महामारीमा रणनैतिक तथा व्यवसायिक योजनाको अलवा व्यवसाय निरन्तरता योजनाको अपरिहार्यताः एक चर्चा 

महामारीमा रणनैतिक तथा व्यवसायिक योजनाको अलवा व्यवसाय निरन्तरता योजनाको अपरिहार्यताः एक चर्चा 
बिचार/दृष्टिकोण | 2021-05-02 Share

प्रकाश प्रसाद पोखरेल
कायम मुकायम प्रमुख कार्यकारी अधिकृत, नेफ्स्कून

हरेक सहकारीमा योजना हुन्छ चाहे त्यो बार्षिक, व्यवसायिक या रणनैतिक योजना । हाल महामारीको अवस्थामा सहकारी संचालन तथा यसले दिने सेवाको निरन्तरता आफैमा चुनौतिपूर्ण साथ साथै अवसरको रुपमा पनि हेर्न सकिन्छ । सहकारीको मुख्य उद्देश्य आफ्ना सदस्यहरुको विकास, सरंक्षण, सेवा निरन्तरता, कर्मचारीको संरक्षण तथा समग्र संस्थाको संरक्षण नै हो, त्यसैले महामारीमा सेवा निरन्तरताको आवश्यकता सदस्य, कर्मचारी तथा संस्थाको संरक्षण प्रति बढी केन्द्रित रहने गर्दछ जसमा कर्मचारीको कार्य सुरक्षा, वीमा, घरबाट काम गर्ने वातावरण, स्वास्थ्य सुरक्षा तथा सामाना शक्ति विकासका लागि पहल तथा मनोबैज्ञानिक परामर्श आवश्यक हुने गर्दछ । त्यस्तै सदस्यका लागि स्वास्थ्य सुरक्षा, ऋण तिर्न सक्ने क्षमताको विकास जसका लागि संस्थाले व्याजदर पुर्नविचार, पुर्नकर्जा, व्यवसायको संरचना परिर्वतन जस्ता कुरालाई पनि उत्तिकै ध्यान दिनु पर्ने हुन्छ । समग्र संस्थालाई पनि जोखिम व्यवस्थापन, सदस्यको सर्भे, जोखिमको स्तर मापन, जोखिमको पुवार्नुमान, ऋण लगानीमा लचकता तथा सुशासन, प्रविधिको व्यवस्थापन तथा सदस्यलाई प्रविधिको पहुँच तथा अभिमुखीकरण, बचत तथा ऋण लगायत अन्य वित्तीय सेवा र सो को पोर्टफोलियो व्यवस्थापन  जस्ता कुरालाई पनि ध्यान दिई रणनैतिक योजना लाई आधार मानी व्यवसाय निरन्तरता योजनामा यस्ता कुराको समायोजन गर्नु पर्दछ । 

सदस्य सेवा तथा सम्बन्धहरु, वित्तीय सेवाहरुको (बचत, ऋण, विमा, विप्रेषण, भुक्तानी फस्यौट) व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, आन्तरिक तथा वाह्य सञ्चार, प्रबिधिहरुकोव्यवस्थापन तथा सुशासन तथा बैधानिक व्यवस्थापन  नै मुख्य रुपमा व्यवसाय निरन्तरताका क्षेत्रहरु हुन । सहकारीको परिभाषामा आफैमा सामाजीक उद्यम/व्यवसाय भएकोले सहकारीताको माध्यमबाट कानूनद्वारा प्रद्धत जुनै पनि व्यवसाय सम्भव छ । सहकारीलाई सामाजिक व्यवसायको रुपमा लिन सक्निछ किनकी यसले समाजप्रति पनि उत्तरदायि बन्नु पर्ने हुन्छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) ले सन् १९९५ सेष्टेम्बरको महासभाबाट पारित परिभाषाले पनि सहकारीलाई व्यवसायिको रुपमा थप पुष्टि गर्दछ । जसमा सहकारी भनेकोः सहकारी त्यस्ता व्यक्तिहरुको स्वायत्त संगठन हो, जो स्वेच्छिक रुपमा एकजुट भई आफ्ना समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकताहरु र आकांक्षाहरुको परिपूर्तिको लागि संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रित उद्यम/व्यवसाय हो । अतः महामारीमा सेवा निरन्तरताका लागि सदस्यहरुलाई नियमित बचत तथा ऋण सेवा,  सदस्यहरुलाई संस्थागत परामर्श,  सदस्यहरुलाई वित्तिय परामर्श,  सदस्यहरुलाई स्वास्थ्य परामर्श, सदस्यहरुको व्यवसाय निरन्तरता सम्बन्धि सहकार्य,  सदस्य सदस्य सहयोग अवधारणा अनुशिक्षण,  बैकल्पिक बिधिहरुवाट सेवाको निरन्तरता,  सदस्य सेवाको सुपरिवेक्षण जस्ता कुरामा पनि जोड दिनु पर्ने हुन्छ । 

