सहकारी संस्थामा कोषको प्राप्ति, व्यवस्थापन तथा परिचालन विधि

सहकारी संस्थामा कोषको प्राप्ति, व्यवस्थापन तथा परिचालन विधि
बिचार/दृष्टिकोण | 2021-02-02 Share

कृष्ण प्रसाद आचार्य
वरिष्ठ सहकारी प्रशिक्षक एवं प्रमुख कार्यकारी अधिकृत, कास्कून ।

सहकारी संस्थाहरुमा कोष भन्नाले सहकारी संस्था सञ्चालनबाट हुने खुद वचत एवं अन्य विभिन्न श्रोत र निकायहरुबाट प्राप्त हुने रकमलाई भविष्यमा दायित्व सिर्जना हुन सक्ने सम्भावित शिर्षकहरुमा खर्च तथा परिचालनको लागि व्यवस्था गरिएको रकमलाई बुझ्नु पर्दछ । सिमित खुद वचत (शुद्ध नाफा) लाई अधिकतम उपयोगी र प्रभावकारी बनाउने गरी सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ साथै संस्थाको विनियममा व्यवस्था भए बमोजिम कोष व्यवस्थापन नीति निर्माण गरी संचालक समितिले अनुपात (प्रतिशत) निर्धारण गरी सहकारी संस्थामा जगेडा कोष, संरक्षित पूँजीफिर्ता कोष, सहकारी प्रर्वद्धन कोष, कर्मचारी बोनस कोष, शेयर लाभांश कोष, संस्था बिकास कोष, सदस्य शिक्षा कोष, घाटापूर्ति कोष, स्थिरीकरण कोष, सामुदायिक विकास कोष, अन्य जोखिम व्यवस्थापन कोषको व्यवस्था गर्नुका अतिरिक्त संस्थालाई सुरक्षित एवं वित्तिय रुपमा प्रतिष्पर्धी बनाउन आवश्यक अन्य (ऋण सुरक्षण कोष, घर जग्गा कोष, कर्मचारी उपदान कोष, सदस्य सुरक्षण तथा राहत कोष ) कोषहरुको व्यवस्था गर्न सकिन्छ ।

सहकारी संस्थाहरुकोे दीर्घकालिन विकासका लागि विभिन्न कोषहरुको सिर्जना एवं परिचालन कार्यलाई व्यवस्थित तथा प्रभावकारी ढंगवाट व्यवस्थापन गर्नका लागि कोष व्यवस्थापन नीति तयार पारी लागु गर्नु एकदमै अपरिहार्य हुन्छ । सहकारी संस्थामा हाल सहकारी नियमावली २०७५ परिच्छेद ६ को दफा  २५, २६ र २७ मा कोष सम्बन्धी व्यवस्था उल्लेख गरेको छ । सहकारी ऐन २०४८ ले गरेका कोष सम्बन्धी व्यवस्थाहरुमा सहकारी नियमावली २०७५ मार्फत परिमार्जन गरी कोषहरु तोकिएको छ । सोही अनुसार सहकारी संस्थाहरुले लागु गर्नुपर्नेछ ।

सहकारी संस्थाहरुमा कोष व्यवस्थापन तथा परिचालनका उद्देश्य

कोष प्राप्ती/सिर्जना तथा परिचालन सम्बन्धि सम्पूर्ण कार्यलाई प्रभावकारी रुपमा ब्यवस्थापन गर्न तथा संस्थामा सिर्जना भएको कोषको प्रभावकारी परिचालनबाट संस्थालाई सुरक्षित एवं सदस्यहरुको उत्प्रेरणा अभिवृद्धी गर्न/गराउन कोष व्यवस्थापन तथा परिचालनको उपयुक्त नीति वा कार्यविधि आवश्यक हुन्छ ।

वितरणको आधारमा संस्थामा रहने कोषहरुलाई दुई प्रकारमा वर्गिकरण गर्न सकिन्छ । खर्च भएर जाने वा नासिने कोषहरु  तथा संस्थागत कोषहरु (खर्च नहुने वा ननासिने कोषहरु) । खर्च भएर जाने वा नासिने कोषहरुमा शेयर लाभांश कोष, संरक्षित पूँजी फिर्ता कोष, कर्मचारी बोनस कोष, सहकारी शिक्षा कोष, ऋण सुरक्षण कोष, कर्मचारी उपदान कोष, सदस्य सुरक्षण तथा राहत कोष, स्थिरीकरण कोष, सामुदायिक विकास कोष तथा अन्य जोखिम व्यवस्थापन कोष पर्दछन् । भने संस्थागत कोषहरु (खर्च नहुने वा ननासिने कोषहरु) मा जगेडा कोष, संस्था विकास कोष, घर जग्गा कोष तथा घाटापूर्ति कोष आदि पर्दछन ।

