कोरोना महामारीमा सहकारी अभियानको भूमिका

कोरोना महामारीमा सहकारी अभियानको भूमिका
बिचार/दृष्टिकोण | 2021-05-21 Share

बलराम निरौला
सहकारी रजिष्ट्रार, प्रदेश नं. १

व्यवसायमा सामाजिक उत्तरदायित्व

प्रत्येक व्यवसायका लागि सामाजिक उत्तरदायित्व यसको दिगोपनसंग जोडिएको हुन्छ । समुदायका सरोकारवाला व्यक्तिहरु, कर्मचारी÷मजदुरहरु तथा ग्राहकहरुलाई महत्वपूर्ण योगदान पुर्‍याएर सो को माध्यमबाट व्यवसायमा दिगोपन हासिल गरि लगानीकर्ताहरुको नाफामा वृद्धि गर्नका लागि नाफामुखी व्यवसायहरुले सामाजिक उत्तरदायित्वलाई महत्व दिएका हुन्छन् । सामाजिक उत्तरदायित्वको माध्यमबाट आर्थिक उपलब्धि संगसंगै समुदायलाई समृद्धितर्फ लैजाने समेत सोच राखिएको हुन्छ ।

व्यवसायमा सामाजिक उत्तरदायित्वको वहस पैरवी गर्ने क्रममा एकथरीले सामाजिक उत्तरदायित्वको माध्यमबाट व्यवसायको बजार लगायत समग्र अवस्थामा अधिकाधिक सुधार हुनुपर्दछ  र यसले लागनीकर्ताको प्रतिफल अधिक गर्नुपर्दछ भन्छन् भने अर्काथरीले सामाजिक उत्तरदायित्वको माध्यमबाट व्यवसायले सम्वन्धित सरोकारवाला र समुदायको अधिकतम् हित हुने कार्यहरु गरि समुदायलाई समृद्ध बनाउनुपर्छ भन्ने गर्दछन् । दुईथरीका बीचमा व्यवसायको आर्थिक अवस्थामा वृद्धि संगसंगै समुदाय र वातावरणको अवस्थामा सुधार गर्दै दिगो विकासतर्फ सन्तुलित भएर जानुपर्छ भन्ने धार पनि अस्तित्वमा रहेको छ । 

यस अवस्थामा सामाजिक उत्तरदायित्वको स्वरुप सम्वन्धमा तेस्रो धारले गरेको वहस पैरवी महत्वपूर्ण मान्न सकिन्छ । जस अनुसार सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा एउटा व्यवसयिक संगठनले स्वस्फूर्तरुपमा समुदायको सामाजिक, कल्याणकारी तथा वातावरणीय क्षेत्रका विभिन्न पक्षाहरुमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा लिएर कार्य सम्पादन गर्दछ । व्यवसाय र व्यवसाय संचालन हुने क्षेत्रको विकासका लागि उच्च तहको संलग्नता सहित समुदायमा सकारात्मक योगदान पु¥याई समाजका चुनौतीहरुहरुको स्थानीय समुदायसंग मिलेर सामना गर्दै सुन्दर समाजको निर्माणका साथै व्यवसायको वजार विस्तार समेतका लागि सामाजिक उत्तरदायित्वको महत्वपूर्ण भूमिका रहन्छ । यसले समुदाय र व्यवसाय दुवै पक्षलाई प्रभावकारीरुपमा फाइदा पुर्याउन मदत गर्दछ । 

व्यवसायिक संगठनहरुले निम्न क्षेत्रहरुमा काम गरी सामाजिक उत्तरदायित्व वहन गर्न सक्दछन् :

१. वातावरणमा कार्वन उत्सर्जन कम गर्ने खालका क्रियाकलाप (Reducing Carbon Footprints)
२. श्रमिक नीतिमा सुधार (Improving Labor Policies)
३. स्वच्छ व्यापार (Fair Trade)
४. आर्थिक सहयोग (Charitable Giving)
५. समुदायमा स्वयमसेवा (Volunteering In the Community)
६. स्वच्छ वातावरणलाई सहयोग पुग्ने नीति/क्रियाकलापहरु (Policies that Benefits the Environment)
७. आर्थिक र सामाजिक सचेतना सहितको लगानी (Socially and Economically Conscious Investments)  