महामारीमा सेवा निरन्तरताका वित्तीय पक्षहरुमा  स्वास्थ्य र असल ऋण अभ्यासको निरन्तरता,   सदस्य सक्षमताको आधारमा ऋण फिर्ताको नियमितता,   बन्दाबन्दी अबधिभर लचिलो ऋण फिर्ता नीति,   नगदको अनिवार्य बिमा र बिमाको सिमा बृद्धि,   सामान्य अवस्थामा भन्दा बढि( दश प्रतिशत) तरलता कायम राख्ने,  थप आवश्यक तरलताका लागि वाह्य ऋणको तयारी गर्ने, तरल आम्दानी वित्तिय लागत कम्तीमा बराबर बनाउने, साप्ताहिक तरलता योजना निर्माण र बिष्लेषण गर्ने, शेयर र जगेडा कोषको पन्ध्र गुणा भन्दा बढि बचत संकलन नगर्ने, सकारात्मक खुद बचत सहितको खाता बन्दी, कम्तीमा आगामी छ महिनाका लागि प्रक्षेपित नगद प्रवाह तयारी,  जोखिम कोष व्यवस्थापनको सक्षमता विकास, महामारी केन्द्रीत बचत सेवाहरु विकास, महामारी केन्द्रीत ऋण सेवाहरुको विकास, बजार अनुसार व्याजदर तुरुन्त परिवर्तन, सदस्यहरुको वित्तिय आवश्यकताको अध्ययन, जस्ता कुराहरुमा व्यवस्थापन गर्नुपर्ने हुन्छ । 

नेपालको सहकारी अभियानमा केहि सकरात्मक पक्ष र सुधारात्मक पक्षहरु पनि छन् । सहकारीको संञ्जाल अन्तराििष्ट्रय रुपमा रहनु, सहकारीलाई नेपालको संविधानमा नै सम्बोधन गरिनु, अर्थतन्त्रको तिन खम्बाहरु मध्ये सहकारीलाई एक महत्वपूर्ण र सशक्त खम्बाको रुपमा अंगिकार गर्नु, सहकारीले आर्थिक सामाजिक, शैक्षिक एवं सास्कृतिक पक्षमा सकारात्मक प्रभाव पार्नु, सहकारी अभियान मार्फत लैगिक तथा समावेशिकरणको मुलप्रवाहिकरणमा शुरुआत हुनु (सहकारीमा महिलाहरुको ५० प्रतिशत भन्दा बढी सहभागिता तथा निर्णय तह मा पनि कानूनत नै कम्तिमा ३३ प्रतिशतको सुनिश्चितता रहनु यसको उदारहण हो), सहकारिताप्रति आम जनसमुदायको आकर्षण बढ्नु जस्ता सकरात्मक पक्ष हुन भने सहकारीमा सुसाशनको प्रश्न खडा हुनु, सहकारीले गरेको आर्थिक योगदानको कदर नहुनु, सहकारीलाई अनौपचारिक वित्तिय क्षेत्रमा नै सिमिति गरिनु नकि वित्तिय संस्थाको रुपमा पहिचान हुन नसक्नु, महिलाहरुको सहभागिता भएता पनि निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको प्रश्न उठ्नु, सहकारीहरु बचत संकलन तथा ऋण लगानीमा नै सिमित रहनु नकी उत्पादन मूलक क्षेत्रमा कम अग्रसरता, व्यवसायिकतामा कमि, अस्वस्थ प्रतिस्पर्धा, सहकारी मुल्य एवं सिद्धान्त परिपालनमा कमजोरी, सेवामुखी (गुणस्तरीय तथा दिगो सदस्यमुखी सेवा) भन्दा बढी नाफामुखीको सवाल उठ्नु, सहकारी सम्बन्धी नीतिगत अस्पष्टता, प्रभावकारी नियमन तथा अनुगमनको अभाव,  सहकारी शिक्षा, तालिम तथा सूचनाको अपर्याप्तता, वातावण, प्रकृति एवं समुदायप्रतिको चासो र उत्तरदायित्व वहनमा कमजोरी जस्ता सवालहरु भने सुधारात्मक रुपमा रहेका छन् ।  

