आफ्नो सहकारी कोषको वार्षिक साधारणसभा, शेयर पूँजी चार करोड नाघ्यो

आफ्नो सहकारी कोषको वार्षिक साधारणसभा, शेयर पूँजी चार करोड नाघ्यो
समाचार | 2021-02-18 Share

काठमाडौं । चावहिल, गणेशस्थानमा रेहेको आफ्नो सहकारी कोष लिमिटेडको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

माघ २४ गते शनिबार आयोजित सभाले  संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ८ दशमलव २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारणसभामा सहकारी कोष लिमिटेडका अध्यक्ष बलराम पौडयालले  प्रस्तुत गर्नु भएको   बार्षिक प्रतिवेदन अनुसार सेयरपुँजी निक्षेप र बिभिन्न कोष सहित २४ करोड़ ६७ लाखको वासलात रहेको छ । कर्जा तथा अन्य लगानी गरि कूल लगानी २० करोड़ ६२ लाखमा भाखा नाघेको कर्जा शुन्य दशमलव ४० प्रतिशत मात्र रहेको  छ । 

साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणहरुमाथि छलफल गर्नुको साथै आर्थिक वर्ष २०७७/७८ को अनुमानित वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षण नियुक्त गर्ने र  पारिश्रमिक तोक्ने एजेण्डामाथि पनि छलफल गरी पारित गरिएको छ ।
संस्थाको सेयर पूँजी ४ करोड ३ लाख ८२ हजार पुगेको छ । 

संस्थाले करिव डेढ करोडको लगानीमा बनाएको आफ्नै ५ तले  भवनको सभाहलमा  साधारणसभा सम्पन्न गरेको थियो ।