने गुनासो सुनियो । तपाईं के भन्नुहुन्छ ?

– सन्दर्भ व्याजदरको व्यवस्था ऐनमा छ । सहकारी क्षेत्रमा वेथिति भयो भनेर सरकारले यसलाई मुख्य अजेण्डा बनाएर छलफल चलायो । त्यो स्वभाविक थियो । सरकारले अभियानका चार जना प्रतिनिधिलाई राखेर छलफल गरेको पहिलो घटना होला सहकारीमा । अभियानका प्रतिनिधिहरुले उचित प्रतिनिधित्व नगरेको र सहकारीकर्मीहरुको मर्म नबुझेकाले त्यस्तो निर्णय भएको हो ।

सहकारी क्षेत्रका मुख्य विषय सन्दर्भ व्याजदर नभएर ऐन संशोधन, कर्जा सूचना केन्द्र, कालो सूची लगायतका यस क्षेत्रलाई व्यवस्थित गर्ने विषयहरु हुनुपर्दथ्यो । कतिपय सहकारीले मनपरी व्याज लिएकाले यो विषय आकर्षित त भएकै थियो । तर अरु विषयलाई छाडेर हतारमा सन्दर्भ व्याजदरको मात्र निर्णय गर्ने कुरा गलत थियो । सहकारीको पुँजी भनेको जनताको पुँजी हो । कसैले बाहिरबाट दिएको होईन । त्यसैले बचत र ऋणमा कति व्याजदर निर्धारण गर्ने भन्ने कुरा सहकारीले स्वायत्त ढंगले निर्णय गर्ने विषय हो । सरकारले ६ प्रतिशत स्पे्रड दर तोकेपछि सन्दर्भ व्याजदर आवश्यक छैन । सहकारीले यो स्पे्रड दरलाई कायम राखेर बैंक र अन्य सहकारी संस्थाहरुसंग प्रतिस्पर्धा गर्नेगरी आफैंले व्याजदर निर्धारण गर्ने हो । केही सहकारीले यो सिद्धान्त पालना नगरी मनपरी व्याज लिएकाले सरकारले सन्दर्भ व्याजदर घोषणा गर्ने परिस्थिति बनेको हो ।

हाम्रा प्रतिनिधिहरुले त्यसको संवेदनशीलतमा बुझ्नुभएन । त्यही कारण काठमाडौं, ललितपुर, पोखरा, विराटनगर लगायतका ठाउँमा सहकारीकर्मीहरु सडकमा उत्रिनुभएको हो । त्यसपछि मैले लेखा समितिको तर्फबाट संचालक समितिको बैठकमा यो विषयलाई वार्ताको माध्यमबाट हल गर्न लिखित सुझाव पेश गरेँ । संचालक समितिले अभियानको तर्फबाट सन्दर्भ व्याजदर निर्धारण समितिमा प्रतिनिधित्व गर्ने चार जना साथीहरुलाई राखेर एउटा समिति बनायो । यो समितिले सडकमा आन्दोलनरत साथीहरुको समितिसंग वार्ता ग¥यो । महासंघको संचालक समितिको बैठकले यो अलि असान्दर्भिक भएकाले विज्ञहरुको समूह बनाएर अध्ययन गर्ने, त्यतिन्जेल यसलाई कार्यान्वयनमा बाध्यकारी नवनाउने र सरकारसंग मिलेर पुनरावलोकन गर्न अनुरोध गर्ने भन्ने निर्णय ग¥यो । र, यसको पत्र सहकारी विभागमा पनि पुगेको छ ।तर महासंघको नेतृत्व र त्यो समितिमा बस्ने साथीहरुले जे निर्णय भएको त्यसलाई इमान्दारिताकासाथ पालना नगरेकाले विवाद उत्पन्न भएको हो ।

दोश्रो पक्ष, महासंघले प्रारम्भिक सहकारीको भावना नबुझेको होईन । बुझेको छ । धेरै विषयहरु समाधान गर्न प्रयास पनि गरेको छ । कर लगायतका समस्याहरु समाधान पनि भएका छन् । राम्रो पक्षको प्रशंसा गर्नुपर्छ । तर सहकारीको समस्यालाई समाधान गर्ने, उनीहरुको व्यवसायलाई सशक्तिकरण गर्ने र सिंगो अभियानलाई सशक्तिकरण गर्ने काममा कमि भएको होला । म अध्यक्ष भएँ भने ती कमिलाई पूर्ति गर्ने काम गर्नेछु । अव उत्पादन सहकारीमा केन्द्रित हुनुपर्छ । आफ्ना सदस्यको चासोलाई केन्द्रमा राख्छौं । विधि, पद्धति र संगतिमा चलौं । झोलामा राखेर संघ÷संस्था चलाउने होईन व्यवसायिक बनाएर जानुपर्छ ।

 तपाईंको प्रारम्भिक संस्था छैन, सहकारीमा योगदान नै दिनुभएको छैन भनेर प्रचार गरेको पनि देखियो । बास्तविकता के हो ?

– मेरो प्रारम्भिक सहकारी संस्थाको नाम रुद्रमति बचत तथा ऋण सहकारी संस्था हो । यो संस्था बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ मा छ । मेरै अध्यक्षतामा २०६५ सालमा स्थापना भएको हो । एउटै मान्छे धेरै लामो समय अध्यक्ष हुनु उपयुक्त हुन्न भनेर बीचमा मैले छोडे । अहिले फेरि साथीहरुले तपाईं नै चाहियो भनेर अध्यक्ष बनाउनुभएको छ । संस्था ठूलो छैन तर राम्रोसंग चलेको छ । समुदायमा आधारित भएर चलेको छ । यसैगरि म २०५५ सालमा राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्ष भए देखि यो क्षेत्रमा निरन्तर जोडिएर आएको छु । महासंघको लेखा समिति संयोजक छु ।

मसंग सहकारीको ज्ञान छ । लेखा समितिमा रहेर हामीले संचालक समितिलाई धेरै सुझाव दिएका छौं । र, महासंघले कार्यान्वयन पनि गरेको छ । सहकारीमा मेरो भूमिका छैन भन्नु गलत हो । न्यून होला । कमि होला । तर आगामी दिनमा साथीहरुको सल्लाह र सुझाव लिएर आफूलाई समृद्ध बनाएर काम गर्नेछु ।