महामारीमा सहकारी सेवा निरन्तरताका लागि कार्यढाँचा सुरक्षित कार्य वातावरण निर्माण, लचिलो कार्यालय समय निर्धारण, महामारीमा बैकल्पिक सेवा प्रवाहका विधिहरु विकास, घरवाट काम वा रिमोट अफिसको अवधारणा कार्यान्वयन, कर्मचारीहरुको रोजगारीको नियमितता, कर्मचारीहरुको व्याक्तिगत सुरक्षाको प्रत्याभुति, सेवा नियमितताका लागि बैकल्पिक जनशक्ति ढाँचा, स्वास्थ्य जनशक्तिवाट सेवाको सुनिश्चितता पनि संचालक तथा व्यवस्थापनबाट सुनिश्चित गर्नु पर्दछ । 

सहकारी संचालन प्रक्रिया जसमा पनि महामारीको समयमा प्रभावकारी सञ्चारलाई बढी महत्व दिनु पर्ने हुन्छ, जसको लागि   सदस्यहरुसंग प्रभावकारी सञ्चार, सरोकारवालाहरुसंगको सञ्चार, कर्मचारीहरुको कार्य सञ्चार, स्वास्थ्य सुरक्षाको नियमित सञ्चार, प्रोयाक्टिभ (पहिले नै यो कुरा हुन सक्छ भनेर गरिने संचार) सञ्चार ढाँचा, सञ्चारको केन्द्रिकृत व्यवस्थापन, सञ्चारको अभिलेख व्यवस्थापन जस्ता कुरालाई पनि बढी जोड दिनु पर्ने हुन्छ । 

अतः माथि उल्लेखित सकरात्मक पक्षलाई कायम राख्दै बढवा दिन र नकारात्मक पक्षलाई हटाउन सहकारी एवं संघहरुको लागि चुनौतिपूर्ण काम भए पनि सो को प्रभावकारी तथा कुशल व्यवस्थापन भने रणनैतिक, व्यवसायिक निरन्तरता योजनाले नै गर्दछ । महामारीको अवस्था श्रृजना हुन् भनेको पनि वातावरण्ीय इकोसाइकलन मा प्रवाहको कारणले हुने गर्दछ अतः व्यवसायिक रणनैतिक योजना तथा निरन्तरताको लागि विगतको समिक्षा, वर्तमानको विश्लेषण र भविव्यको पूर्वानुमान नै यसको समाधान हो । अतः विगतको समिक्षा र वर्तमानमा विश्लेषण गर्दा दिगोपना (Sustainability) लाई नै आधार मान्नु पर्ने हुन्छ जसमा नाफा(Profit) को अलवा ग्रह (वातावरण, पर्यावरण) (Planet) को साथ साथै सहकारीको आधार स्तम्ब मानव (People) विशेषगरी समुदाय (सदस्यहरु, संचालकहरु एवं कर्मचारीहरु) को समन्वयात्मक अन्तर सम्बन्धलाई जोड दिनु पर्ने हुन्छ । यस वातावरण, नाफा तथा मानवको अन्तरसम्बन्धलाई ट्रिपल बटम लाईन ढाँचा (Triple Bottom Line Approach) भनिन्छ । यसको उचित प्रयोगले दिगोपना, नैतिकता, समानता, प्रभावकारीता सहितको संस्थागत विकास भई हरेक तहमा उत्थानसिलतामा समेत बृद्धि हुने देखिँन्छ । यस ढाँचाको सहि विश्लेषण गरी व्यवसायिक तथा रणनैतिक योजना निमार्ण गर्न सके सहकारीताको मुल्य, सिद्धान्तको समेत व्यवहारिक कार्यान्वयन सम्भव छ ।  

