सहकारीमा नेता समस्या हुन कि समाधान ?

सहकारीमा नेता समस्या हुन कि समाधान ?
बिचार/दृष्टिकोण | 2021-10-24 Share


-रामचन्द्र उप्रेती
    
नेता समाधान हुनुपर्छ समस्या होइन । तर जुन देश, समाज, पार्टी र संघसंस्थामा धेरै नेता हुन्छन् त्यहाँ नेता समस्या हुने गर्छन् । नेपालका सबै पार्टीमा यो समस्या छ । पार्टीमा मात्रै होइन विभिन्न क्षेत्र र संघ/संस्थामा पनि यही समस्या छ । पार्टीहरुलाई नेता व्यवस्थापन गर्न सकस पर्दै गएको छ । पार्टीमा नेताहको व्यवस्थापन गर्ने नाममा भद्दा र ठूला कमिटी बनाउने गरेकाले ती चल्न नसक्ने भएका छन् । कमिटीका निर्णय सीमित व्यक्तिले गर्ने र तिनको निर्णय अनुमोदन गर्ने काम पार्टीका भद्दा कमिटिको हुने गरेको छ । त्यस्ता भद्दा कमिटीहरु निर्णयमा सुझाव दिने, निर्णय सुधार गर्ने, परिवर्तन गर्ने हैसियत राख्दैनन् । किनकि ती कार्यान्वयनमा गएको धेरै पछि मात्रै अनुमोदनका लागि आउने गर्छन् । अझ नेताको व्यवस्थापन गर्नकै लागि कामै नभएका नाम मात्रका कमिटी÷समिति बनाउने गरेको तजाततै देखिन्छ । राजनीतिक पार्टीहरु व्यवस्थित बन्न नसक्दा त्यसको प्रभाव राज्यका विभिन्न क्षेत्रमा पर्ने गरेको छ ।

सहकारी अभियानमा अहिले यस्को प्रभाव देखिदैछ । सहकारी ऐन २०४८ पछि विस्तार भएको सहकारी अभियानले केन्द्रदेखि जिल्लासम्ममा धेरै नेता जन्माएको छ । नेपालमा नेता बन्न सजिलो छ । नेता हुनलाई सम्वन्धित क्षेत्रको ज्ञान, योग्यता, क्षमता, योगदान, जानकारी नभए पनि हुन्छ । नेता भएपछि के गर्ने भन्ने योजना, कार्यक्रम, सोच केही चाहिँदैन । नेताले आफ्नो पालामा के–के गर्ने हो त्यो भन्नु पर्दैन । आफ्नो कार्यकालमा के राम्रा काम गरियो र के नराम्रो हुँदै गरेकोलाई रोक्न पहल गरियो, रोकियो त्यो भन्नु पर्दैन । अझ अगाडि बढेर भन्दा नेताले नबिगारिदिए मात्रै पनि खुसी मान्नु पर्ने अवस्था छ । सबै क्षेत्रमा जस्तै सहकारी क्षेत्रमा पनि यही हाल छ ।

हुन त अरु क्षेत्रको नेता हुनभन्दा सहकारी क्षत्रको नेता हुन अलि कठिन छ । किनकि सहकारीको सदस्य हुनै पर्छ । आपूm सदस्य भएको सहकारीले माथिल्लो संघको सदस्यता लिएकै हुनुपर्छ । नेता जो हुन चाहने हुन् उनले सम्वन्धित सहकारी संस्थाबाट प्रतिनिधि भएको निर्णय वा पत्र लिनै पर्छ । केन्द्रीय नेता हुन चाहनेले पनि गर्ने यस्तै हो ।

कतिपय प्रारम्भिक सहकारी संस्था बन्द भएका छन् तर तिनका प्रतिनिधि सहकारीका जिल्ला, प्रदेश र केन्द्र स्तरका नेता भएर भाषण गर्दै हिँड्दैछन् । जिल्ला स्तरमा भएका संघ मध्ये बचत संघको र कतैकतै जिल्ला संघको गतिविधि अरुको तुलनामा राम्रो छ । त्यहाँ भएका नेताका आफ्ना प्रारम्भिक सहकारी पनि छन् । तर जिल्लाजिल्लामा गठन भएका अन्य संघ र त्यहाँभन्दा माथि भएका प्रदेश र केन्द्रका सहकारी संघहरुमा भएका सहकारी नेताहरु मध्ये पाँच प्रतिशतका सहकारी नीतिविधिमा चलेका रहेछन् भने त्यो ठूलै कुरा हुनेछ । कतिपय नेताका त आफ्नो प्रारम्भिक सहकारी पनि नाममात्रको र जिल्लातिर भएका विषयगत संघ पनि प्रतिनिधि छान्न मात्र बैठक बस्ने गरेका उदाहरण सहकारीको उधुम विकास भएको भनिएको जिल्ला झापामै भेटिन्छ ।

