नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष ढकाल र सहकारी बैंकका सीईओ गुरागाईंलाई जनसेवा श्री पदक

नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष ढकाल र सहकारी बैंकका सीईओ गुरागाईंलाई जनसेवा श्री पदक
समाचार | 2021-09-20 Share

काठमाडौं । सरकारले यस वर्ष सहकारी अभियान सम्वद्ध दुई जनालाई जनसेवा श्री पदकबाट विभूषित गर्ने भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री गुरागाईंलाई जनसेवा श्री विभूषण प्रदान गर्ने निर्णय गरेको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा हिजो (असोज ३ गते) सहकारी अभियन्ता ढकाल र सीईओ गुरागाईंलाई सम्मान प्रदान गर्ने घोषणा गर्नुभएको हो । 

हरेक वर्ष नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिले संविधान दिवसको अवसरमा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएर विभूषणका लागि छनौट भएका व्यक्तिहरुको नामावली सार्वजनिक गर्ने प्रचलन छ । 

२०५० सालदेखि सहकारी क्षेत्रमा निरन्तर सेवारत ढकाल नेफ्स्कूनका प्रवक्ता समेत हुनुहुन्छ । राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालक समेत रहनुभएका उहाँ नेशनल कोअपरेटर्श एलाइन्स नेपालका महासचिव हुनुहुन्छ ।

सूचना चौतारी संचार सहकारी संस्था र उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकार रहनुभएका ढकाल विभिन्न सहकारीहरुमा स्वयंसेवी भूमिकामा आबद्ध हुनुहन्छ । विषेशगरी नेपालमा बचत तथा ऋण सहकारी अभियानको विकास र प्रवद्र्धनमा उहाँको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

यसैगरी २०७५ साल पुस ३ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत गुरागाई चार्टर्ड एकाउन्टेन्ट (सिए) समेत हुनुहुन्छ । उहाँ त्यसअघि बैंकमा नायव महाप्रवन्धकका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई बैंक तथा वित्तीय क्षेत्रबाट पदक प्रदान गर्ने घोषणा गरिएको हो ।

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गर्ने घोषणा गर्नुभएको हो । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति भण्डारीले  ती विभूषण प्रदान गर्ने घोषणा गर्नुभएको हो ।