२०७७ श्रावण १६

प्रदेश सहकारी संघका तीन अध्यक्षलाई तीन प्रश्न

प्रदेश सहकारी संघका तीन अध्यक्षलाई तीन प्रश्न

काठमाडौं । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एकैदिन प्रदेश सहकारी संघ, प्रदेश बचत तथा ऋण सहकारी संघ र प्रदेश कृषि सहकारी संघलाई दर्ता प्रमाणपत्र प्रदान गरेको छ ।
प्रदेश सहकारी संघले काठमाडौं र ललितपुर मध्ये एउटा जिल्लामा र प्रदेश कृषि सहकारी संघले ललितपुरको सानेपामा कार्यालय स्थापना गर्ने तयारी गरेका छन् । काभ्रेको बनेपामा मुख्य कार्यालय रहने प्रदेश बचत तथा ऋण सहकारी संघले काठमाडौं र मकवानपुरको हेटौंडामा सेवा केन्द्र संचालन गर्ने जनाएको छ ।
अहिले कार्यालय स्थापना र प्रारम्भिक साधारण सभाको तयारीमा लागेका प्रदेश संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, कृषि संघका अध्यक्ष डिल्ली प्रसाद पाठक र बचत संघका अध्यक्ष उद्धव सापकोटालाई संघ स्थापना र आगामी कार्यदिशाका बारेमा हामीले तीन प्रश्न सोधेका छौं ।

‘चाँडै प्रारम्भिक संस्थालाई पनि सदस्यता दिन्छौं’

रामशरण शर्मा घिमिरे
अध्यक्ष
बागमती प्रदेश सहकारी संघ

१) संघमा कति संघ/संस्था आवद्ध भए ?

सहकारी ऐन, २०७४ ले पा बागमती प्रदेशका १३ वटा जिल्लामा ८२ वटा जिल्ला संघहरु छन् । हामीले ६५ प्रतिशत संघलाई समेटेका छौं । संचालक समिति र लेखा समितिमा अधिकांश जिल्ला र विषयलाई समेटेका छौं । रामेछाप र रसुवा जिल्ला मात्र छुटेका छन् ।

२) प्रारम्भिक संस्थालाई किन नसमेट्नुभएको  ?

प्रारम्भिक सहकारीलाई समावेश गर्दा दर्ता प्रकृया झन्झटिलो हुने भएकाले पहिलो चरणमा समेटेनौं । हामी जाने प्रारम्भिक संस्थामा नै हो । अव हामी चाँडै प्रारम्भिक साधारण सभा गरेर प्रारम्भिक संस्थालाई सदस्यता दिने विषयमा निर्णय गर्छौं ।

३) बागमती प्रदेश भित्र दर्ता भएका केही विषयगत संघ निष्क्रिय छन् । ती संघलाई कसरी सक्रिय बनाउनुहुन्छ ?

यो राष्ट्रिय समस्या हो । बागमती प्रदेशमा अन्यत्र जस्तो समस्या छैन । धेरै संघहरु सक्रिय नै छन् । बचत संघहरुले राम्रो कारोबार गरिरहेका छन् । प्रदेशमा कृषि, स्वास्थ्य, उपभोक्ता, जडिवुटी लगायत सवै प्रकारका संघहरु छन् । कानुनले तोकेको मापदण्ड पुरा गरेरै संघहरु दर्ता भएका छन् । त्यसैले हामीले आलोचना गर्न उचित नहोला । तरपनि केही संघहरुलाई हेर्दा राष्ट्रिय सहकारी महासंघ र केन्द्रीय संघहरुको निर्वाचनमा भोट हाल्नका लागि मात्र गठन गरेको जस्तो देखिन्छ । यी संघलाई संचालन गर्ने काम चुनौतीपूर्ण छ । कतिपय संघको कार्यालय झोलामा छ । तिनलाई नविकरण गर्ने, अडिट गर्ने, साधारण सभा गर्ने, कार्यालय स्थापना गर्ने काम खर्चिलो हुन्छ । तरपनि हामी महासंघ र अन्य केन्द्रीय संघहरुसंग समन्वय गरेर काम गर्छौं ।

‘निष्क्रिय संघलाई एकीकरण वा विघटन गर्नुपर्छ’

डिल्ली प्रसाद पाठक
अध्यक्ष
बागमती प्रदेश कृषि सहकारी संघ

१) प्रदेश संघमा कति संघ/संस्था समेट्नुभयो ?