अलि राम्रो चलेका प्रारम्भिक सहकारी संस्थाहरुमा नेता बनाउनै पर्ने मानिसलाई आफ्नै संस्थाको नेता बनाउने र नेता बनाउँदा संस्थालाई जोखिम हुने तर नेता हुन खोज्ने मानिसलाई जिल्ला र केन्द्रतिर पठाईदिने चलन छ । अर्थात नेताको व्यवस्थापन गर्ने चलन छ । जिल्लामा भएका अधिकाङ्स जिल्ला संघहरु नेता हुन, नेता बनाउन र नेताको व्यवस्थापन गर्न खोलिएका छन् ।

सहकारीका संघहरुमा जिल्लादेखि नै राजनीतिक भागबण्डाको आधारमा नेता बनाउने र छान्ने गरिन्छ । त्यसैले त्यहाँ सहकारी बुझेको, सहकारीको हित गर्ने, सहकारी बुझाउन सक्ने नेता होइन पार्टीमा ‘सेटिङ्ग’ मिलाउन सक्ने जोसुकै भएपनि हुन्छ । त्यस्ता नेताहरु सहकारीको जिल्ला नेता हुनभन्दा पालिकाको वडा सदस्य हुन बढी बल गर्छन् । पार्टीका कमिटि/समितिमा बढी बल गर्छन् । उता ठाउँ नपुग्दा नेताको व्यवस्थापनका लागि यता आउँछन् । त्यस्ता नेताले जिल्ला र त्योभन्दा माथिका संघहरुमा बसेर गर्ने भनेको राजनीति हो । त्यसभध्ये थोरै नेताले मात्रै सहकारीको भेउ पाएका हुन्छन् । केही केहीले सहकारीको उन्नति प्रगतिका लागि पनि काम गर्छन् । तर, धेरैमा राजनीतिक सोच, चरित्र नै प्रधान हुन्छ । सहकारी अभियान ओझेलमा पर्छ ।

सहकारी अभियानमा देखिएका जिल्लादेखि केन्द्रसम्मका धेरै चल्तिका नेताका सहकारी सुशासनमा चलेका छैनन् । सीमित केही अपवादमा राम्रा सहकारीका प्रतिनिधि पनि त्यहाँ नेता हुन पुगेका छन् । तर तिनको बोलवाला कमजोर छ । किनकि त्यहाँ पनि चिन्तन र चरित्रको एकता हुने नै भयो । सहकारीमा सुशासन, नीति, नियम, मूल्य, मान्यता, सिद्धान्त आदिको कुरा गर्दा सुशासनमा नचलेका नेतालाई त्यो खासै मन पर्दैन । त्यस प्रकारका नेताते सहकारीको हितलाई खासै प्राथमिकतामा राख्दैनन् तिनले आफ्नो, आफ्नो समुहको, पार्टीको हितका लागि काम गर्ने हुन् । त्यसैले समग्र सहकारी अभियानका बारेमा धेरै सोच्ने र काम गर्ने गर्दैनन् । तिनलाई सहकारीको नेता भएर भाषण गर्न पाए पुग्छ । तिनले गर्छन् नै त्यति नै । फेरी नेता हुन, भाषण गर्न गुट बनाउछन्, राम्रालाई होइन हाम्राको टिम बनाउछन् । पार्टीमा लविङ गर्छन् । पुनः माथिल्लो पदका नेता हुन्छन् । हुन बल गर्छन् । पार्टीमा ठाउँ पाएभने हामफालेर दौडि हाल्छन् । सहकारी अभियान यस्तै यस्तै नेताको भरमा चलेको छ ।

सहकारी अभियानमा पछिल्लो तीस वर्ष (२०४८–७८)मा संख्यात्मक रुपमा धेरै प्रगति भएपनि गुणात्मक विकास हुन नसक्नु, सहकारी अभियान प्रतिको दृढ विश्वास र भरोषा अपेक्षाकृत कमजोर हुनु, गरिवि निवारणमा सहकारीको भूमिका पर्याप्त नदेखिनु, सहकारी क्षेत्रको जीडीपीमा कति योगदान छ भनेर प्रष्ट नदेखिनु, सहकारी नेताहरु प्रति राज्यका निकायहरुको विश्वास कमजोर हुनु, सहकारी उत्पादन र बजारीकरणमा कमजोर देखिनु जस्ता समस्या छन् । समग्रमा र सारमा भन्दा सहकारी व्यवसाय प्रति खुलेर विश्वास र समर्थन गर्ने अवस्था बन्न नसक्नुमा नेतृत्वमा रहेका मानिसको व्यवहार र सोचले काम गरेको छ ।