उललेखित विश्लेषण तथा सूचनाको आधारमा योजनाको निमार्ण हामी, कस्का लागि, किन र कसरी भन्ने  सैद्धान्तिक पक्षलाई समेत जोड दिनु पर्ने हुन्छ । यदि सहकारी तथा सहकारीका सञ्जालसगँ कहाँ पुग्ने, के गर्ने, कसरी गर्ने, कसका लागि गर्ने, कहिले सम्म गरिसक्ने, कसले गर्ने आदि प्रश्नहरु अनुत्तरीत रुपमा रहेका हुन्छन् जसलाई रणनैतिक तथा व्यवसायीक योजनाले सम्बोधन गर्दछ । अतः रणनैतिक तथा व्यवसायीक योजना भन्नालेः सहकारी तथा यसको संञ्जालले गर्ने व्यवसायको निरन्तरता तथा थप अवसरको पहिचान गरि अल्पकालिक वा दीर्घकालीन रूपमा सञ्चालन गरिने कामलाई सहज, सरल, कम खर्चिलो, प्रभावकारी, अलग अस्तित्व एवं पहचिान र अन्य संस्थाहरुले गरेको भन्दा पृथक एवं नविनतम् व्यवसायिक क्रियाकलापहरु नछुट्ने गरी सम्पन्न गर्न तयार पारिने मार्गदर्शन हो । जसमा समस्याको पहिचान, समस्याको आधार, समस्याको प्रकार उद्देश्य, बजेटको प्रभावकारी तथा कौशलपूर्वक ब्यवस्थापन, जिम्मेवारीको वाडफाड, संस्थागत विश्लेषण, स्थान, समय, लाई आधार बनाई संस्थाको दुरदृष्टि प्राप्तिका लागि लक्ष्य, ध्येय एवं उद्देश्यहरु र उद्देश्यहरुले तय गरेको क्रियाकलाप र निशाना (Activities & Targets) प्राप्ति प्रति  सर्मर्पित हुन्छन् तर महामारीको समयमा उक्त लिएका लक्ष्य तथा उद्देश्यहरुलाई पुरा गर्न विघि तथा पद्धति भने अलग गर्नु पर्ने हुन्छ जसको लागि प्रविधिलाई बढी उपयोग गर्नु पर्ने हुन्छ । प्रविधि व्यवस्थापनमा विशेषतः प्रबिधिमा आधारित वित्तिय सेवा, प्रबिधि नियमिताको सुनिश्चितता, प्रबिधिमा आधारित अभिलेख, प्रबिधि सुरक्षाको व्यवस्थापन, प्रबिधिमा आधारित तालिम तथा सञ्चार तथा प्रविधिका लागि विनियोजित बजेटको पयापर््तता कस्तो हुन्छ सो कुराको पनि हेक्का रहनु उत्तिकै आवश्यक छ । 

संक्षेपमा, व्यवसाय निरन्तरता, रणनैतिक एवं व्यवसायिक योजना भनेको एउटा प्रकृया हो, जसमा विगतको समिक्षा, वर्तमानको विश्लेषण र भविष्यमा गरिने प्रक्षेपण समावेश हुन्छ जसको लक्ष्य सुशासन, व्यवसायिकता, उत्थानसिलता र दिगोपनामा केन्द्रित हुन्छ । अतः सहकारीले गर्ने व्यवसायिक क्रियालापलाई सहज, कैशलपूर्वक र प्रभावकारी रुपमा समय सापेक्ष अपेक्षित लक्ष्य हासिल गर्ने अपनाईने दिशानिर्देश हो जसमा निम्न क्रियाकलापहरु समावेश गरिएको हुन्छन्ः 

