‘सबै प्रधानमन्त्रीको डेस्कमा हाम्रो फाईल पुग्यो, तर कसैले निर्णय गरेनन्’

‘सबै प्रधानमन्त्रीको डेस्कमा हाम्रो फाईल पुग्यो, तर कसैले निर्णय गरेनन्’
अन्तर्वार्ता | 2021-11-01 Share

नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक साना किसान सहकारी संस्थाहरुकै पहलमा स्थापित साना किसान विकास वैंकको समेत अध्यक्ष हुनुहुन्छ । यसैगरी सहकारी संस्थाहरुसंगको साझेदारीमा किसानलाई लघु तथा कृषि वित्त सेवा दिँदै आएको साना किसान विकास लघुवित्त वित्तीय संस्थाको समेत नेतृत्व गरिरहनुभएको छ । उहाँ संघले साना किसान सहकारी संस्था गठन गरेर व्यवसायका लागि आवश्यक पँुजी जुटाईदिने गरेको बताउनुहुन्छ । संघले विगत १५ वर्षदेखि संचालन गरेको पशुपालन सहुलियत कर्जाका कारण अहिले मुलुक मासुमा आत्मनिर्भर बनेको उहाँको भनाई छ । प्रस्तुत छ कृषि सहकारी अभियानको सेरोफेरोमा केन्द्रित भएर सहकारी सञ्चार  डट कमका सम्पादक हिरा बस्नेतले अध्यक्ष पाठकसंग गर्नुभएको कुराकानीको संपादित अंश :

तपाईंले मुलुकको हिमाली, पहाडी र तराई क्षेत्रमा बसोबास गर्ने किसानहरुको आर्थिक अवस्थामा कस्तो भिन्नता पाउनुभएको छ ?

तराईको भित्री भागमा आर्थिक र चेतनाको गरिवी देखिन्छ । भित्री मधेशमा जनशक्ति, जमिन र यातायातको सुविधा भएर पनि एकदमै गरिव मानिसहरु बसोबास गर्छन । बस्ने छाप्रोमा पानी चुहिन्छ्, शरिरमा कपडा छैन, ढलको सुविधा छैन । त्यहाँ यस्तो संख्या ठूलो छ । यसैगरी त्यहाँका मानिसहरुमा आफैंले पनि केही विकास गरेर जीवनशैली परिवर्तन गर्न सकिन्छ भन्ने चेतनाको कमी छ । त्यहाँ आर्थिक, सामाजिक, साँस्कृतिक र चेतनाको हिसावमा मानिसहरु कमजोर भएको अवस्था छ । पहाडी भेगका मानिसहरुको चेतनास्तर राम्रो छ । संगठनमा आवद्ध भएर सुविधा लिनसक्ने क्षमता राख्छन । तर त्यहाँपनि गरिवी छ ।

हिमाल र पहाड जोडिएको स्थानको भूगोल विकट छ । सडक यातायातको सुविधा पु¥याउन मुस्किल छ । आर्थिक तथा प्राविधिकरुपमा कठिन छ । पातलो बस्ती भएकाले एउटा घरबाट अर्कोमा जान समय लाग्छ । शिक्षाको कमी भएकाले चेतनास्तर पनि कमजोर छ । भौगोलिकरुपमा विकट भएपनि त्यहाँ प्राकृतिकरुपमा महंगो जडिबुटी प्रचुर मात्रामा पाईन्छ । तर यसलाई व्यवसायिकरुपमा उत्पादन र बजारीकरण गर्ने काममा समस्या छ । त्यसैले हिमालसंग जोडिएको पहाडी भागमा संकट छ । राज्य र अन्य सहयोगी निकायले कृषि तथा विकास सम्बन्धी कार्यक्रम संचालन गर्दा भित्री मधेश र हिमालसंग जोडिएको पहाडी भागलाई बढी ‘फोकस’ गर्नुपर्छ ।

पछिल्लो समय युवाहरुमा कृषि प्रति आकर्षण पाईंदैन । उनीहरु कृषि पेशा प्रति आकर्षित नहुनुको कारण के हो ? तपाईंको मूल्याङ्कन कस्तो छ ?

मुलुक अगाडि बढ्ने भनेको युवाहरुको ताकतले हो । उनीहरुमा जोश, जाँगर र शरिरमा शक्ति हुन्छ  । कृषिलाई प्राथमिकता दिएर युवाहरुलाई प्राविधिक शिक्षा, तालिम दिने कामलाई राज्यले प्राथमिकता दिएको छैन । यसैगरी घरपरिवारले सानै देखि छोराछोरीलाई पढेर डाक्टर बन, ठूलो मान्छे बन भनेर प्रोत्साहित गर्ने चलन छ । कसैले पनि आफ्नो सन्तानलाई कृषक बन भन्दैनन् । समाजमा इज्जत चाहिन्छ भने पढेर जागिर खानुपर्छ भनेर सानैदेखि दिमागमा भरिदिएको हुन्छ । विद्यालय तह उत्तीर्ण गरेपछि घरपरिवालाई कृषिमा सघाउन हुँदैन, पढेको मान्छेले जागिर खानुपर्छ भनेर निरुत्साहित गरिन्छ । यही संस्कारले गर्दा युवाहरुमा कृषि प्रति वितृष्णा जागेको हो ।

पछिल्लो समय युवाहरुमा केही आकर्षण बढ्न थालेको छ । तर राज्यसंग उनीहरुलाई कृषिमा लगाउनका लागि प्रभावकारी नीति, कार्यक्रम, योजना र बातावरण छैन । आजका युवाले हिजो बुबा, हजुरबुबाको पालामा जस्तो हलो जोतेर कृषि गर्दैनन् । त्यसैले उनीहरुलाई समयानुकुल प्रविधि उपलब्ध गराउनु पर्छ । अहिले युवाहरुसंग कृषि सम्बन्धी सिप, पुँजी र प्रविधि छैन । अनि जोखिम मोलेर उत्पादन गरेको बस्तु बिक्री गर्नका लागि बजार छैन । यसरी कृषिमा सम्भावना नदेखेपछि युवाहरु रोजगारीका लागि विदेश पलायन हुनेगरेका छन् ।

अहिले निर्वाहमुखी कृषिलाई आयमुखी र व्यवसायिक बनाएर किसानहरुको आयस्तर उकास्नका लागि कृषि सहकारी संस्थाहरुले कस्तो भूमिका खेलिरहेका छन् ?