त्यसैले सहकारीका नेताको भाउ सहकारीका साधारण सभामा बाहेक अन्यत्र खासै छैन । देशका झण्डै ७० लाख वयस्क मानिस आवद्ध भएको अभियानका नेताको साख निकै उच्च हुनुपर्ने हो । तर त्यस्तो छैन ।

सहकारी भित्रका कमिकमजोरी कम गर्दै लगेर यो अभियानलाई सशक्त बनाउन सकिन्छ । बनाउनु पनि पर्छ । सहकारी मैत्री नीति, नियम, ऐन कानुन बनाउन लागि पर्नुपर्छ । तर अहिले भएका नेताबाट यो सम्भावना निकै कम छ । किनकि उनले नेतृत्व गरेका संघसस्थामा नै उनले शुशासन कायम गराउन सकेका छैनन् र धेरैले गर्नै चाहदैनन् । संस्थालाई सुशासनमा ल्याउन विधिको शासन स्थापित गर्नुपर्छ । संस्था व्यक्तिले होइन नीतिविधिले चल्नु पर्छ । वास्तवमा नेताको काम संघसंस्थामा सिस्टम स्थापित गर्ने हो र सिस्टमले संघसंस्था चलाउने हो । हाम्रो जस्तो समाजमा धेरै नेता सिस्टम बनाउन र बसाउन नै चाहँदैनन् । सिस्टमले काम गर्न थाल्दा आपूmले गरेको मनोपोली कम हुन्छ, आर्जन घट्छ, सान र मान घटेको ठान्ने सोच छ । आफ्ना अगुवा पछुवालाई खुसी पार्न पनि पैसा चाहिन्छ । सुशासनमा चलेका संस्थाबाट मनलागि पैसा झिक्न, चलाउन, सापटी/पेश्की लिन सकिदैन ।

यसो भनिरहदा मैले के बिर्सेको छैन भने सहकारी अभियानले आज गरेको उपलव्धिमा सहकारी नेताको कुनै भूमिकै छैन भनेको होइन । सहकारी नीतिनियम बनाउन लबिईङ्ग गर्नेदेखि नेपालको सहकारी अभियानलाई विश्वमा चिनाउनेसम्मका महत्वपूर्ण काममा सहकारी अभियानका नेताहरुको भूमिका छ । सहकारीलाई लाग्दै आएको चर्को आयकर (शुरुमा ३०, बीचमा २० र हाल ५ प्रतिशत आयकर) कम गर्ने लगायतका महत्वपूर्ण काम भएका छन् । यति हुँदा हुदै पनि सहकारीका समस्याका बारेमा सरकारसँग प्रभावकारी लबिईङ्ग हुन नसक्दा आज सहकारीले उत्पादनको क्षेत्रमा धेरै समस्या भोग्नु परिरहेको छ । यो गर्नेलाई मात्रै थाहा छ । जो सहकारीमा नेता मात्रै भए, सहकारीको प्रभावकारी सञ्चालन गरेनन् उनीहरुलाई समस्या कहाँकहाँ छ भन्ने नै थाहा छैन ।

धेरै प्रारम्भिक सहकारी विशेष गरि शहर केन्द्रित जो छन्, जसले सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई भन्दा सञ्चालक समूहमा बसेका ‘प्रवद्र्धक’हरुको हितमा काम गरेका छन् त्यस्ता सहकारीहरुलाई अहिलेसम्म जे भयोभयो अब सहकारीलाई सहकारी जस्तो बनाउनै पर्छ । अब अर्को बाटो लाग्नु भयो भने पैसा इज्जत केही जोगिदैन भन्ने आँट नेताहरुले गर्नुपर्छ । त्यसको थालनि नेताहरुले आफ्ना सहकारी, आपूm आवद्ध भएको संघबाट शुरु गर्नु पर्छ । यदि नेताले यो आँट गर्र्दैनन् र जे गरेको छ त्यसैमा रमाउने काम मात्रै गरे भने अब सहकारी अभियानले शुद्धीकरणको अभियान चलाउनु पर्छ । राजनीतिमा ठाउँ नपाएर सहकारीमा आएका र उता ठाउँ पाउने दिन पर्खेर बसेकालाई नेता बनाउने होइन सहकारीमै लागिरहने, सहकारी बुझेका, सहकारी भएका, सहकारी चलाएका मध्येबाट सहकारी अभियानका नेता बनाउन जगैदेखि प्रयास थाल्नु पर्छ । सहकारीका नेता समस्या होइन समाधान बन्नुपर्छ ।

अनुदाने सहकारी, नेताका सहकारी, परिवारका सहकारी र सीमित व्यक्तिका समूहको सहकारीको पहिचान गरेर त्यतिलाई सुधार गर्ने हो भने सहकारी अभियानमा ठूलो फड्को मार्न सकिन्छ ।