  • संस्थाको व्यवसायको विश्लेषण, 
  • व्यवसाय संचालनको लागि लक्षित वर्गको पहिचान, मानवसंसाधन व्यवस्थापन, सहयोगि तथा प्रतिशपर्धी निकायहरुको पहिचान तथा विश्लेषण, 
  • संस्थालाई विकास गर्ने सक्षम, कमजोर पक्ष र वाधा एवं संभावनाको पहिचान र विश्लेषण, 
  • संस्थालाई दीगो, प्रतिस्पर्धी, सदस्यहरुको आवश्यकताको पूर्ति गर्न सक्षम तथा आत्मनिर्भर वनाउन आवश्यक रणनीति एवं कार्यनितीहरुको तयारी एवं नितीगत निर्णय, 
  • संस्थाका रणनीतिलाई कार्यरुप दिन आर्थिक निर्णय गरी भविष्यको लागि वित्तीय योजनाको निर्माण 
  • वित्तिय विश्लेषणको आधारमा वित्तिय प्रक्षेपण र व्यवस्थापकिय दृष्टिकोण, 
  • सम्पूर्ण योजनाको प्रभावकारी कार्यान्वयनको लागि संस्थागत निर्णय, नीति निमार्णमा संसोधन एव पुनराअवलोकन तथा लागू , आदि । 

सहकारी एक सामाजिक उत्तरदायित्व रहेको व्यवसाय भएकोले, यसमा नाफा कमाउनु जरुरी छ र सो को सदुपयोगिता निकै महत्वपूर्ण र चुनौतिपूर्ण पनि हुन्छ । सहकारीले कमाउने नाफा सामाजीक नाफा हो किनकी यो नाफा एउटै व्यक्तिले नलिई समानुपातिक रुपमा लगानीको आधारमा सबै सदस्हरुमा वितरण गरीन्छ भने केहि अनुपात सामाजीक उत्तरदायित्व प्रति पनि खर्चिने गरिन्छ जसको मुख्य ध्येय भनेको नै समाजको आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय एवं चौतर्फि विकास गर्नु रहेको हुन्छ भने यो महामारीमा व्यवसाय निरन्तरता योजनामा भने नाफालाई भनदा पनि भएका उपलव्धिहरुको संस्थागत गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।  भनिन्छ, No Risk No Gain, Higher the Risk Higher the Return, No Business No Profit, आदि तर महामारीमा भएका उपलव्धिलाई संस्थागत गर्नु तथा जोगाउनु पनि महत्वपूर्ण हुन्छ । अतः सक्षेपमा सहकारीमा योजनाको महत्वपूर्ण भूमिका रहेको हुन्छ तर योजनामा अपेक्षीत क्रियाकलाप, रणनीति, कार्यनीति, वित्तिय अनुमान र विश्लेषण सहि हुनु पर्दछ । भनिन्छ 'If You Fail to Plan, You Plan to Fail' “यदि तपाई योजना वनाउन असफल हुनु भयो भने तपाई असफल हुन योजना वनाउंदै हुनुहुन्छ । सहकारी व्यवसायिक क्रियाकलाप भएकोले व्यवसायमा नाफा हुन्छ जसलाई प्रभावकारी कार्यान्वयन गर्न योजनाले सहयोग, एव उर्जा प्रदान गर्दछ त्यसैले सहकारीमा र योजनाको महत्व निम्न रहेको हुन्छः 

