२०७७ श्रावण १६

ओरेण्टल पीडितलाई सम्पत्ति दिई फरफारक गर्ने सुधीर बस्नेतको घोषणा !

ओरेण्टल पीडितलाई सम्पत्ति दिई फरफारक गर्ने सुधीर बस्नेतको घोषणा !

काठमाडौँ । ओरेण्टल सहकारीका संचालक सुधीर बस्नेतले ओरेण्टल पीडितले सम्पत्ति फिर्ता पाउने घोषणा गरेका छन् ।

एक सूचना जारी गर्दै उनले ओरेयण्टल सहकारी संस्थामा जम्मा गरेको निक्षेपकर्तालाई संस्थाको नाममा रहेको चल-अचल सम्पत्तिबाट फरफारक गर्ने बताएका छन् ।

ओरेण्टलका नाममा बिभिन्न स्थानमा रहेको जग्गा संस्थाका पीडित सदस्यहरुलाई प्रक्रियागत रुपले चल-अचल सम्पत्ति दिई कारोबार फरफारक गरिने उक्त सुचनामा जनाईएको छ । सो सहकारीका नाममा देशका विभिन्न स्थानमा कयौं रोपनी जग्गा रहेको छ । उक्त प्रक्रियामा सहभागी हुन फरफारक नभएका पीडितहरुले ओरेन्टल सहकारीको आधिकारिक वेबसाईट ‘www.orientalcooperative.com’ मा गएर फारम भर्न सकिनेछ । तर उक्त फारम साउन २९ गतेबाट ६० दिनभित्र भर्न सकिने सूचनामा लेखिएको छ । जारी सूचनामा भनिएको छ :

सहकारी ऐन २०४८ अन्तर्गत दर्ता भई संचालन भएको ओरेण्टल सहकारी संस्थामा जम्मा गरेको निक्षेप फरफारक हुन वाँकी रहेका निक्षेपकर्ताहरुलाई सहकारीको नाममा रहेको अचल सम्पति तथा लगानी कर्जामा रोक्का राखिएका घरजग्गा चल अचल सम्पतिलाई कानूनी प्रकृया पुरा गरि सहकारीको सम्पतिमा साभार गरि, साथै भक्तपुर, गुण्डु लगायत देशको विभिन्न भागमा सहकारीको सम्पतिको रुपमा रहेको जग्गाहरु समेतलाई विगतमा पिडितहरुको आधिकारिक प्रतिनिधि अध्यक्ष कुन्तिदेवी पोखरेल समेतसँग भएको मिति २०७५/३/२६ को त्रिपक्षिय संझौता र मिति ०७६/१/३१ गतेको द्धिपक्षीय सहमति संझौता समेतको आधारमा जग्गा परिचालन, वितरण गरि निक्षेप रकम फरफारक गरिने हुँदा कोविड-१९ को महामारीको कारण स्थान विषेशवाट एकिन विवरण संकलनको लागी असमर्थ भएकाले मिति २०७६/४/२९ गतेवाट ६० दिन भित्र आफ्नो निक्षेप रहेको शाखा, निक्षेप जम्मा गरेको खाता नम्वर, बचत रकम, सम्पर्क नम्बर, निक्षेपको विषयलाई लिएर मुद्दा गरे नगरेको व्यहोरा समेत उल्लेख गरि ओरेण्टल को-अपरेटिभ सहकारी संस्था लिमिटेडको www.orientalcooperative.com मा रहेको फर्म भरि समावेश गरिदिनुहुन, सरोकारवाला सबैमा सुचित गरिनेछ ।

ओरेण्टल सहकारी संस्था वि. सं. २०५३ सालमा सुधीर बस्नेतले स्थापना गरेका थिए । देशभरका सहकारीहरु मध्य सबैभन्दा बढी निक्षेपकर्ताहरुको रकम सो सहकारीले फरफारक गर्न बाँकी रहेको देखिन्छ । बस्नेतले सहकारीका निक्षेपकर्ताहरुको अर्बौ रकम ठगी गरेको आरोप छ । जसमध्य ५०% भन्दा बढी निक्षेपकर्ताको रकम फिर्ता गरिसकिएको ओरेन्टल सहकारीले जनाएको छ । सहकारीमा बचत भएको निक्षेपकर्ताहरुको रकम व्यवस्थापकीय कमजोरी र तत्कालिन सरकारी नीतिगत कमजोरीका कारण उचित समयमा बचत फिर्ता नगरेको देखिन्छ । सरकारले ०७४ कात्तिक २० गते पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगले ओरियन्टल सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । न्यायाधीश कार्कीकै संयोजकत्वमा सरकारले ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन गर्यो र सोही समितिलाई समस्याग्रस्त अवस्थामा रहेको ओरियन्टल सहकारीको व्यवस्थापन गर्ने जिम्मेवारी दियो सो सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।

