सहकारी उद्यमशिलतामा अवरोध पुर्‍याउने कानुन संशोधन हुन्छः वन मन्त्री आले

सहकारी उद्यमशिलतामा अवरोध पुर्‍याउने कानुन संशोधन हुन्छः वन मन्त्री आले
समाचार | 2021-03-01 Share

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशिलतामा अवरोध पुर्याउने क्षेत्रगत ऐन संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा ‘युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उहाँले सहकारीसँग बाझिएका ४७ वटा क्षेत्रगत ऐन संशोधन गर्न सरकारले सहजीकरण गर्ने बताउनुभयो ।

वर्तमान सरकारले सहकारीलाई महत्वका साथ लिएको बताउँदै उहाँले ऐनहरु संशोधन गर्नका लागि प्रधानमन्त्रीसंग छलफल गर्ने वचन दिनुभयो ।

उहाँले प्रधानमन्त्री जडिबुटी खेती कार्यक्रमलाई सहकारीमार्फत संचालन गर्नका लागि मन्त्रालयले नीतिगत व्यवस्था गर्ने आवश्वासन दिनुभयो । ‘वन तथा वातावरणमा पनि सहकारीमार्फत युवालाई जोड्न सकेको खण्डमा दिगो हुन्छ भन्ने विषयमा छलफल भएको छ । सहकारीमा रहेका युवालाई वन तथा वातावारणको संरक्षणमा समेत जोड्ने गरी नीतिगत व्यवस्था गर्नका लागि सहकारीसँग बसेर छलफल गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।

महासंघका अध्यक्ष मिनराज कडेलले सहकारीले भोकमरी र गरिवी निवारण गर्ने कार्यमा सहकारीको योगदान रहेको बताउनुभयो । उहाँले युवा स्वरोजगार सिर्जनाका लागि सहकारीको योगदान बृद्धि गर्न अभियान लागि परेको बताउनुभयो ।

यसैगरी राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले नेपालमा प्रयाप्त उत्पादन हुन नसक्दा विदेश निर्यात हुन नसकेको बताउनुभयो । सहकारीका माध्यमबाट उत्पादन बढाएर आयात प्रतिस्थापन गर्दै निर्यात गर्न सकिने बताउनुभयो ।

सहकारीमार्फत उत्पादन बढाएर रोजगारी सिर्जना गर्न सकिने उहाँकोा भनाइ छ । पकेट क्षेत्र घोषणा गरेर गाउँगाउँमा ट्रकका ट्रक सामान उत्पादन गर्न सकिने उहाँँले बताउनुभयो । सहकारीले व्यवसायिकतामा जान अठोट गरे गरिबी निवारण हुनुका साथै निर्यात समेत गर्न सकिने उहाँको भनाई छ ।

दुइदिनसम्म सञ्चालन हुने गोष्ठीमा उद्यमशीलता विकास विज्ञ नविनकुमार कर्णले ‘सहकारीमार्फत उद्यमशीलता प्रवद्र्वनका लागि युवाको भूमिका’ र नेपाल क्लियरिङ हाउसका सिइओ निलेशमान सिंह प्रधानले ‘सहकारीमा युवा र नविनतम् प्रविधिको प्रयोग’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

युवा उद्यमहीहरु अर्बन गर्लका सिइओ निकिता आचार्य, खालीसिसीका सिइओ आयुसी केसी र अन्तरप्रेरणाका सिइओ निरज खनालले ‘सहकारीमा युवाः अभ्यास, संभावना तथा चुनोतीहरु’ विषयक व्यवहारिक अनुभव आदानप्रदान तथा छलफल गर्ने छन् ।