२०७७ श्रावण १६

प्रदेश संघमा राजनीतिक खिचातानी, बहुउद्देश्यीयको फाईल एक वर्षदेखि मन्त्रालयमा

प्रदेश संघमा राजनीतिक खिचातानी, बहुउद्देश्यीयको फाईल एक वर्षदेखि मन्त्रालयमा

काठमाडौं । राजनीतिक चलखेलका कारण सहकारीकर्मीहरुबीच सहमति जुट्न नसकेपछि बागमती प्रदेश बहुउद्देश्यीय सहकारी संघ दर्ता प्रकृया अवरुद्ध भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस समर्थित सहकारीकर्मीहरुबीच संचालक समित र लेखा समितिमा पद बाँडफाँटको कुरा नमिलेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा छुट्टा–छुट्टै दुईटा निवेदन परेका छन् ।

मन्त्रालयमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमिल्सिनाको अध्यक्षतामा संघ गठन गर्न माग गर्दै प्रदेशका ६ वटा जिल्ला संघ र २० वटा प्रारम्भिक सहकारी संस्थाले २०७६ साल असारमा निवेदन हालेका थिए ।

तर मन्त्रालयमा तिमिल्सिना समूहले पेश गरेको फाईलमा समावेश धादिङ र भक्तपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको संचालक समितिले गरेको निर्णय फर्जी भएको दावी गर्दै लगत्तै सोही संघका कोषाध्यक्ष पुष्प बहादुर पौडेलेको अध्यक्षतामा अर्को समूहले संघ दर्ताका लागि निवेदन पेश गरेको थियो ।

तिमल्सिनालाई सत्तासीन नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)को समर्थन छ भने पौडेललाई प्रतिपक्षी नेपाली काँग्रेसको ।

विवाद उत्पन्न भएपछि  मन्त्रालयले संघ दर्ताका लागि सबैभन्दा पहिले प्राप्त निवेदनलाई नटुंग्याई दुवै समूहले दिएको निवेदन दर्ता गरेको थियो । सहकारी नियमावली जारी नभएको भन्दै मन्त्रालयले त्यसबेला  प्राप्त कागजातको बैधानिकता जाँच्न  छानविनको प्रकृया भने अगाडि बढाएको थिएन् । तर यसबीच मन्त्रालयले सहकारी नियमावली, २०७६ जारी गरेर प्रदेश सहकारी संघ र दुईटा विषयत सहकारी संघ दर्ता गरिसकेको छ ।

प्रदेश मन्त्रालयले कोरोना महामारीलाई वेवास्ता गर्दै साउन १४ गते एक भव्य कार्यक्रम आयोजना गरेर प्रदेश सहकारी संघ, बचत तथा ऋण सहकारी संघ र कृषि सहकारी संघलाई मुख्यमन्त्री डोरमणि पौडेलेको हातबाट दर्ता प्रमाणपत्र वितरण गरेपनि बहुउद्देश्यीय संघको बारेमा कुनै निर्यण गरेको छैन ।

मन्त्रालयले बहुउद्देश्यीय सहकारी संघ दर्ता गर्दा सहकारीकर्मीहरुबीच सहमति जुटोस भनेर तत्काल छानविनको प्रकृया अगाडि नबढाएको सहकारी महाशाखाका रजिष्ट्रार विक्रम पाण्डेले बताउनुभयो । ‘हामीले दुवै समूहलाई मिलेर आउनुस् भनेका छौं,’ उहाँले भन्नुभयो, ‘उहाँहरुले छलफल गर्दैछौं भन्ने जवाफ दिनुभएको छ । मिल्नुभएन भने कानुन अनुसार प्रकृया अगाडि बढ्छ ।’

आफ्नो नेतृत्वमा संघ दर्ता गर्न निवेदन पेश गर्नुभएका केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका कोषाध्यक्ष पुष्प बहादुर पौडेलले अर्को पक्षले प्रकृया नपु¥याई फाईल तयार गरेको आरोप लगाउनुभयो । धादिङ र भक्तपुर जिल्ला बहुउद्देयीय संघका अध्यक्षको अनुपस्थितिमा बैठक डाकेर फर्जी माईनुट बनाएको उहाँको आरोप छ ।

‘भक्तपुर जिल्ला संघका अध्यक्ष अनुपस्थित भएको बैठकमा उहाँ उपस्थित रहेको भन्ने फर्जी माईनुट बनाएर पेश गरेका छन्,’ उहाँले भन्नुभयो, ‘धादिङ जिल्ला संघका अध्यक्ष कैलाली कञ्चनपुर गएको समयमा बैठक बोलाएर उहाँ उपस्थित भनेर पेश गरेछन् ।’

