सोसाइटल र लुनिभाका सदस्यले फागुन २३ बाट बचत फिर्ता पाउने

सोसाइटल र लुनिभाका सदस्यले फागुन २३ बाट बचत फिर्ता पाउने
गृहपृष्ठ | 2021-03-05 Share

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित दुई सहकारीका सदस्यलाई बचत फिर्ता गर्ने भएको छ । 

समितिले फागुन २३ गते बाट नयाँबानेश्वरको सोसाइटल बचत तथा ऋण सहकारी संस्था र कमलाक्षीको लुनिभा बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्नलागेको हो । 

सोसाइटल सहकारीका २ सय ४० जना सदस्यले समिति समक्ष ९ करोड ७८ लाख ४२ हजार ६ सय ४२ रुपैयाँ बचत र ४३ लाख ७० हजार ५ सय रुपैयाँ गरी कुल १० करोड २२ लाख १३ हजार १ सय ४२ रुपैयाँ मागदावी पेश गरेका छन् । 

यसैगरी लुनिभा बहुउद्देश्यीयका २ सय १४ जना सदस्यले सावाँ ब्याज गरी २० करोड ३८ लाख ३४ हजार रुपैयाँ बचत र ३३ लाख २० हजार रुपैयाँ शेयर गरी कुल २० करोड ७१ लाख ५४ हजार रुपैयाँ मागदावी गरेका छन् । 

समितिले अहिले सम्म सोसाइटल सहकारीका ऋणी र संचालक समितिका पदाधिकारीहरुबाट ५७ लाख रुपैयाँ र लुनिभा सहकारीका ऋणी तथा पदाधिकारीहरुबाट ७२ लाख रुपैयाँ असुल गरेको समितिका सदस्यसचिव केशव प्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणमा ५० हजार रुपैयाँसम्म बचत भएका साना बचतकर्तालाई रकम फिर्ता गर्नलागेको जानकारी दिनुभयो । यसरी वितरण गरेपछि बाँकी रहेको रकम दोश्रो चरणमा बिरामी, अशक्त र ज्येष्ठ नागरिक सदस्यलाई फिर्ता गर्ने बताउनुभयो ।

ती सहकारीका ऋणी सदस्य र संचालकबाट पैसा असुल नभएको अवस्थामा समितिले चल अचल सम्पत्ति लिलामी गरेर अन्य निक्षेपकर्ताको रकम फिर्ता गर्ने भएको छ । संकलित रकमले नपुगे समितिले तेश्रो चरणमा ठूला बचतकर्ताको पैसा प्रतिशतको आधारमा फिर्ता गर्ने योजना बनाएको सदस्यसचिव पौडेलले बताउनुभयो ।

सरकारले सोसाईटललाई २०७५ फागुन १९ गते र लुनिभालाई २०७६ साउन १२ गते समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।