सहकारी व्यवसायमा सामाजिक उत्तरदायित्व 

समान उद्देश्य भएका व्यक्तिहरुले पारस्पारिक सहयोग आदानप्रदानको माध्यमबाट आफैंले पूँजी निर्माण गरी आफ्ना आर्थिक तथा सामाजिक उद्देश्यहरु पूरा गर्न गरिने व्यवसायिक क्रियाकलाप नै सहकारी हो । सहकारी व्यवसाय गर्ने विशेष विधिको रुपमा अन्तर्राष्ट्रिय रुपमा स्थापित पद्धति हो । सहकारी व्यवसाय निश्चित समुदायका व्यक्तिहरुले पारस्पिरकताका आधारमा संचालन गर्ने भएकाले यो व्यवसाय आफैंमा सामाजिक व्यवसाय हो । 

सहकारी व्यवसायले समाजलाई अहित हुने गरि व्यवसाय गर्न नहुने, मानवीय हिसावले समुदायका सबै व्यक्तिहरुलाई विभेद नगरी समान व्यवहार गर्नुपर्ने, आफ्नो खुद बचतको एउटा हिस्सा अनिवार्यरुपमा सामाजिक क्षेत्रमा लगानी गर्नुपर्ने, जगेडा कोष मार्फत् सामाजिक पूँजी निर्माण गर्नुपर्ने, शोषणरहित आर्थिक सम्वन्ध कायम गराई शोषणविहीन समाज निर्माण गर्नुपर्ने लगायतका विषयहरु सहकारी संस्थाको सामाजिक उत्तरदायित्व भित्र पर्दछन् । उल्लेखित कुराहरुबाट के स्पष्ट हुन्छ भने समुदाय र सहकारी एक अर्काका परिपूरक हुन् । समाजबाट नै सहकारीको जन्म हुन्छ र समृद्ध समाज निर्मणको लागि सहकारी व्यवसायको भूमिका महत्वपूर्ण हुन्छ भन्ने विषयलाई महत्वपूर्ण रुपमा हेर्नुपर्ने हुन्छ । 

यसै मेसोमा सहकारी व्यवसायमा सामाजिक उत्तरदायित्वको स्वरुप कस्तो हुने भन्ने विषयमा पनि चर्चा चलाउनु आवश्यक देखिएको छ । सहकारी व्यवसायले व्यवसायिकरुपमा सदस्यको पेशा व्यवसायलाई वजारसंग जोड्ने (उत्पादन, वजारिकरण र उपभोगमा) माध्यमको रुपमा काम गर्दछ । यस व्यवसायमा सदस्यको आर्थिक र सामाजिक आयाममा सामाजिक उत्तरदायित्वको स्वरुपको पहिचान गर्नु पर्दछ जसबाट सदस्यहरुले आफ्नो आर्थिक तथा सामाजिक आकाँक्षाहरु पूरा गर्न सकुन् ।

सहकारी व्यवसाय संचालनका आफ्नै मूल्य, मान्यता र सिद्धान्तहरु छन् र समाजप्रतिको उत्तरदायित्व सहकारी व्यवसायको अभिन्न अंगको रुपमा रहेको हुन्छ । केही सैद्धान्तिक मार्गदर्शन वाहेक अन्य विषयमा हेर्ने हो भने सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक, मानवीय÷कल्याणकारी तथा वातावरणीय कार्यहरु सम्पादन गरिने भएकाले सहकारी र गैर सहकारी व्यवसायको सामाजिक उत्तरदायित्व फरक फरक हुन सक्दैन । तापिन सहकारी व्यवसाय सदस्य केन्द्रित व्यवसाय भएको हुँदा यसले सदस्यको एकदमै नजिक रहेर सदस्यकै निर्णय बमोजिम यस्ता क्रियाकलापहरु संचालन गर्दछ । 