अर्को पक्षले फर्जी माईनुट तयार पारेर किर्ते गरेको थाहा पाएपछि दुबै जिल्ला संघका अध्यक्षहरुको उपस्थितिमा पुनः अर्को बैठक डाकेर पुरानो निर्णय उल्ट्याएको उहाँको भनाई छ ।

आफूहरु भन्दा पहिले निवेदन दिएपनि किर्ते कागजात पेश गरेकाले अर्को पक्षको निवेदन अवैधानिक भएको तर्क गर्दै उहाँले त्यसवेला प्रदेश सहकारी नियमावली जारी नभएकाले संघ दर्ता हुननसकेको बताउनुभयो ।

अर्कातर्फ केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका सचिव माधव तिमिल्सिना कानुनी प्रकृया पुरा गरेर प्रदेश संघ दर्ता गर्नका लागि निवेदन दिएको बताउनुहुन्छ । उहाँ भिन्न राजनीतिक आस्था भएकाले अर्को समूहले संघ दर्ता प्रकृया रोकेको आरोप लगाउनुहुन्छ ।

‘उहाँहरुले पार्टीगत हिसावले हामीलाई कहीँ पद प्राप्त भएन, उनीहरुलाई रोक्नुपर्छ भनेर हप्ता दिनपछि अर्को फाईल पेश गर्नुभयो,’ उहाँको भनाई छ ।

संघ दर्ताका लागि परेको पहिलो निवेदनलाई अगाडि नबढाई दोस्रो निवेदन लिनु कानुनीरुपमा समेत गलत भएको तर्क गर्दै उहाँले दुईटा निवेदन प्राप्त भएपछि मन्त्रालयले दुवै पक्षलाई छलफलमा बोलाउनुको साटो प्रकृया नै रोकेर बसेको गुनासो गर्नुभयो ।

तिमिल्सिनाले धादिङ र भक्तपुर जिल्ला संघले प्रकृया पुरा गरेर बैठक सम्पन्न गरेको जिकिर गर्नुभयो । अर्को पक्षले दुई जिल्ला संघका अध्यक्षलाई राजनीतिक नेतृत्वको दवाव दिएर पुन अर्को माईनुट बनाउन लगाएको आरोप लगाउनुभयो । धादिङ जिल्ला संघका अध्यक्ष अनुपस्थित भएपछि उपाध्यक्षको अध्यक्षतामा बैठक बसेर बहुमतले संघ दर्ताका लागि निवेदन दिने निर्णय गरेको उहाँको भनाई छ ।

‘भक्तपुर जिल्ला संघका अध्यक्षले निर्णयमा हस्ताक्षर गर्नुभएको छैन भन्ने कुरागलत हो,’ उहाँले भन्नुभयो, ‘हामीलाई दिएको निर्णयमा उहाँकै हस्ताक्षर छ तर पछि उहाँलाई राजनीतिक दवाव दिएर अर्को माईनुट गर्न लगाएछन् ।’

धादिङ जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष पुष्कर सुवेदीले आफू सुदुरपश्चिम गएको बेला उपाध्यक्षको अध्यक्षतामा बैठक बसेर गरेको निर्णय खारेज गरेको जानकारी दिनुभयो । ‘मेरो अध्यक्षतामा पुनः बैठक बसेर पुष्प बहादुर पौडेलको नेतृत्वमा प्रदेश संघ दर्ता गर्न निवेदन दिने निर्णय गरेका हौं,’ उहाँले भन्नुभयो । संघको नियमित बैठकमा मात्र नभई वार्षिक साधारण सभामा समेत अनुपस्थित हुने उपाध्यक्षले आफू नभएको समयमा बैठक डाकेर संवेदनशील निर्णय गरेको भन्दै उहाँले आश्चर्य प्रकट गर्नुभयो ।

अध्यक्ष सुवेदीले मुलुकमा बहुउद्देश्यीय सहकारी अभियान स्थापित गर्नका लागि तिमल्सिना र पौडेल दुवै जनाको महत्वपूर्ण योगदान रहेकाले फुटेर नभई जुटेर अगाडि बढ्न सुझाव दिनुभयो ।

दुवै पक्षले आफूलाई समर्थन गरेको दावी गरेपनि प्रदेश संघ दर्ताको छिनोफानो नहुँदै भक्तपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सनमान तामाङको भने निधन भईसकेको छ ।