सहारा नेपाल साकोसः एक चिनारी

सहारा नेपाल साकोसः एक चिनारी
संस्था परिचय | 2021-07-30 Share

परिचय

झापा जिल्लाको बिर्तामोड नगरपालिका–२ चारपानेमा केन्द्रीय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी ऐन, २०४८ अनुसार बचत तथा ऋण कारोबार गर्न स्थापना भएको संस्था हो । यो संस्था २०५२ चैत २१ गते जिल्ला सहकारी कार्यालय, चन्द्रगढीमा विधिवतरुपमा दर्ता भई सुरु गरिएको हो ।

यस संस्थाको स्थापनाको पृष्ठभूमि हेर्दा त्यस समयमा चारपाने क्षेत्रका अधिकांश साहु महाजनहरुले अत्याधिक चर्को ब्याजदरमाऋण लगानी गर्ने गरेका थिए । त्यसबेला चारपाने साने बजार भएका कारण एक हजारको नोट खुद्रा बनाउन पनि बिर्तामोड नै पुग्नुपर्ने अवस्था थियो । त्यस समयमा सर्वसाधारणले बैंकहरुबाट ऋण प्राप्त गर्नृ सक्ने अवस्था पनि थिएन । 

यस प्रकारको अवस्थालाई सम्बोधन गर्ने सोचाई अनुरुप नरनाथ गिरी, महेन्द्र गिरी, दुर्गा भण्डारी लगायतका साथीहरुको अगुवाईमा काठमाडौंमा छलफल गरि सहकारी संस्था स्थापना गर्नुपर्छ भन्ने अवधारणा बन्यो । यही अनुरुप २०५२ साल फागुन ११ गतेको प्रारम्भिक भेलाले संस्थाको नाम ‘सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ नामाकरण गरि संस्था स्थापना भएको हो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा आवद्ध रहेको यो संस्थाले ६ जिल्लाभरि कार्यक्षेत्र बनाई लघुवित्त कार्यक्रम, नवीकरणीय उर्जा, सामुदायिक विकास, कृषि लगायतका कार्यक्रमहरु संचालन गरिरहेको छ । 

परिकल्पना

समुदायमा आधारित दिगो, प्रतिस्पर्धी र उत्कृष्ट सहकारी संस्था ।

ध्येय

सहकारी सिद्धान्त अनुरुप गुणस्तरीय वित्तीय तथा गैर वित्तीय सेवामार्फत विपन्न सदस्यको आर्थिक जीवनस्तर उकास्ने सहकारी संस्था । 

वित्तीय अवस्था

आर्थिक वर्ष २०७६/०७७ को अन्त्य सम्ममा संस्थामा १ लाख ४३ हजार ९ सय ८३ जना सदस्य आवद्ध बनेका छन् । सो अवधिमा संस्थाको शेयर पुँजी १ अर्ब ३४ करोड ९१ लाख ९८ हजार र बचत संकलन ६ अर्ब १० करोड ९४ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । यसैगरी जगेडा कोषमा ७७ करोड ९६ लाख ५४ हजार रुपैयाँ संचय भएको संस्थाले ७ अर्ब ३५ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाले गत आर्थिक वर्षमा राज्यलाई १ करोड २८ लाख ८० हजार आयकर बुझाएपछि २५ करोड ९ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । 

सामाजिक सुरक्षा

संस्थाले सदस्यहरुको हितका लागि विभिन्न सामाजिक सुरक्षा योजना संचालन गरेको छ । सदस्य पोषण भत्ता कार्यक्रम अन्तर्गत ज्येष्ठ सदस्यलाई पोषणयुक्त खानपानका लागि वार्षिकरुपमा ६ हजार रुपैयाँ सहयोग गर्दै आएको संस्थाले ज्येष्ठ सदस्य सम्मान भत्ता वापत ७० वर्ष उमेर पुरा गरेका ज्येष्ठ सदस्यलाई वार्षिक ८ हजार र ८१ वर्ष उमेर पुगेका ज्येष्ठ सदस्यलाई वार्षिक १० हजार रुपैयाँ भत्ता दिने गरेको छ । यसैगरी ज्येष्ठ सदस्यहरुको दीर्घजीवनको कामना गर्दै ८६ वर्ष देखि ९९ वर्ष सम्मका सदस्यहरुलाई दीर्घायु सदस्य भत्ता स्वरुप २५ हजार रुपैयाँ प्रदान गर्ने गरेको छ । संस्थाले श्रीमानको मृत्यु भई एकल जीवन बिताईरहेका महिला सदस्यलाई वार्षिक ८ हजार र श्रीमतिको निधन भएर एकल जीवन बिताईरहेका पुरुष सदस्यलाई वार्षिक ६ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