व्यवस्था वा विशेषताको आधारमा संस्थामा रहने कोषहरुलाई दुई प्रकारमा वर्गिकरण गर्न सकिन्छ ।
क) कानुनी व्यवस्था अनुरुपका कोषहरु जुन सहकारी ऐन र नियमावलीका आधारमा व्यवस्था भएका कोषहरु पर्दछन ।
ख) ऐच्छिक कोषहरु जुन संस्थाको आवश्यकता अनुरुप संस्थाले आफ्नो विनियम र नीतिहरुमा व्यवस्था गरेका कोषहरु पर्दछन ।
सहकारी संस्थाहरुमा कोषहरुको प्राप्ती तथा परिचालन निम्न अनुसार गर्न सकिन्छ ।

जगेडा कोष

कुनै पनि सदस्य वा अन्य कुनै पक्षको दायित्व बहन गर्न नपर्ने र शुद्ध रुपमा संस्थाको मात्र हक दावी लाग्ने गरी व्यवस्था भएको यो कोष संस्थाको दीगो विकासको मेरुदण्डको रुपमा रहनेछ ।

जगेडा कोषको प्राप्ति

वार्षिक कारोबारबाट प्राप्त खुद वचतबाट कानुन बमोजिमको कर दायित्व भुक्तान गरी बाँकी रकमको विनियममा व्यवस्था भए बमोजिम कम्तिमा २५ प्रतिशत रकम यस कोषको प्राप्तिको मुख्य श्रोत हो । विभिन्न व्यक्ति वा संस्थाबाट प्राप्त हुने कार्यक्रम नतोकी प्राप्त अनुदान रकम, अक्षय कोषको रुपमा प्राप्त रकम तथा सञ्चालक समितिले विभिन्न समयमा तोकेका अन्य शिर्षकबाट प्राप्त रकम समेत यस कोषमा समावेस गर्न सकिन्छ तर आम्दानीका रकमहरु यस कोषमा सिधै रकमान्तर वा प्रविष्टी गर्दा भने नियमानुसार कर दायित्व सिर्जना हुने हुन्छ ।

जगेडा कोषको उपयोग र परिचालन

सामान्य अवस्थामा जगेडा कोष खर्च गरिंदैन । तर आवश्यकता अनुसार निम्न कार्यमा जगेडा कोषले दायित्व वहन गर्न भने बाधा पर्ने छैन । संस्थाको स्थीर सम्पत्ति आर्जन गर्ने कार्यको लागि जगेडा कोषमा रहेको रकमलाई आधार रकमको रुपमा गणना गरी एभ्ब्च्ीक् मापदण्ड अनुरुप आर्जन गर्न सकिनेछ । संस्था विगठन गर्ने अवस्थामा अन्य श्रोतबाट भुक्तानी गर्न नपुग रकम भुक्तानी गर्न प्रयोग गर्न सकिनेछ ।

संरक्षित पुँजी फिर्ता कोष

वर्षभरी सहकारी संस्थामा कारोबार गरेर नाफा आर्जन गर्न योगदान पु¥याए वापत प्रोत्साहन दिने उद्देश्यले सहकारी ऐन, २०७४ र नियमावली, २०७५ को व्यवस्था बमोजिम यो कोषको स्थापना गरिएको हुन्छ । खुद वचतबाट विनियममा व्यवस्था भए वा नियमावलीको व्यवस्था बमोजिम रकम यस कोषमा रहनेछ ।

संरक्षित पूँजी फिर्ता कोषको प्राप्ति

नियमानुसार कर छुट्याई बाँकी वचत रकमबाट जगेडा कोषमा छुट्याई बाँकी रहेको वचत रकमलाई विनियममा तोके बमोजिम वा नियमापलीको व्यवस्था अनुरुप तोकेको अनुपातमा वार्षिक नाफा (वचत) बाट प्राप्त हुने रकम समावेस गरिएको हुन्छ ।