  • सुशासन, व्यवसायिकता, उत्थानसिलता र दिगोपनालाई सुनिश्च्तिता प्रदान गर्न, 
  • आर्थिक मितव्ययिता अपनाउन, समस्या समाधान गर्न, समयको प्रभावकारी प्रयोग गर्न, 
  • योजना, कार्यक्रमको स्थायीत्व (दीर्धायूपन) कायम राख्न, गतिविधिको क्रमीकरण गर्ने,
  • विश्वसनीयता बृद्धि गरी ख्याती कायम राख्न, 
  • स्थानीय श्रोत साधन र प्रविधिको उच्चतम परिचालन गरी सामाजिक विकासमा सहयोग पुर्याउन, 
  • निर्दिष्ट क्षेत्रका समुदायलाई सुविधा थप गर्न तथा सामुदायिक सहभागीताको विकास गर्न, 
  • समुदायमा असल संस्कृति, चेतना, आर्थिक तथा मानवश्रोतको विकास गर्न,
  • विकासमा सहयोग पुर्याउन, लक्ष्य प्राप्तिका लागि उत्तम विकल्प चयन गर्न,
  • व्यवसायिक विविधिकरण, बृद्धि र विस्तार गर्न, 
  • जोखिम न्यूनिकरण तथा गुणस्तर कायम गरी नाफा अधिकतम गर्न, 
  • संस्थागत सम्बन्ध, संञ्जाल कायम राखि आवश्यक सहयोग लिन तथा सोको निमित्त सम्बन्धित निकायमा योजना पेश गर्न, 
  • कुनै निर्दिष्ट उद्देश्य प्राप्त गर्न साथै भविष्य कतातिर डो¥याउने हो निश्चित गर्न तथा सफलताहरु हासिल गर्न,
  • विगतका कमीकमजोरी पत्ता लगाई आगामी दिनमा सुधार गर्न तथा सदस्यहरुको सन्तुष्टिमा बृद्धि गर्न,
  • समयको सदुुपयोग गरी उत्पादकत्व तथा कार्यसम्पादनमा बृद्धि गर्न, 
  • सहकारीका सबै पक्ष संञ्चालक, व्यवस्थापन तथा सदस्यहरुमा जिम्मेवारीको वोध गराउन, अािद । 

यस महामारीको अवस्थामा अवस्थामा सहकारी संस्थाको बैद्यानिक व्यवस्थापनका लागि भर्चुअल बैठक सम्पादन, दैनिक खाताबन्दी नियमितता , प्रबिधि मार्फत प्रतिवेदन, आ. ले. प.र वाह्य लेखा परिक्षण, कर दाखिला तथा कानुनी दायित्व, योजना तथा बजेट निर्माण जस्ता कुराहरु पनि महत्वपूर्ण मानिन्छ । यस अवस्था विश्लेषणमा संस्थाको आन्तरीक तथा बाह्य पक्षको साथमा संस्थाले भोग्दै आएको सकारात्मक तथा नकरात्मक पक्षको विश्लेषण गरिन्छ । जसमा चार वटा पक्षहरु सवल, कमजोर, अवसर र वाधाहरुको विश्लेषण गरिन्छ । चार्टमा देखाए जस्तै सवल पक्ष र कमजोर पक्ष सहकारीको आन्तरीक व्यवस्थापनमा भर पर्दछ यदि संस्थामा राम्रो व्यवस्थापन कौशलता छ भने सवल पक्ष धेरै हुने र कमजोर पक्ष कम हुने गर्दछ । कमजोर पक्षलाई पनि कुशल व्यवस्थापनबाट विस्तारै घटाउदै लैजान सकिन्छ भने अवसर र वाधा भने वाह्य पक्षबाट सृजित भएका हुन्छन् जसको लािग आन्तरीक व्यवस्थापनबाट  अलग हुन्छ तर अवसरको वाह्य पक्षबाट सृजित सकारात्मक पक्ष हो भने वाधा भने वाह्य पक्षबाट सृजित नकरात्मक पक्ष हो जुन संस्थाले चाहेर पनि हटाउन सक्दैन जस्तै कानून, नीतिगत व्यवस्था, प्रतिस्पर्धा, बजार तर क्रमशः प्रयत्न गर्दै अवसरको उपयोग र वाधाहरु हटाउन सकिन्छ । 

