अतिरिक्त शुल्क माग्ने सहकारीमा सदस्य नबन्न रजिष्ट्रार कार्यालयको सुझाव

अतिरिक्त शुल्क माग्ने सहकारीमा सदस्य नबन्न रजिष्ट्रार कार्यालयको सुझाव
समाचार | 2021-09-17 Share

इटहरी । प्रदेश नं. १ सहकारी रजिष्ट्रार कार्यालयले सर्वसाधारण र सहकारी संस्थाका सदस्यहरुका लागि सचेतनामूलक सूचना जारी गरेको छ । 

कार्यालयले सर्वसाधारणलाई आफू बसोबास गरेको क्षेत्र संस्थाको कार्यक्षेत्र भित्र पर्छ कि पर्दैन भन्ने बुझेरमात्र सदस्य बन्न र कारोबार गर्न सचेत गरेको हो । 

संस्था समुदायमा आधारित हो वा होइन? संस्थाका संचालकहरु आफूले चिनेजानेका व्यक्तिहरु हुन कि होईनन् ? संस्थाले साधारण सभामा सबै सदस्यहरुलाई सहभागी गराएर छलफल गर्ने गरेको छ छैन ? सदस्यको सुझावलाई लिने र कार्यान्वयन गर्ने गरेको छ छैन भन्ने कुरा सदस्यले राम्रोसँग बुझ्नुपर्ने कायार्लयले जनाएको छ । 

यसैगरी संस्थाले नाम अनुसारको मुख्य कारोबार गरेको छ, छैन भन्ने बुझेर आफूले लिने सेवा प्रति सचेत रहेर कारोबार गर्न सुझाव दिएको छ । कार्यालयले नियामक निकायसंग सम्पर्क नगर्ने, प्रतिवेदन पेश नगर्ने र अपारदर्शी ढंगले कारोबार गर्ने संस्थासंग कारोबार नगर्न सचेत गराएको छ । 

सहकारीमा एक कित्ता शेयर खरिद गर्ने सदस्यको पनि अन्य सबै सदस्य सरह समान अधिकार हुने भएकाले संस्थाले शेयरको आधारमा सदस्यलाई विभेद गरेमा संस्थामा कुरा उठाउन र सुनुवाई नभएमा रजिष्ट्रार कार्यालयमा लिखित उजुरी दिन सुझाव दिईएको छ ।  

यस्तै सहकारी संस्थाले ऋण लगानी गर्दा १४ दशमलव ७५ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने व्यवस्था रहेकाले सन्दर्भ व्याजदर भन्दा बढी ब्याज नतिर्न, कर्जाको किस्ता तिरेपछि घट्दो दरमा ब्याज तिर्न र ब्याजलाई साँवामा जोडी पुनःसाँवा कायम गरी ब्याज मागे नतिर्न र सो बमोजिम संस्थाले नगरेमा प्रमाण सहित कार्यालयमा उजुरी गर्न भनिएको छ । 

यसैगरी केही सहकारीले सदस्यता दिने समयमा शेयर पुँजी र प्रवेश शुल्क बाहेक जगेडा कोष, घरजग्गा खरिद कोष लगायतका अन्य विभिन्न अतिरिक्त शुल्क लिने, निश्चित समय सम्म मात्र सदस्यता खुला गर्ने लगायतका कानुन विपरितका काम गरिरहेको गुनासो आएको कार्यालयले जनाएको छ । 

कार्यालयले कुनै संस्थाले योग्यता पुगेर पनि कृत्रिम बन्देज खडा गरेर सदस्यता नदिएमा वा प्रवेश शुल्क बाहेक अतिरिक्त शुल्क माग गरेमा कार्यालयमा लिखित उजुरी दिन आग्रह गरेको छ ।