हामीले १० ओटा जिल्ला संघ र १८ वटा प्रारम्भिक संस्थालाई समेटेका छौं । हामी तत्कालै बैठक बस्दै छौं । त्यही बैठकबाट अन्य संघ/संस्थालाई समावेश गर्ने निर्णय गरेर अगाडि बढ्छौं । सहकारी भनेकै ‘सवैका लागि एक, एकका लागि सवै’ भन्ने हो । सहकारी संस्थाहरुबीच पनि सहकार्य हुन्छ । हामी जिल्ला संघहरुसंग समन्वय गरेर काम गर्छौं ।

२) अभियान र राज्यसंग कसरी समन्वय गरिरहनुभएको छ ?

केन्द्रीय संघबाट कानुनी विषयमा सहयोग प्राप्त भईरहेको छ । प्रारम्भिक संस्थाहरुलाई प्रदेश संघमा कसरी समेट्न सकिन्छ भन्ने विषयमा हामी जिल्ला संघहरुसंग समन्वय गर्दैछौं । हामी अहिले प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रायलका पदाधिकारीहरुसंग परिचय स्थापित गर्ने क्रममा छौं । कृषि सहकारीलाई परेको कानुनी, नीतिगत वा प्रकृयागत समस्याका बारेमा बुझेर मन्त्रालयमा कुरा राख्दै जान्छौं ।

३) कृषि विषयमा धेरै वटा विषयगत संघहरु छन् । कतिपय निष्क्रिय पनि छन् । उनीहरुसंग कसरी सहकार्य गर्नुहुन्छ ?

विषय मिल्ने सहकारी संघ/संस्थाहरुलाई मिलेर जाउँ भनेर आह्वान गर्छौं । कार्यालय र कार्यक्रम नभएका झोले संघहरु सक्रिय हुन चाहन्छन् भने सहयोग गर्नुपर्छ । नभए विषय मिल्ने संघहरुसंग एकीकरण वा खारेजीको प्रकृया अगाडि बढाउनुपर्छ ।

‘हामी उत्पादनको क्षेत्रमा पनि काम गर्नेछौं’

उद्धव सापकोटा
अध्यक्ष
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ

१) संघमा कति संघ/संस्थालाई समेटनुभयो ?

हामीले सुरुमा प्रदेश सहकारी ऐन र नियमावली अनुरुप दर्ता प्रकृया पुरा गर्ने उद्देश्यले काम गरेका छौं । प्रदेशका १३ वटा जिल्लाका सवै बचत संघहरु र ७३ वटा प्रारम्भिक संस्थालाई समेटेका छौं । बाँकी संस्थाहरुलाई सदस्यता दिने काम अव सुरु हुन्छ ।

२) केन्द्रीय संघ र जिल्ला संघहरुसंग कसरी समन्वय गर्नुहुन्छ ?

हामी बागमती प्रदेश भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुको प्रदेश संघ भएकाले यहाँका बचत तथा ऋण सहकारी संस्थाहरु रहने प्रमुख ठाउँ यही हो । केन्द्रीय तहमा नेफ्स्कून छ । अव प्रदेश सहकारी संघलाई प्रभावकारी बनाउन कानुनी व्यवस्था परिवर्तन हुनसक्छ । हामी सवै संघहरु संग समन्वय गर्छौं । विशेषगरी प्रदेशमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको प्रवद्र्धन गर्न समसामयिक ऐन, नीति, विधि, कार्यविधि लगायतका विषयमा सम्वन्धित नियकामा ‘लबिईङ्ग’ गरेर दीर्घकालीन विकासका लागि काम गर्दै जान्छौं ।

३) बागमती प्रदेशमा समस्याग्रस्त बचत ऋण सहकारी पनि छन् । संघले कसरी काम गर्छ ?

प्रदेशको ग्रामीण भेगमा समुदायमा आधारित र सदस्य केन्द्रित राम्रा सहकारी छन् । एसियाली स्तरको ब्राण्ड प्राप्त गरको सहकारी छन् । तिनमा समस्या छैन । तर उपत्यका भित्र ‘सिस्टममा’ नबसेका सहकारीमा समस्या छ । ती सहकारीलाई ‘सिस्टम’मा ल्याएर संचालन गर्नका लागि नीति, विधि, कार्यविधि अन्तर्गत रहेर अगाडि बढ्छौं । यो प्रदेशमा ३ अर्ब पुँजी भएका सहकारी पनि छन् । हामीले सहकारी संस्थामा सदस्यले बचत गरेको पुँजीको सुरक्षाका लागि काम गर्ने हो । बचत ऋणको कारोबारमा मात्र केन्द्रित नभई उत्पादनको क्षेत्रमा पनि हामी काम गर्छौं ।