संरक्षित पुँजी फिर्ता कोषको उपयोग र परिचालन

अघिल्लो आ.व.मा (लेखापरीक्षण गरिएको वर्ष) सदस्यहरुले संस्थामा गरेको कारोबार (वचत ऋणको उपयोग) गरेको अनुपातमा समानुपातिक रुपमा वितरण गर्न यो कोषको प्रयोग गर्नुपर्दछ । यो कोष वितरणको लागि व्याज कारोबारलाई आधार मानिनेछ । तर आवधिक वचतमा भएको व्याज कारोबारलाई भने यस प्रयोजनको लागि गणना नगर्दा राम्रो हुन्छ । यो कोषबाट रकम बितरण गर्दा संरक्षित पूँजी फिर्ता कोष कार्यबिधि बनाई सोही अनुसार बितरण गर्नुपर्नेछ ।

सहकारी प्रवर्द्धन कोष

सहकारी ऐन, २०७४ र नियमावली, २०७५ को व्यवस्था बमोजिम वर्ष भरि सहकारी संस्थामा कारोबार गरेर प्राप्त मुनाफाबाट सहकारीको प्रवद्र्धनका लागि छुट्याएर राखिने कोषलाई सहकारी प्रवद्र्धन कोष भनिन्छ ।

सहकारी प्रवर्द्धन कोषको प्राप्ती

नियमानुसार कर छुट्याइ बाँकी बचत रकमबाट जगेडा कोषमा छुट्याइ बाँकी रहेको रकमबाट सहकारी ऐन र नियमावलीको व्यवस्था बमोजिम तोकिएको अनुपातमा यस कोषमा रकम प्राप्त हुन्छ ।

सहकारी प्रवर्द्धन कोषको उपयोग र परिचालन

सहकारीको प्रवद्र्धन र विकासका लागि सहकारी ऐन २०७४ तथा नियमावली २०७५ मा व्यवस्था भए बमोजिम भूमि व्यवस्था सहकारी तथा गरिवी मन्त्रालयले तोकेको कोष वा खातामा हरेक वर्ष जम्मा गर्नुपर्ने हुन्छ । यो कोषलाई हरेक वर्ष शुन्य राख्नु पर्दछ ।

कर्मचारी बोनस कोष

वर्षभरी सहकारी संस्थाको व्यवस्थापनमा संलग्न भई नाफा आर्जन गर्न योगदान पु¥याए वापत कर्मचारीहरुलाई प्रोत्साहित गर्न सहकारी ऐन, २०७४ र नियमावली, २०७५ को व्यवस्था बमोजिम यो कोषको स्थापना गरिएको छ । खुद वचतबाट विनियममा व्यवस्था भए वा नियमावलीको व्यवस्था बमोजिम छुट्याईने यस्तो कोषलाई कर्मचारी बोनस कोष भनिन्छ ।

कर्मचारी बोनस कोषको प्राप्ति

संस्थाको कर दायित्वको आधारमा कर्मचारी बोनस कोष निम्न दुई तरिकाबाट व्यवस्था गर्न सकिन्छ
क) विनियमको व्यवस्था वा समितिले तोके बमोजिम खुद वचत बाँडफाँड बाट ।
ख) वार्षिक कारोबारको आधारमा मोटामोटी वचत (नाफा) निर्धारण गरेपश्चात कर छुट्याउनु भन्दा पहिले नै कर्मचारी बोनसको लागि खर्च लेखी ।

कर्मचारी बोनस कोषको उपयोग (वितरण) 

अघिल्लो आ.व.मा (लेखापरीक्षण गरिएको वर्ष) कर्मचारीहरुले संस्थामा गरेको योगदानको आधारमा समानुपातिक रुपले वितरण गर्नुपर्दछ ।  यस कोषमा जतिसुकै रकम प्राप्त भएको भएता पनि वितरण गर्दा बढीमा तीन महिनाको तलबमान भन्दा बढी हुने गरी वितरण गर्नु हुदैन । यो कोषको वितरणको लागि आधारभुत तलबमानलाई आधार मानि सम्बन्धित वर्षमा काम गरेको महिनाको आधारमा वितरण गर्नुपर्दछ । वितरण गरी कोषमा बाँकी रहेको रकमलाई सो दायित्व भुक्तानी गरिसके पश्चात जगेडा कोषमा सार्नुपर्दछ । यो कोषलाई हरेक वर्ष शुन्य गर्नुपर्दछ ।

शेयर लाभांश कोष

सहकारी ऐन, २०७४ र नियमावली, २०७५ को व्यवस्था बमोजिम खुद वचतबाट विनियममा व्यवस्था भए बमोजिम संस्थामा लगानी भएको शेयर पूँजीमा प्रतिफल दिनको लागि व्यवस्था भएको कोषलाई शेयर लाभांश कोष भनिन्छ ।

