शौभाग्यशाली साकोसमा चोरी, कर्मचारीले नक्कली चाबी बनाएर चोरेको खुलाशा

शौभाग्यशाली साकोसमा चोरी, कर्मचारीले नक्कली चाबी बनाएर चोरेको खुलाशा
समाचार | 2021-03-04 Share

काठमाडौं । कोटेश्वरमा रहेको शौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थाकी एक महिला कर्मचारीले नक्कली चाबी बनाएर पैसा चोरी गरेकी छन् । 

संस्थाका लेखापाल सावित्री सुवेदीले नक्कली चाबी प्रयोग गरेर सेफबाट १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ चोरेकी हुन् ।

उनले श्रीमान कपिल खड्काको सहयोगमा सहकारी लुटपाट गरेको खुलेको छ । श्रीमान्ले सहकारीमा तिर्नुपर्ने १० लाख रुपैयाँ तिरेकै दिन उनले सहकारीको दराज फोडेर पैसा चोरेकी हुन् । 

उनीहरु दुवै जनालई प्रहरीले पक्राउ गरेको छ । उनले श्रीमानसँग मिलेर सहकारीको १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । गत माघ २५ गते साँझ ५ बजेपछि र २६ गते बिहान ७ बजेभित्र रकम चोरीएको हुनसक्ने कर्मचारीको भनाई छ ।

तर कर्मचारीले भने २६ गते बिहान कार्यालय पुगेपछि मात्रै थाहा पाएका थिए । कार्यालय खुल्लै रहेको र भित्र रहेको दराजको साँचो पनि खोलिएको देखेपछि घटनावारे प्रहरीलाई जानकारी गराइएको थियो । रकम राख्ने कोठा र दराजको चाबी सहकारीका अध्यक्ष हरिप्रसाद शर्मासँग मात्रै थियो । तर पनि सहकारी तोडफोड नगरी चाबी खोलेरै चोरिएको पाइएपछि प्रहरीले सुरुदेखि नै त्यहीँका कर्मचारीमाथि बढी आशंका गरेको थियो ।

२५ गते बैंक बन्द भइसकेपछि एक ऋणीले १० लाख रुपैयाँ बुझाएको रेकर्डमा देखिएको थियो । उनी सावित्रीकै श्रीमान् भएको प्रहरी अनुसन्धानमा देखिएपछि प्रहरीले शंका उनीमाथि गरेको हो । बाँकी रकम बजारबाट संकलन गरेर जम्मा भएको थियो। सावित्रीका दम्पतीले भक्तपुरको ठिमीमा घर बनाउँदा सहकारीबाट ऋण लिएका थिए ।

सोही ऋण उनका श्रीमानले तिरेका हुन् । श्रीमानले ऋणको पैसा तिर्नु अघि नै सावित्रिले नक्कली साँचो बनाएको पनि खुलेको छ । सहकारीका अध्यक्षलाई गत कात्तिकमा कोरोना भएको थियो । त्यही बेला सावित्रीले नक्कली चाबी तयार गरेको प्रहरी अनुसन्धानमा पाइएको छ । सुरुमा अस्वीकार गरे पनि अहिले उनीहरुले गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ ।

संस्थाका अध्यक्ष शर्माले सात वर्षदेखि संस्थामा कार्यरत कर्मचारीले संस्थाको रकम चोरेको थाहापाउँदा आफू आश्चर्यचकित बनेको बताउनुभयो । संस्थाको कार्यालय बाहिर जडान गरेको सीसीटीभी फुटेजमा सुवेदी दम्पतीले झोला बोकेको र मिलाएको दृष्य कैद गरेकाले प्रहरीमा किटानी जाहेरेी दिएको जानकारी दिनुभयो ।