व्यवसाय निरन्तरता योजनामा पनि संस्थालाई सवल, फरक, नविनतम् तथा दिगो बनाउन अपनाईने चलाखी जसमा अवाकस (SWOT Analysis) विश्लेषण पश्च्यात् कमी भएका कुराहरुलाई सुर्धार्ने, सवल पक्षलाई निरन्तरता दिने, वाधाहरु पन्छाउदै जाने र अवसरहरुको सदुपयोग गर्ने तैरतरीका अपनाइन्छ । आफ्नो संस्थालाई अन्य संस्था भन्दा अलग एवं पृथक, सुदृण, सवल, प्रभावकारी बनाउने कला, थप सदस्यहरुलाई आर्कषित गर्न गरिने उपायहरु, संस्थामा भईरहेका सेवा सुविधालाई विस्तार तथा गुणस्तरीय बनाउने कौशलता यसमा उल्लेख गरिन्छ । जुन तयार गर्दा संस्थाको ध्येय, दुरदृष्टि, लक्ष्य, उद्देश्यका अनुरुप नै हुनुपर्दछ,  संस्थाको आन्तरीक क्षमता र वाह्य अवसरको आधारमा तयार गरिनु पर्दछ, संस्थाको कमि कमजोरी हटाउने तथा बाह्य चुनौति सामना गर्ने हुनु पर्दछ,  संचालन क्षमता र वित्तिय सक्षमता हासिल गर्ने हुनु पर्दछ, सकभर बढी भन्दा बढी सदस्यहरुलाई समेट्ने, विस्तार बृद्धि, गर्ने हुनु पर्दछ, नयाँ थप सेवा तथा सुविधाहरु विविधिकरण गर्ने हुनु पर्दछ, भईरहेको सेवा सुविधाहरुलाई गुणस्तरीय बनाउने कोशिस हुनुपर्दछ,  कार्यक्षेत्र विस्तार, नीति नियम परिमार्जनलाई समेत विश्लेषण गर्नु पर्दछ । 

योजनाले लक्षित गरेको क्रियाकलापहरुलाई हासिल गर्न बनाईने योजना संचालन योजना हो । संचालन योजनाले रणनीतिक योजनाले लक्षित गरेका उपलव्धीहरु हासिल गर्न के, कति काम कसरी गर्ने भन्ने विषयमा विस्तृत योजना बनाउंछ जसमा जिम्मेवारीको वाडफाड, बजेट विनियोजन, समयावधि, विस्तृत क्रियाकलापहरुको विश्लेषणात्मक योजना गरिएको हुन्छ । संचालन योजनालेः संस्थागत विकास (भौतिक पूर्वाधार, मानवसंसाधन, सूचना, प्रविधि, शिक्षा, चेतना, सामाजिक विकास, सुसाशन, मित्तव्यीता, प्रभावकारीता आदि..) मा सशत्तिकरण, सदस्यता बृद्धि, पंूजी बृद्धि, थप सेवाहरु (बचत, ऋण, अन्य) बृद्धि तथा विविधकरण, निति, निर्देशिकाहरु, दस्तावेजहरुको निमार्ण, बचत नीति तथा ऋण नीति, सदस्यता निित तथा संचालक समिति सम्बन्धि नीति, आन्तरीक नियन्त्रण तथा लेखा व्यवस्थापन नीति, प्रशासनीक तथा कर्मचारी नीति, निर्देशिका, निवार्चन सम्बन्धि नीति,  समन्वय तथा संञ्जाल विस्तार, जोखिम न्यूनिकरण तथा गुणस्तर सुनिश्चितता सम्बन्धि क्रियाकलापहरु जस्ता क्षेत्रहरु समेट्ने गर्दछ जसको लक्ष्य सदस्यहरुको संन्तुष्ठि नै मुख्यरुपमा हुने गर्दछ जसको लागि प्रविधि मैत्रि गतिविधिमा भने विशेष जोड दिनु पर्ने हुन्छ । 

