बागलुङको रेशमा वडा कार्यालय र सहकारीको सहकार्यमा वाक कला तथा वित्तीय साक्षरता तालिम

बागलुङको रेशमा वडा कार्यालय र सहकारीको सहकार्यमा  वाक कला तथा वित्तीय साक्षरता तालिम
समाचार | 2021-10-10 Share

बागलुङ । संविधानले व्यवस्था गरे अनुसार राज्यका सबै तहमा महिलाहरुको अर्थपूर्ण सहभागिताका लागि क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने कुरामा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

महिलालाई आर्थिक रुपमा सवल, सामाजिक रुपमा सचेत र राजनीतिक रुपमा सक्रिय बनाउन सकेमा मात्रै राज्यका हरेक तहमा महिलाको अर्थपूर्ण सहभागिता हुन सक्ने सहभागीहरुको भनाइ थियो ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा असोज २२ र २३ गते सञ्चालित वाक कला तथा वित्तीय साक्षरता तालिमका क्रममा सहभागीहरुले महिलालाई क्षमतावान बनाउन राज्य तथा अन्य निकायको साझेदारीमा समेत जोड दिए ।

काठेखोला गाउँपालिका वडा नम्बर ७, रेश साना किसान कृषि सहकारी संस्था लिमिटेड र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संयुक्त रुपमा आयोजना गरेको तालिममा सार्वजनिक कार्यक्रममा बोल्ने कलाका साथै वित्तीय रुपमा व्यक्ति, परिवार र समाजले लिन सक्ने लाभका बारेमा जानकारी गराइएको थियो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक हुमा कुमारी जिसी (अञ्जु) ले महिलालाई नीति निर्माण लगायत विकास निर्माणका सबै क्षेत्रमा समान सहभागिता गराउन सके मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत सहज हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘राज्यका हरेक तहमा महिलाको अर्थपूर्ण सहभागिताका लागि नीति मात्रै भएर पुग्दैन, उनीहरुलाई सक्षम बनाउन सरोकारवालाहरुले ध्यान दिनुपर्छ ।’ 

महिलाहरुलाई दैनिक काम देखि आनी बानी र नेतृत्व विकासमा समेत सहयोग पुग्ने लक्ष्यका साथ विभिन्न रचनात्मक र सिर्जनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको काठेखोला गाउँपालिका वडा नं. ७ रेशका अध्यक्ष प्रेम बहादुर जिसीले बताउनुभयो । 

वडामा रहेका सामाजिक संघ संस्था, महिला समुह, सामुदायिक वन लगायतमा महिला नेतृत्व स्थापित गर्दै राज्यका हरेक क्षेत्रमा महिलाको सहभागिता बढाउन र प्रभावकारी भूमिका बढाउनका लागि पहल भईरहेको बताउनुभयो । जिसीले भन्नुभयो, ‘महिलाहरुले घरको समय मिलाएर आफुलाई समाजमा स्थापित गर्नका लागि थप मेहनत र समन्वय गर्न जरुरी छ ।’

रेश साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष याम बहादुर कार्कीले सहकारीमा आवद्ध ८ सय जना शेयर सदस्यहरुलाई आर्थिक विकासमा संस्थागत समन्वय गर्दै आएको र महिलाहरुलाई थप क्षमता विकासका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

दुई दिनसम्म चलेको तालिमको सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले सामान्य साक्षर मात्रले जीवन र परिवार चलाउन अहिलेको समयमा कठिन भएकाले वित्तीय रुपमा साक्षर हुन जरुरी रहेको बताउनुभयो । 

‘आयआर्जन के के हुन्छ ? कसरी बढाउने भन्ने मात्रै होइन, प्राप्त आम्दानीको बचत, ऋणको यथोचित व्यवस्थापन र उपयोगमा पनि ध्यान दिन सके उत्पादन र आत्मनिर्भर बन्न असहज छैन,’ उहाँले भन्नुभयो, ‘अहिलेको समयमा जसले वित्तीय रुपमा साक्षर भएर त्यसको परिचालन र उपयोगमा ध्यान दिन्छ, उसले नै प्रगति गर्नेछ ।’

तालिममा बोल्ने कलाका विषयमा सहजीकरण गर्दै आदर्श सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित  आदर्श सञ्चार अनलाइनका सम्पादक तथा नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष दिल शिरिषले बोल्ने बानीको प्रभावकारी विकासबाट मात्रै व्यक्तित्व विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

तालिममा काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका सहकारीमा आवद्ध ७० जना महिला र पुरुषको सहभागिता थियो । सहभागीहरुको तर्फबाट बोल्दै देवी कुँवरले तालिमका क्रममा धेरै कुराको जानकारी पाइएको र आगामी दिनमा यसलाई कार्यान्वयन गर्दै जाने प्रतिवद्धता जनाउनुभएको थियो ।

कार्यक्रम रेश साना किसान सहकारी संस्थाका अध्यक्ष यामबहादुर कार्कीको अध्यक्षता र व्यवस्थापक उषा थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।