पञ्चकन्या साकोसको २३औं वार्षिक साधारण सभा, निक्षेप संकलन ८१ प्रतिशतले वृद्धि

पञ्चकन्या साकोसको २३औं वार्षिक साधारण सभा, निक्षेप संकलन ८१ प्रतिशतले वृद्धि
समाचार | 2021-10-07 Share

काठमाडौं । खिचापोखरीमा मुख्य कार्यालय रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाले २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

संस्थाले कोरोना भाईरस (कोभिड–१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै एक साता सदस्य उपस्थिति पुस्तिका खुला राखेर प्रतिवेदन वितरण गर्नुका साथै सदस्यहरुको सुझाव तथा प्रतिक्रिया संकलन गरेको हो । 

त्यस अवधिमा सदस्यहरुबाट प्राप्त सल्लाह सुझावलाई समेटेर संस्थाले असोज १६ गते विद्युतीय माध्यमबाट निर्णय प्रमाणीकरण तथा अन्तिम साधारण सभा सम्पन्न गरहेको हो । 

सभामा संस्थाका अध्यक्ष अनुपकुमार अग्रवालले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०५५ सालमा जुझारु युवाहरुले स्थापना गरेको पञ्चकन्यामा नयाँ व्यवस्थापन आएर काम शुरु गरेको बताउँदै छोटो अवधिमा संस्थालाई समुदायमा आधारित दिगो र प्रविधिमैत्री एक उत्कृष्ट वित्तीय सहकारी संस्थाकोरुपमा स्थापित गराइसकेको बताउनुभयो । 

संस्थाले सहकारी सिद्धान्त र मर्ममा आधारित भएर सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ भने सदस्यहरुको सहजताका लागि  मोबाइल बैंकिङ प्रयोगमा ल्याएको छ । 

सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर, ज्येष्ठ सदस्य सम्मान, राहत तथा रक्तदान जस्ता गतिविधि सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । 

भौतिक उपस्थिति, जुम प्रविधि र फेसबुक लाइभबाट भएको साधारणसभाको सञ्चालक समिति सदस्य एवम् संस्थाका ज्येष्ठ सदस्य काजी लामाले पानसमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । 

त्यसैगरी लेखा समितिकोतर्फबाट सदस्य राघव कार्कीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

त्यसैगरी संस्थाको प्रगति विवरण तथा आगामी वर्षकालागि प्रस्तावित वार्षिक योजना, नीति, कार्यक्रम तथा बजेट संस्थाका सचिव एवम् कार्यकारी सञ्चालक दिनेशकुमार पोखरेलले प्रस्तुत गर्नुभयो । 

आर्थिक बर्ष २०७७/०७८ को अन्त्यसम्ममा संस्थाको शेयर चुक्ता पुँजी १ करोड ७८ लाख ३७ हजार रुपैयाँ रहेको छ । त्यसैगरी संस्थाले बचत २१ करोड २५ लाख संकलन र २१ करोड २२ लाख ऋण लगानी गरेको छ । संस्थाले बचत तर्फ ८१ दशमव ६ प्रतिशत र ऋण लगानीतर्फ ७२ दशमलव ४९ प्रतिशत बृद्धि गर्न सफल भएको छ । 

संस्थाले आगामी नीति तथा कार्यक्रमहरुमा संस्थाको साख तथा ब्राण्डलाई विस्तार गरी सदस्य माझ उत्कृष्ट संस्था को पहिचान बनाउने, संस्थागत सुशासनलाई चुस्त, दुरुस्त बनाउँदै लैजाने, संस्थाबाट सदस्यहरुलाई दिने सेवा सुविधालाई थप व्यवस्थित बनाउँदै प्रविधिमा विशेष जोड दिने, सेवा केन्द्र विस्तार गर्ने रहेका छन् । 

त्यसैगरी संस्थाको शेयर वृद्धि गर्नका लागि सदस्यहरुलाई शेयरमा लगानी बढाउन थप प्रोत्साहन गर्ने, सदस्यहरुको जन्मदेखि मृत्यु संस्कारका कार्यक्रम ल्याउने भएको छ ।