स्वास्थ्य सेवा

संस्थाले संजिवनी कार्यक्रम अन्तर्गत नियमित औषधि सेवन गर्नुपर्ने उच्च रक्तचाप, सुगर, थाइराइड, कोलस्ट्रोल, युरिक एसिड, मुटु, मृगौला, दम, छारे रोग र कोलाइटीटिसका बिरामी सदस्यलाई ५० प्रतिशत सहयोग उपलब्ध गराउने भएको छ । घरदैलो स्वास्थ्य सेवा अन्तर्गत अस्पतालबाट शल्यकृया गरेर घर फर्केका सदस्यहरुको नियमित ड्रेसिङ्ग लगायतको प्राथमिक उपचार सेवा र सिनियर सिटीजन हेल्थ केयर अन्तर्गत ज्येष्ठ सदस्य तथा बृद्ध आमा बुबाहरु विरामी भई घरमा उपचार गर्नुपर्ने भएमा ह्वील चियर, अस्पताल बेड, कुर्सी, अक्सिजन दिने उपकरण निको भएपछि फिर्ता गर्नेगरि न्यूनतम शुल्कमा उपलब्ध गराउने भएको छ । यसैगरी संस्थाले सदस्यलाई सहुलियत सेवा प्रदान गर्न एक सुविधा सम्पन्न डाइग्नष्टिक सेन्टर स्थापना गर्नुका साथै सदस्यहरुको घरदैलोमा औषधि उपलब्ध गराउन अनलाईन फार्मेसी संचालन गर्ने भएको छ । एक सुविधा सम्पन्न एम्बुलेन्स खरिद गरि सञ्चालन गर्ने, साना तथा मझौला शल्यक्रिया, प्रसुती सेवा, दुर्घटना र विशेष रोगहरुमा निर्देशिका बमोजिम सुविधा प्रदान गर्नेभएको छ । महिला शेयर सदस्य सुत्केरी भएको अवस्थामा पहिलो दुई सन्तानसम्म दुई हजार रुपैयाँ बराबरको पोषण सामग्री उपलब्ध गराउने भएको छ ।

लक्ष्य

–संस्थाको कार्यक्षेत्र भित्र रहेका सम्पूर्ण स्थानीय तहका सबै वडाहरुमा सेवा विस्तार गरि ५ लाख सदस्य पु¥याउन यो वर्ष १ लाख ६० हजार सदस्य पुर्‍याउने,
–संस्थाको कार्यक्षेत्र भित्र रहेका कूल परिवार संख्याको ४० प्रतिशत परिवारमा वित्तीय सेवा पुर्‍याउने,
–संस्थाको शेयर पुँजी १ अर्व ५० करोड, बचत ९ अर्ब ५० करोड र ऋण लगानी ९ अर्ब पुर्‍याउने,
–विभिन्न प्रकारका कर्जा सेवा उपलब्ध गराउन बाह्य लगानीकर्ता संस्थाबाट १ अर्ब ऋण लिने,
–संस्थाको दिगोपनाका लागि कोषलाई वृद्धि गरि १ अर्ब पुर्‍याउने,
–संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई सामाजिक सुरक्षा योजना अन्तर्गतका सेवा उपलब्ध गराउने,
–सम्पूर्ण शेयर सदस्यहरुमध्येबाट २० प्रतिशत सदस्यलाई जीवन उपयोगी सिप उपलब्ध गराउने,
–संस्थाको ऋण असुलीलाई शतप्रतिशत कायम राख्दै संचालन वित्तीय स्वःसक्षमतालाई वृद्धि गर्दै लाने,
–संस्थाले प्रदान गरेका सेवाहरुबाट आफ्ना सदस्यहरुको जीवनस्तरमा क्रमिक सुधार ल्याउने ।