हालको विषम अवस्था र सहकारी अभियानको भूमिका 

विद्यमान अवस्थामा मानवीय इतिहासमा नै हालसम्म नभोगेको विपत्ति विश्व समुदायले भोग्दै आएको छ । विगत डेढ वर्षको अवधिदेखि विश्व निरन्तर रुपमा कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको छ र यस महामारीबाट आफ्ना नागरिकहरुको कसरी रक्षा गर्ने भन्ने विषयमा विश्वका सबै राष्ट्रहरु तल्लीन भएको अवस्था छ । यो आलेख तयार गर्दा सम्म विश्वका १६ करोड ५५ लाख ८९ हजार मानिसहरु यस भाइरसबाट संक्रमति भएको र ३४ लाख ३२ हजार जनाको मृत्यु भइसकेको अवस्था छ । नेपालमा पनि स्थिति भयावह नै बनेको छ । हालसम्म नेपालका  ४ लाख ८० हजार मानिसहरु यस भाइरसबाट संक्रमति भएको र  ५६५७ जनाको मृत्यु भइसकेको अवस्था छ ।

भाइरस संक्रमितहरु होम आइसोलेशनका साथै संस्थागत आइशोलेशनमा रहेको र यो रोगबाट संक्रमण हुनेहरुका लागि छुट्याएर राख्ने तथा उपचार गर्ने स्थान र वेडहरु, श्वास प्रश्वासमा समस्या हुँदा उपलव्ध गराउनुपर्ने अक्सिजन तथा भेन्टिलेटरहरु प्रर्याप्त नभएका कारण कतिपय संक्रमितहरुले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आई ठूलो मानवीय संकटको अवस्था नेपाली समाजले भोग्दै आएको अवस्था छ ।यसका साथै खाद्यान्न संगसंगै तरकारी र फलफूल लगायतका उपभोग्य वस्तुहरुको आपूर्तिमा असहजता, सर्वसाधारण उपभोक्ताहरुले उचित मूल्यमा सही तौल र गुणस्तरको वस्तु नपाई ठगिन गएको अवस्था, रोजगारीमा ह्रास आएको अवस्था लगायतका चुनौतीहरु समेत हामी वीच विद्यमान रहेको अवस्था छ । 

यस विषम परिस्थितिमा हालको मानवीय संकट समाधानका उपायहरु के के हुनसक्दछन् र सामाजिक उत्तरदायित्व सहितको सहकारी अभियानको संङ्कट समाधानमा के भूमिका हुन सक्दछ भन्ने विषयमा यहाँ चर्चा गर्ने कोशिस गरिएको छ ।हालको महामारीबाट संक्रमित नागरिकहरुको उपचार र उपचारसंग सम्वन्धित सेवा सुविधा प्रभावकारी रुपमा उपलव्ध गराउन तथा उत्पादन, वजार, उपभोग र रोजगारीमा सहयोग पुर्याउनका लागि तत्काल र दीर्घकालमा सहकारी अभियानले निम्न क्रियाकलापहरु गरी सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने भएको छ ।

क. तत्कालीन भूमिका

१. जनचेतना जगाउने सम्वन्धि कार्य गर्ने

हाल देखिएको महामारीमा सर्वसाधारण सबैले विशेष स्वास्थ सुरक्षा सम्वन्धी मापदण्डहरु अपनाएर बस्नुपर्ने अवस्था छ। नयाँ भेरिएन्ट सहितको कोरोना भाइरसको फैलावटको श्रृंखला भंग गरी यसको फैलावटलाई रोक्न भिडभाडमा नजाने, साबुनपानीले नियमित हात धुने, सेनिटाजर प्रयोग गर्ने, मास्क लगाउने, संक्रमणको लक्षण देखिएमा वा शंका लागेमा चेक जाँच गराई छुट्टै वस्न तथा संक्रमणको अवस्थामा समेत विशेष स्वास्थ्य सावधानी अपाउने कार्यहरु गर्नुपर्ने हुन्छ । कतिपय स्थानमा यी कार्यहरु गर्नका लागि सर्वसाधारण जनतामा अझै चेतना नपुगेको तथा उपयुक्त हात धुने स्थानको व्यवस्था तथा स्यानिटाइजर र मास्कको व्यवस्था समेत गर्न नसकेको अवस्था रहेको छ । यस्तो अवस्थामा सहकारी अभियानले स्वस्फूर्त रुपमा सम्वन्धित निकायसंग समन्वय गरी जनचेतना जगाउने खालका क्रियाकलापहरु तथा मास्क स्यानिटाइजर र सफाई सामाग्रीहरुको वितरण समेतका कार्यहरु गरी सदस्यहरु र समुदायका अन्य व्यक्तिहरुलाई रोगबाट संक्रमित हुने जोखिमलाई कम गर्न सक्दछ ।  