शेयर लाभांश कोषको प्राप्ति

नियमानुसार कर छुट्याई बाँकी वचत रकमबाट जगेडा कोषमा छुट्याई बाँकी रहेको वचत रकमलाई कुल शेयर पुँजीमा १८ प्रतिशत भन्दा बढी लाभांश नबाँड्ने गरी तोकेको अनुपात बमोजिम वार्षिक नाफा (वचत) बाट यस कोषमा रकम प्राप्त हुन्छ ।

शेयर लाभांश कोषको उपयोग र परिचालन

अघिल्लो आ.व.मा (लेखापरीक्षण गरिएको वर्ष) सदस्यहरुको शेयर लगानीको आधारमा १८ प्रतिशतमा नबढ्ने गरी समानुपातिक रुपमा वितरण गर्न यस कोषको उपयोग गरिन्छ । सदस्यहरुलाई वितरण गरी बाँकी रकमलाई अघिल्लो आ.व.को शेयर लाभांशको दायित्व भुक्तानी गरिसके पश्चात वा सो वर्षको वचत वितरण गर्नुपुर्व जगेडा कोषमा सारेर शुन्य बनाइनु पर्दछ ।

सदस्य शिक्षा कोष

सहकारी संस्थाका सदस्यहरुलाई सहकारीका राष्ट्रिय, अन्तर्राष्ट्रिय सिद्धान्त, मुल्य, मान्यता, संस्थाले अबलम्बन गरेका नीति र योजनाको बारेमा सदस्यहरुलाई सुसुचित गर्ने उद्देश्यले सहकारी ऐन, २०७४ र नियमावली, २०७५ को व्यवस्था बमोजिम खुद वचतबाट विनियममा व्यवस्था भए वा नियमावलीको व्यवस्था बमोजिम तोके अनुसार प्राप्त रकमबाट सिर्जना हुने कोषलाई सदस्य शिक्षा कोष भनिन्छ ।

सदस्य शिक्षा कोषको प्राप्ति

विनियमको व्यवस्था वा नियमावलीमा तोके बमोजिम खुद वचत बाँडफाँड बाट यस कोषमा रकम प्राप्त हुन्छ । संस्थाका सदस्यहरुलाई तालिम शिक्षा प्रदान गर्ने उद्देश्यले कुनै निकायबाट प्राप्त रकमलाई समेत यस कोषमा राख्न सकिनेछ ।

सहकारी शिक्षा कोषको उपयोग 

वार्षिक रुपमा संस्थामा आबद्ध भई कारोबार गरिरहेका सदस्य मध्ये न्यूनतम २५ प्रतिशत सदस्यहरुलाई सूचना, तालिम तथा शिक्षा प्रदान गर्न यस कोषको उपयोग गरिन्छ । यस कोषमा कायम रहेको रकमबाट अपुग हुने भएमा वार्षिक योजनामा समावेश गरी आम्दानीबाट खर्च गर्न भने यस कोषले बाधा पुग्ने छैन ।

घाटापुर्ति कोष

सहकारी संस्थाले कारोबार सञ्चालन गर्दा कुनै वर्ष लगानीमा रहेको ऋण असुलीमा ढिलाई, अत्याधिक तरलता, अनियन्त्रित र योजना विहिन सञ्चालन खर्च, आदिको कारण अनपेक्षित रुपमा प्रतिकुल परिणामको रुपमा घाटा उत्पन्न हुन गएमा सदस्यहरुको शेयर र वचतको मुल्य साथै संस्थामा रहेको दायित्वलाई सिमित गर्नका लागि नाफा आर्जन गर्दाका वर्ष सहकारी ऐन, २०७४ र नियमावली, २०७५ को व्यवस्था बमोजिम खुद वचत (नाफा)को केही अंश छुट्याई राखिने कोषलाई घाटापूर्ति कोष भनिन्छ ।

घाटापुर्ति कोषको प्राप्ति

विनियमको व्यवस्था वा नियमावलीमा तोके बमोजिम खुद वचत बाँडफाँड बाट प्राप्त हुने रकमबाट यो कोषको सिर्जना हुनेछ ।

घाटापुर्ति कोषको उपयोग

कुनै वर्षको कारोबारबाट संस्थामा घाटा पर्न गएमा सो घाटाको पूर्ति गर्न यस कोषमा रहेको रकमको प्रयोग गर्न सकिनेछ ।