सहकारी सदस्यहरुका लागि सदस्यहरुद्धारा संञ्चालित र नियन्त्रीत व्यवसाय भएकोले नाफाको सृजना र नाफालाई सामाजीक उत्तरदायी एवं समानुपाति रुपले वित्तरण हुनु आवश्यक छ भने महामारीको समयमा भने नाफा भन्दा पनि बढी सुरक्षालाई बढी प्रत्याभुत गर्नु पर्ने हुन्छ । सहकारीको आधार र नैतिक मुल्य स्थापित गदै सहकारीको सिद्धान्तप्रति बफादार हुनु सहकारी कर्मीहरु सदस्यहरुको संन्तुष्ठि र समुदायिक हितको लागि केन्द्रित हुन समेत जरुरी छ । नाफा अधिकतम गर्न तथा अपेक्षित लक्ष्य हासिल गर्न रणनैतिक एवं व्यवसायिक योजना महत्वपूर्ण औजारको रुपमा लिन सकिन्छ । नाफालाई मात्र केन्द्रविन्दु नबनाई संस्थामा आवद्ध जनसमुदाय, कर्मचारी, संञ्चालक तथा वातावरणीय र समग्र संस्थागत हित र दिगोपना पनि सग सगै हेरिनु पर्ने क्षेत्र हुन । रणनैतिक एवं व्यवसायिक योजनाको अलवा व्यवसाय निरन्तरता योजना निमार्ण गर्दा माथि उल्लेखित कुराहरुको विश्लेषण तथा चरणहरुको ध्यान दिन उपयुक्त हुन्छ जसको लागि सबै क्षेत्रको सहभागिता वाञ्चनिय देखिन्छ । यदि सहि योजनाको कल्पना गर्न सकिएमा सहकारीको चौतफि विकास एवं विस्तार सम्भव छ । सहकारीले भावि दिनमा हुनसक्ने सफलता आज नै थाहा हुने भएकोले संस्थागत उत्प्रेरणा पनि रणनैतिक एवं व्यवसायिक योजनाबाट प्राप्त हुन्छ । अतः सम्पूर्ण सहकारी संस्थाहरुलाई व्यवसायिक योजना तयार गरी, संचालर्क समितिको निर्णय एवं साधारण सभाबाट अनुमोदन गराई नीतिगत रुपमा लागू गर्नको लागि एवं समयानुकुल आवाधिक रुपमा पुर्नसंसोधन तथा अध्यावद्यिक गर्न सकिएमा सम्पूर्ण संघ, सहकारी तथा सहकारीकर्मीहरुको सहकारी अभियान सार्थक हुने कुरामा दुईमत छैन् जसलाई नेपाल सरकारले ल्याएको अनुकुल नीति तथा कार्यक्रम, सहकारीकरण बृद्धि, अन्तराष्ट्रिय संञ्जाल र सहयोगले समेत थप पुष्टि गरेको देखिन्छ जसको सदुपयोग गरी सम्पूर्ण सहकारीहरु व्यवसायीकरण भई उत्पादनमुखी कार्यमा  जागरुप भई दिगो विकास लक्ष्य प्राीप्त प्रति अग्रसर हुनु सबै अभियानकर्मीहरु एकजुट हुनु जरुरी भइसकेको छ त्यसको लागि नेफ्स्कून पनि यस बर्षको नारा सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्य भनेको छ, जसमा यस प्रकारको महामारीबाट बच्त समग्र संञ्जालमा आवद्धता, साझा संञ्जाल तथा अपनत्व आवश्यक छ  यस अवस्थामा महामारीको समयमा संचालक समिति र व्यवस्थापनको भुमिका पनि सहयोगी, सदस्य मैत्री, सम्बाद मैत्री, सञ्चार मैत्री, संवेदनशिल, सहकार्य, संयोजनकारी, संरक्षक, सबैको विस्वास योग्य, सही निर्णायक, स्वास्थ्य र सुरक्षित जस्ता क्षेत्रलाई पनि सबै पक्षले आत्मसाथ गरी व्यवसाय निरन्तरता योजनाको निमार्ण र कार्यान्वयन गरी अघि बढ्न सकिएको खण्डमा सहकारीको दिगोपना तथा महामारीको प्रतिकार गर्न प्रायः सम्भवभ देखिन्छ ।