२. जाँच शिविर संचालन तथा आइशोलेसन सेवा

कोरोना संक्रमणको लक्षण देखिएका सदस्य तथा सर्वसाधारणहरुलाई आवश्यक प्रयोगशाला परीक्षण गर्ने गराउने कार्यमा पनि सहकारी संघ संस्थाहरुले आवश्यक समन्वय गरी छिटो छरितो र सहुलियत दरमा चेकजाँच गराई सदस्य तथा समुदायलाई सहयोग पुर्याउन सक्दछन् । यसका साथै होम आइशेलेशनमा बस्न समस्या भएका संक्रमितहरुलाई आफ्नै पहलमा संस्थागत आइशोलेशन निर्माण गरी राख्ने तथा संक्रमितको स्वास्थ्य अवस्था हेरी सुविधा सम्पन्न अस्पतालमा लैजान समेत सहयोग गर्न सक्दछन् ।

३. अक्सिजन र एम्वुलेन्स सेवाको व्यवस्था 

अहिलेको अवस्थामा अक्सिजनको चरम अभाव देखिएको र अक्सिजन नपाएर कोभिडका विरामीहरुको मृत्यु भइरहेको दर्दनाक अवस्था हामी सामु रहेको छ । यस अवस्थामा सहकारी अभियानले तत्कालका लागि सामुहिक कोष खडा गरी सो कोषको माध्यमबाट अक्सिजन र सिलिण्डर व्यवस्थापन गरी ठूलो पूण्यको काम गर्न सक्दछ भने दीर्घकालमा व्यवसायिक रुपमा अक्सिजन प्लाण्ट आफैंले स्थापना गरी भविष्यमा आउन सक्ने अक्सिजन संकटको सामाना गर्न समुचित व्यवस्था गर्न सक्दछ । 

यसैगरी संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको अवस्थामा यसको असर एम्बुलेन्स सेवाको नियमिततामा समेत पर्न गएकोले सहकारी अभियानसंग भएका एम्बुलेन्स लगायतका सवारी सधानहरु तथा समुदायमा भएका अन्य एम्वुलेन्स लगायतका सवारी साधनहरु संक्रमित व्यक्तिहरुको ओसारपसारमा नियमित र समान रुपमा उपलव्ध गराउने कार्यमा समेत सहकारी अभियानको महत्वपूर्ण भूमिका हुने देखिन्छ । 

४. खाना तथा राहत सामाग्री व्यवस्थापन

हालको अवस्थामा निरन्तरको निषेधाज्ञाबाट सामान्य जनजीवन प्रभावित भएको छ ।जथाभावी खान नहुने तथा होटलहरु नखुल्ने कारणबाट वाध्यतावश घर वाहिर निस्कनुपर्ने मानिसहरु,विशेषगरी विरामी कुरुवाहरु, सरसफाई मजदुरहरु तथा स्वास्थ्यकर्मीहरुले निश्चित समयमा स्वच्छ र पोषणयुक्त खाना खान नपाएको अवस्था छ । यस्तो अवस्थामा यस्ता व्यक्तिहरुलाई लक्ष्यित गरी निश्चित स्थानहरुमा खाना उपलव्ध गराउने व्यवस्था गर्न सकिन्छ । यसैगरी वन्दका कारण रोजगारी गुमाएका दैनिक रोजगारी गरी जीविकोपार्जन गर्ने श्रमिकहरुलाई तत्कालका लागि जीवन यापन गर्न खाद्यान्न लगायतका राहत सामाग्रीहरु उपलव्ध गराउन समेत सहकारी अभियानको भूमिका हुने देखिन्छ । 
 