स्थिरीकरण कोष

सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ बमोजिम वार्षिक रुपमा खुद बचतको केहि अंश छुट्याइ राखिने कोषलाई स्थिरीकरण कोष भनिन्छ ।

स्थिरीकरण कोषको प्राप्ति

विनियमको व्यवस्था वा नियमावलीमा तोके बमोजिम खुद वचत बाँडफाँड बाट प्राप्त हुने
रकमबाट यो कोषको सिर्जना हुनेछ ।

स्थिरीकरण कोषको उपयोग

यो कोषको रकम हरेक वर्ष सहकारी नियमावली २०७५ अनुसार गठित स्थिरीकरण कोषमा  पठाउनु पर्दछ ।

संस्था विकास कोष

सहकारी संस्थाका संस्थागत संरचना र अन्य भौतिक सामाग्रीहरु आर्जन गर्ने श्रोतको लागि सहकारी ऐन, २०७४ र नियमावली, २०७५ को व्यवस्था बमोजिम खुद वचत (नाफा)को केही अंश छुट्याई राखिने कोषलाई संस्था बिकास कोष भनिन्छ ।

संस्था विकास कोषको प्राप्ति

विनियमको व्यवस्था वा नियमावलीमा तोके बमोजिम खुद वचत बाँडफाँड बाट प्राप्त हुने रकमबाट यो कोषको सिर्जना हुनेछ ।

संस्था विकास कोषको उपयोग

संस्थाको स्थायी संरचनाहरु जोड्ने, मर्मत गर्ने वा अन्य नासिएर नजाने आवश्यकिय पुर्वाधारहरु जोड्न यस कोषको उपयोग गर्न सकिन्छ । यस कोषमा जतिसुकै रकम भएता पनि संस्थाका सञ्चालन खर्च व्यवस्थापन गर्ने वा अन्य तत्काल नासिएर÷खर्च भएर जाने सामाग्री जोड्न यो कोषको प्रयोग गर्नु हुदैन ।

सामुदायिक विकास कोष

सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ बमोजिम वार्षिक रुपमा खुद बचतको केहि अंश छुट्याइ राखिने कोषलाई सामुदायिक बिकास कोष भनिन्छ ।

सामुदायिक विकास कोषको प्राप्ति

विनियमको व्यवस्था वा नियमावलीमा तोके बमोजिम खुद वचत बाँडफाँड बाट प्राप्त हुने रकमबाट यो कोषको सिर्जना हुनेछ ।

सामुदयिक विकास कोषको उपयोग

यो कोषको रकम हरेक वर्ष सहकारी नियमावली २०७५ र संचालक समितिले तोके बमोजिम उपयोग गर्नुपर्दछ ।

अन्य जोखिम व्यवस्थापन कोष

सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ बमोजिम वार्षिक रुपमा खुद बचतको केहि अंश छुट्याइ राखिने कोषलाई अन्य जोखिम व्यवस्थापन कोष भनिन्छ ।

अन्य जोखिम व्यवस्थापन कोषको प्राप्ति

विनियमको व्यवस्था वा नियमावलीमा तोके बमोजिम खुद वचत बाँडफाँड बाट प्राप्त हुने रकमबाट यो कोषको सिर्जना हुनेछ ।

अन्य जोखिम व्यवस्थापन कोषको उपयोग

यो कोषको रकम हरेक वर्ष सहकारी नियमावली २०७५ र संचालक समितिले तोके बमोजिम उपयोग गर्न सकिनेछ वा छुटै कायविधि समेत बनाई उपयोग गर्न समेत सकिनेछ ।

ऋण सुरक्षण कोष

संस्थाले सदस्यहरुलाई विभिन्न उद्देश्यमा लगानी गरेको ऋणको सुरक्षण गर्नको लागि एभ्ब्च्ीक् को मापदण्ड बमोजिम व्यवस्था गरिएको कोषलाई ऋण सुरक्षण कोष भनिन्छ ।

ऋण सुरक्षण कोषको प्राप्ति

संस्थाले सदस्यहरुलाई लगानी गरेको ऋण रकमको आधारमा मासिक रुपमा भाखा नाघेको ऋणको विवरण तयार गरी नियमानुसार खर्च लेखी यस कोषमा रकम प्राप्त हुन्छ ।