बस्नेत विभिन्न समयमा ठुलो धक्का खानुमा सरकारको नीतिगत अस्पष्टता तथा सहकारीको व्यवस्थापनमा कमजोरी रहेको खुलेर स्विकार्छन् । उनी भन्छन्,‘हिजो चोर, दलाली र ठगीको तक्मा लागेको थियो त्यो मेटाउने छु, हरेकले न्याय पाउनुहुनेछ ।’ ‘कयौं बर्षको जेल-नेल, मुद्दा मामिला र उतार चढाव पछी ओरेन्टल पीडितले अब न्याय पाउने छन् ।’ पीडित समक्ष बस्नेतको यो प्रतिबद्दता पछि पीडित न्यायको अनुभूति गर्ने आशामा छन् ।

पिडित-पीडक एकै कित्तामा

सरकारद्वारा गठित आयोगबाट न्यायको आशा नभएपछि पिडितहरु प्रत्यक्ष सुधीर बस्नेत समक्ष नै सहकार्य गरेर अगाडी बढिरहेका छन् । सर्वसाधारणहरुको अर्बौ ठगीको आरोप खेपिरहेका सुधीर बस्नेतले पीडितहरुको रकम चुक्ता गर्छु भनेपछि अन्तत पीडितहरु उनको पक्षमा आएको देखिन्छ ।

हुलहुज्जत, नारा जुलुस गर्दा समस्या झन् जटिल

समस्या समाधान उन्मुख ओरेन्टलको बिषयमा विभिन्न हुलहुज्जत, नारा जुलुस र मुद्दा मामिला गर्नाले काम गर्न कठिनाई भएको र समयमै समस्या समाधान गर्न नसकेको बस्नेतले जिएनएन नेपाल सँग बताए । यस्ता क्रियाकलाप नगरिदिनुहुन उनले अनुरोध पनि गरेका छन् । ‘यदि यस्ता किसिमका क्रियाकलाप नभएको भए ओरेन्टल समस्या समाधान भैसक्थ्यो ,’ उनले भने । सुचनामा थप भनिएको छ :

यसका अतिरिक्त विगतमा समस्या आएपश्चात विभिन्न हुलहुज्जत, नारा जुलुस र मुद्दा मामिला गर्नाले समाधानको काम गर्न कठिनाई पर्यो, जसले गर्दा धेरै सम्पत्ति लिलाम तथा हिनामिना भएको कुरा सर्वाबिधित नै छ ।  यदि यस्तो नभएको भए सो सम्पत्ति आज हामीसंग हुन्थ्यो र धेरै अघि नै  समस्या समाधान पनि  भैसक्थ्यो । हालैका दिनहरुमा पनि विभिन्न व्यक्तिहरुका तर्फवाट मानिसहरु जम्मा गर्ने, हुलहुज्जत नारा जुलुस गर्ने, कृयाकलाप हुने गरेकाले सो कार्य अविलम्ब वन्द गर्नुहोला । अन्यथा सहकारीको तर्फवाट काम कार्वाहीमा असुरक्षित र  असहजता हुनजाने भएकाले निक्षेप फरफारकको कार्यलाई तिब्रता दिन नसकिने व्यहोरा जानकारी गराईन्छ । तसर्थ त्यस किसिमका क्रियाकलापहरु नगरी समस्या समाधानको लागी सहयोग गर्नुहुन अनुरोध गरिन्छ ।

फारम नभर्नेलाई फरफारक नगरिने

आधिकारिक सुचनामा भनिए बमोजिम यदि यो सुचना मुताबिक फारम भरेर आफ्नो निक्षेपको बिवरण पेश नगर्ने लाई चल- अचल सम्पत्ति वितरण नगरिने र दाबि नभएको निक्षेप फरफारक भएको मानिने छ ।

(www.gnnnepal.com बाट साभार- सम्पादक ) 

ओरेण्टल पीडितलाई सम्पत्ति दिई फरफारक गर्ने सुधीर बस्नेतको घोषणा (सुचना सहित)