ख. दीर्घकालीन भूमिका

१. श्रमिक सहकारीको माध्यमबाट रोजगारी सृजना गर्ने 

कोरोना महामारीबाट विश्व अर्थतन्त्रमा गम्भीर असर परिरहेको वर्तमान अवस्थामा रोजगारीको अवसर गुम्ने तथा नयाँ रोजगारी सृजना हुन नसक्ने अवस्था रहेको छ र यसबाट निम्न आय वर्गमा पर्ने श्रमिकहरु बढी प्रभावित हुने अवस्था देखिएको छ । तसर्थ श्रमिक वर्गलाई दीगो रोजगारीको अवसर प्रदान गर्नका लागि अव यस्ता श्रमिकहरुको सहभिगतामा श्रम सहकारी गठन गरेर उत्पादन ,वजार, उपभोग र रोजगारीमूलक कार्यमा मजदुर स्वयंलाई नै क्रियाशील गर्नुपर्ने अवस्था आएको छ ।

नेपाल कृषि प्रधान देश भएकाले वेरोजगार श्रमिकहरुको श्रम सहकारी गठन गर्ने, सरकारी, संस्थागत तथा निजी जमीनहरु लीजमा त्यस्ता सहकारीहरुले लिने र श्रमिक सदस्यहरुले खेती गरी उत्पादन अनि वजारिकरण गरियो भने श्रमिकले रोजागरीको अवसर पनि पाउने तथा खाद्यान्न, तरकारी तथा फलफूल दुग्ध पदार्थ लगायतका अत्यावश्यक उपभोग्य वस्तुहरुको आपूर्ति आन्तरिक रुपमा नै गर्न सकिन्छ ।

यसैगरी विभिन्न क्षेत्रका दक्ष, अर्धदक्ष तथा अदक्ष श्रमिकहरुलाई सहकारी मार्फत् संगठित गरी आ आफ्नो क्षेत्रको रोजगारमूलक कार्यमा संलग्न गराई रोजागरीको समस्यालाई समाधान गर्न सकिन्छ । श्रमिकहरुलाई संगठित गर्ने, श्रमिक सहकारीको अवधारणा र फाइदा बारे अमिमुखिकरण गर्ने गराउने, गठन र दर्ता प्रक्रियमा सहजीकरणा गर्ने, पूर्वाधार उपलव्ध गराउन सहजीरकण गर्ने, प्रारम्भिक चरणमा वीउ पूँजी उपलव्ध गराउने लगायतका कार्यहरुमा वर्तमान सहकारी अभियानले भूमिका खेल्न सक्दछ । 

२. कोभिड अस्पताल संचालन गर्ने

यो महामारी कहिलेसम्म चल्ने हो भन्ने अनिश्चित छ । भोलि आज देखिए भन्दा पनि ठूलो समस्या मानव समाजले भोग्नुपर्ने अवस्था पनि आउन सक्दछ । श्वास फेर्न अक्सिजन तथा उपचारको लागि अस्पतालको वेड नै नपाई मानिसको मृत्यु हुनु सारै विडम्वनाको कुरा हो । तसर्थ अव दीर्घकालमा यो महामारीसंग जुध्नका लागि सहकारी अभियानले पनि ठोस पूर्वाधार विकास गरेर जानुपर्छ । अव सहकारी अभियानले नै जनसंख्या र अभियानको आफ्नो क्षमतालाई समेत मध्यनजर गरी विभिन्न स्थानहरुमा कोविडको उपचारका लागि अस्पताल संचालन गर्नुपर्छ । यस्तो अस्पतालहरु सम्वन्धित क्षेत्रका सहकारीहरु मिली विशिष्टिकृत सहकारी संघको मोडलमा खोलेर संचालन गर्न सक्दछन् । अस्पतालसंगै अक्सिजन प्लान्टको समेत व्यवस्था गरी अक्सिजन आपूर्तिलाई समेत सहज बनाउने गरी भरसक लागत मूल्यमा नै अस्पालबाट सेवा दिन सकियो भने मानवीय क्षेत्रमा ठूलो पूण्यको काम हुने देखिन्छ । यस्तो उद्देश्यले दर्ता हुन आउने विशिष्टिकृत सहकारी संघहरुलाई सरल दर्ता प्रक्रिया अपनाई संक्षिप्त विधिबाट दर्ता गरिदिने तथा स्वीकृतिका अन्य प्रक्रियाहरु समेत सरल बनाइदिनु पर्छ ।  