ऋण सुरक्षण कोषको उपयोग

एक वर्ष भन्दा बढी भाखा नाघेको ऋणलाई सो अवस्थामा पुगेको एक वर्ष भित्र सम्बन्धित ऋणीबाट असुल हुन नसकेमा उक्त ऋणको अपलेखन गर्न यस कोषको प्रयोग गर्न सकिन्छ । ऋण नीति अनुरुप वर्गिकरण गरिएको ऋण र सोको आधारमा आवश्यकता बमोजिम भन्दा बढी भएको रकम ऋण असुल भए पश्चात आम्दानी जनाउनु पर्दछ ।

घरजग्गा कोष

सहकारी संस्थाको आफ्नो जग्गा खरिद वा कार्यालय भवन निर्माण एवं मर्मत कार्यको लागि छुट्याई राखेको कोषलाई घरजग्गा कोष भनिन्छ ।

घरजग्गा कोषको प्राप्ति

सदस्यहरुलाई ऋण लगानी गर्दा प्राप्त हुने व्यवस्थापन शुल्कको सम्पूर्ण वा समितिले तोके बमोजिमको रकम यस कोषमा राख्न सकिनेछ । तर यसरी कोषमा रकम राख्दा नियमानुसार कर दायित्व भने सिर्जना हुन सक्नेछ । सदस्यहरुमा घरजग्गा जोड्ने प्रयोजनको लागि स्वेच्छिक रुपमा आह्वान गरी प्राप्त भएको रकम समेत यस कोषको श्रोत हुन सक्छ । कुनै दातृ निकाय, संघ/संस्था वा व्यक्तिले संस्थाको घरजग्गा जोड्ने उद्देश्य खुलाई दिएको सहयोग रकम समेत यस कोषमा समावेस हुन्छ । लेखिएका श्रोत बाहेक खुद वचतबाट समेत विनियममा व्यवस्था गरी वा विनियमले प्रदान गरेको अधिकारका आधारमा समितिले निर्धारण गरे बमोजिमको रकम राख्न समेत सकिनेछ ।

घरजग्गा कोषको प्रयोग

संस्थाको घर/घडेरी खरिद गर्न वा घर मर्मत गर्न यो कोषको उपयोग गरिनेछ ।

कर्मचारी उपदान कोष

सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको आर्थिक सुरक्षाको लागि अवकाश हुँदाका बखत भुक्तानी दिने उद्देश्यले व्यवस्था गरेको कोषलाई कर्मचारी उपदान कोष भनिन्छ ।

कर्मचारी उपदान कोषको प्राप्ति

संस्थाको मानब संसाधन ब्यवस्थापन नीतिमा व्यवस्था भए अनुसार वा समितिले तोके बमोजिम खुद वचत बाँडफाँड बाट प्राप्त हुने रकम वा वार्षिक आम्दानीबाट खर्च भुक्तान गरिसके पश्चात प्राप्त वचतबाट कर तिनु अगावै वार्षिक तलब खर्चको आधारमा समितिले निर्धारण गरे बमोजिम खर्च लेखी व्यवस्था गरी यस कोषको प्राप्ति हुन्छ ।

कर्मचारी उपदान कोषको प्रयोग

संस्थामा लामो समय काम गरी अवकाश प्राप्त गर्ने कर्मचारीहरुलाई निजले संस्थामा गरेको योगदानको आधारमा आर्थिक नीति र मानब संसाधन ब्यवस्थापन नीतिको व्यवस्था बमोजिम भुक्तानी दिन  यस कोषको प्रयोग गर्न सकिन्छ  ।


माथि उल्लेख गरिएका कोषहरु बाहेक संस्थाले बिनियम तथा नीतिमा व्यवस्था गरि कोषहरु स्थापना गर्न सकिनेछ । तर सहकारी नियमावलीमा व्यवस्था भएका कोषहरु भने अनिवार्य खडा गर्नुपर्नेछ । तर अधिकांश सहकारी संस्थाहरुमा कोषको उचित व्यवस्था नै नहुने र भएको कोषहरु समेत नियमानुसार खर्च नगर्ने परिपाटी रहेको पाईन्छ जुन सहकारी ऐन तथा नियमावलीको बिपरित हुन जान्छ । तसर्थ हरेक सहकारी संस्थाले कोषको प्राप्ति, उपयोग तथा व्यवस्थापनका लागि संचालक समितिले नीति तथा कार्यविधि बनाई साधारण सभाबाट पारित गराई लागु गर्न सकेमा कोषको उचित व्यवस्थापन हुने कुरामा दुईमत नहोला ।