शुभप्रवा सेभिङ्गको १२ औं वार्षिक साधारण सभा सम्पन्न, शेयर पुँजी १८ प्रतिशतले वृद्धि

शुभप्रवा सेभिङ्गको १२ औं वार्षिक साधारण सभा सम्पन्न, शेयर पुँजी १८ प्रतिशतले वृद्धि
समाचार | 2021-10-06 Share

काठमाडौं । चावहिल, चुच्चेपाटीमा प्रधान कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष विदुर बस्नेतको सभापतित्वमा असोज १६ गते आयोजित समारोह पूर्व अर्थमन्त्री रामशरण महतको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि महतले मुलुकमा रोजगारीको अवसर सिर्जना गरेर मानिसको आयस्तर वृद्धि गर्न र जीवनस्तर सुधार गर्न सहकारी महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।

मुलुकमा संचालित सहकारी संस्थाहरु मध्ये आधा संख्या बचत तथा ऋण सहकारीहरुको रहेको उल्लेख गर्दै उहाँले सहकारी कृषि, श्रमिक, कर्मचारी लगायतको क्षेत्रमा पनि जानुपर्ने आवश्यकता औंल्याउनुभयो । 

शुभप्रभा सेभिङ्गले सहकारी अभियानमा छुट्टै पहिचान बनाएकोमा सन्तुष्टि प्रकट गर्दै पूर्व अर्थमन्त्री महतले  १२ औं वार्षिक साधारण सभाको सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै संस्थाका अध्यक्ष बस्नेतले कोरोना भाईरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न जारी भएको निषेधाज्ञाको अवधिमा समेत सुरक्षाको मापदण्ड पालना गरेर कार्यालय संचालन गरेको बताउनुभयो ।

संस्थाले प्रवाह गर्ने सेवालाई आधुनिकीकरण तथा प्रविधिमैत्री बनाउँदै सदस्यलाई शुभप्रवा स्मार्ट एपमार्फत मोबाईल बैंकिङ सेवा, एटीएम सेवा, क्यूआर कोड सेवा, बैंक तथा वित्तीय संस्थाको खातामा रकम स्थानान्तर सेवा लगायतका सुविधा उपलब्ध गराएको जानकारी दिनुभयो । संस्थाले सदस्यहरुलाई रेमिट्यान्स सेवा समेत उपलब्ध गराउँदै आएको बताउनुभयो ।

समारोहमा संस्थाका प्रमुख कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

उहाँले गत आर्थिक वर्ष संस्थाले शेयर पुँजी १७ दशमलव ९२ प्रतिशतले वृद्धि गरेर ७ करोड ४३ लाख ८३ हजार रुपैयाँ र बचत संकलन ३४ दशमलव ८९ प्रतिशतले वृद्धि गरेर ५९ करोड ७६ लाख ९६ हजार रुपैयाँ पु¥याएको जानकारी गराउनुभयो ।

सो अवधिमा संस्थाको ऋण लगानी २१ दशमलव ६३ प्रतिशतले वृद्धि भएर ५५ करोड ९३ लाख रुपैयाँ पुगेको र संचालन मुनाफा १ करोड २९ लाख ५८ हजार रुपैयाँ आर्जन भएको बताउनुभयो । 

संस्थाले चालु आर्थिक बर्षमा शेयर पुँजी ८ करोड, बचत ८५ करोड र ऋण लगानी ८० करोड रुपैयाँ पु¥याउने लक्ष्य लिएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत धुर्मुस सुन्तली फाउन्डेशन, राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौं महानगरपालिका वडा नं. ७ मा रहेको हर्ट फाउण्डेशन लगायतका सामाजिक संस्थालाई आर्थिक सहयोग गरेको जनाएको छ । 

साधारण सभाको अवसर पारेर संस्थाले उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी र उत्कृष्ट कर्मचारीलाई सम्मानित गरेको थियो ।