३. उत्पादन र वितरण क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु तथा सुपथ मूल्यका उपभोक्ता पसलहरु संचालन गर्ने 

महामारीको समयमा उत्पादन र वितरणमा दीगोपन ल्याउने कार्य सबैभन्दा महत्वपूर्ण छ । आज उत्पादक वर्ग विशेषगरी किसानहरुले उत्पादनमा र वजारीकरणमा दीगो सहयोग खोजिरहेको अवस्था छ भने उपभोक्ताहरुले गुणस्तरीय वस्तु उपभोग गर्ने वातावरण खोजिरहेका छन् । यी दुवै थरीको चाहना बमोजिमको कार्य सहकारी मार्फत् सम्भव हुन्छ ।

उत्पादक सहकारीहरुले उत्पादनका साधनहरु सामुहिकताको माध्यमबाट सहज रुपमा उपलव्ध गराई सदस्यको उत्पादनमा वृद्धि गराउने तथा उपभोक्ता सहकारीहरुले उत्पादक सहकारीबाट उत्पादित वस्तु उपभोक्ता सम्म पुर्याउने गरी कार्य गर्दा उत्पादन र वजारको श्रृङ्खला आन्तरिक रुपमा नै सृजना भई दीगो सहकारी वजारको विकास हुन जान्छ र यसबाट सबै पक्षले फाइदा पाउने अवस्था हुन्छ । त्यसैगरी सुपथ मूल्यका सहकारी पसलहरु ठाउँ ठाउँमा खोली सहकारी अभियानले आपूर्ति प्रणालीलाई सहज बनाउने कार्य गर्नुपर्दछ ।

अन्त्यमा 

सहकारी व्यवसाय सामाजिक उत्तरदायित्व सहितको व्यवसाय हो । सदस्यको जीवनस्तर उकास्नुका साथै यसले सामुदायिक विकास र मानवीय कल्याणका कार्यहरुमा समेत उत्तिकै सहभागिता जनाउनु पर्दछ । समुदायमा स्वयंसेवा, आर्थिक सहयोग, सामाजिक पूर्वाधारको विकास, अन्य कल्याणकारी कार्यहरु लगायत वातावरण सन्तुलनसंग सम्वन्धित कार्यहरुका साथसाथै स्वच्छ व्यापार समेतका कार्यहरुबाट सहकारीले समुदायप्रतिको उत्तरदायित्व वहन गर्न सक्दछ । हाल नेपाल लगायत विश्व नै मानवीय इतिहासमा नै यसअघि नदेखिएको महामारीको संकटबाट गुज्रिरहेको अवस्थामा सहकारी अभियानको दायित्व अझ बढेर गएको छ ।

तसर्थ सहकारी अभियानले तत्कालका लागि स्वस्फूर्त पहलमा महामारी प्रति सजगता र बच्ने उपायहरुको बारेमा सचेत गराउने, संक्रमितहरुलाई तत्काल उपचार र आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था, पीडित वर्गलाई राहतको व्यवस्था गर्ने लगायतका कार्यहरु गर्नुपर्छ । दीर्घकालमा व्यवसायिकरुपमा नै दिगो र भरपर्दो स्वास्थ्य उपचार सेवा तथा उत्पादन, बजार, उपभोग र रोजगारीमूलक कार्यहरु संचालन गरी महामारीसंग जुध्ने क्षमताको विकास गर्न आवश्यक देखिएको छ ।