सहकारी क्षेत्र सम्बद्ध पाँच जनालाई विभूषण

सहकारी क्षेत्र सम्बद्ध पाँच जनालाई विभूषण
समाचार | 2021-04-18 Share

काठमाडौं । पाँचौं संविधान दिवसको अवसरमा नेपाल सरकारले यस वर्ष सहकारी क्षेत्र सम्बद्ध  पाँच जनालाई जनसेवा श्री पदकबाट विभूषित गरेको छ ।

सरकारले सहकारी क्षेत्रबाट एक जनालाई प्रबल जनसेवा श्री (तृतीय), तीन जनालाई प्रबल जनसेवा श्री (चतुर्थ) र एक जनालाई जनसेवा श्री (पञ्चम) बाट विभूषित गरेको हो ।

सुप्रबल जनसेवा श्री (तृतीय) बाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबारका सहसचिव जनकराज जोशी विभुषित हुनुभएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग र काठमाडौं महानगरपालिका सञ्चार शाखा प्रमुख एवं पूर्व सहकारी शाखा प्रमुख नमराज ढकाल प्रबल जनसेवा श्री (चतुर्थ) बाट विभूषित हुनुभएको छ ।

त्यसैगरी, जनसेवा श्री (पञ्चम) बाट झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका सचिव एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक महेन्द्र गिरी सम्मानित हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख १ गते एक औपचारिक कार्यक्रममा सम्मानित सबैलाई विभूषित गर्नुभएको हो । 

विभूषण ऐन, २०६४ अनुसार रक्षामन्त्रीको अध्यक्षता गठित विभूषण छनोट समितिले विभिन्न व्यक्तिलाई मानपदवी प्रदान गर्ने निर्णय गरेको हो ।