सबैभन्दा पहिले हामी गाउँमा छरिएर बसेका किसानहरुलाई संगठित गरेर सहकारी संस्था निर्माण गर्छौं । त्यहाँ अन्य किसान र युवाहरुलाई पनि जोड्छौं । त्यसपछि संचालक समितिका पदाधिकारी र कर्मचारीहरुलाई तालिम दिएर संस्था संचालन गर्न सक्षम बनाउँछौं । शेयर सदस्यहरुबाट शेयर र बचत संकलन गरेर पुँजी निर्माण गर्छौं । त्यति पुँजीले मात्र कृषिमा लगानी गर्न नपुग्ने भएकाले ती संस्थालाई साना किसान विकास लघुवित्त वित्तीय संस्थामा जोडेर थोक कर्जा उपलब्ध गराउँछौं । यसैगरी साना किसान विकास बैंकले सरकार र अन्य दाताहरुबाट ल्याएको सुलभ कर्जा पनि उपलब्ध गराउँछौं । उदाहरणका लागि पशुपालन कर्जा शीर्षकमा संस्थालाई पाँच प्रतिशत व्याजदरमा सुलभ कर्जा दिन्छौं । त्यो संस्थाले सदस्यलाई अधिकतम नौ प्रतिशत भन्दा बढी व्याजदरमा लगानी गर्न पाउँदैन । हामीले विगत १५ वर्षदेखि पशुपालनका लागि सुलभ कर्जा प्रदान गर्दै आएका छौं । हाम्रो अभियानले हासिल गरेको उपलब्धिलाई आधार मानेर नै राज्यले मुलुकलाई मासुमा आत्मनिर्भर घोषणा गरेको हो । तर विडम्वना अहिले पनि किसानहरुलाई खसीबोका, राँगाभैंसी र दुध बेच्नका लागि बजारको व्यवस्था छैन ।

तपाईंहरुले राज्यसंग बजार निर्माण गर्नका लागि पहल गर्नुभएको छैन ?

किसानलाई डोको विसाउने ठाउँ छैन । सडक पेटीमा राख्दा नगरपालिकाले लखेट्छ । बल्खुमा राख्दा व्यापारीले डोको हु¥याईदिन्छन् । काठमाडौं लगायतका ठूला सहरमा भएका कृषि बजार व्यापारीको कब्जामा छन् । बजारमा व्यापारीको एकाधिकार छ । किसानले लाचार भएर व्यारीलाई घाटामा तरकारी दिनुपर्ने अवस्था छ । त्यही भएर हामीले सरकारसंग भएका बजारमा कृषि सहकारीलाई स्थान दिन वा त्यसो गर्न नसके बजार निर्माणका लागि जग्गा उपलब्ध गराउन माग राख्यौं । हामीले ललितपुरको मलपोखरीमा रहेको पाँच सय रोपनी जग्गा मध्ये ५० रोपनी जग्गा दिन अनुरोध गरेका थियौं । काठमाडौंका अन्य स्थानमा रहेका यस्ता थुप्रै जग्गाहरु देखायौं । सरकारले उपलब्ध गराएको जग्गामा सम्पूर्ण भौतिक संरचना कृषि सहकारी केन्द्रीय संघले बनाउने भनेर लागेका हौं । बहुदलीय व्यवस्था आएपछिका सबै प्रधानमन्त्रीको डेस्कमा हाम्रो फाईल पुगेको छ । जाईकाले बजार निर्माण गर्नका लागि एक अर्ब रुपैयाँ बजेट छुट्टयाएर एक दशक सम्म रोकेर राख्यो । सरकारले जग्गा नदिएपछि त्यो पैसा ‘फ्रिज’ भयो । हाम्रो फाईल हेरेर सबैले राम्रो काम हो भने, तर कसैले निर्णय गर्न सहयोग गरेनन् ।
 

विचौलियाहरुले मनपरी मूल्य वृद्धि गर्ने गरेकाले पनि किसानले विक्री गरेको बस्तु उपभोक्ताले महंगोमा खरिद गर्नुपरेको छ । कृषि सहकारीले किसानले उत्पादन गरेको बस्तु बजारीकरण गर्न मिल्दैन ?

मिल्छ, तर कहाँ खसाल्ने ? कृषि संघले मुस्ताङ, जुम्ला, जाजगरकोटबाट सामान ल्याएर विक्री गरिरहेको छ । सोलुखुम्बु र खोटाङबाट सेतो सिमी ल्याएर विक्री गरिरहेका छौं । तराईबाट पनि ल्याईरहेका छौं । हामीले सानो स्तरमा विक्री गरिहेका छौं । उपभोक्ता धेरै छन् । ठूलो स्केलमा गर्नका लागि हामीसंग बजार छैन । हामी जग्गा किनेर बजार निर्माण गर्न सक्दैनौं । अरु बजारमा एउटा खसी बोका एक रात राख्दा ३० रुपैयाँ भाडा तिर्नुपर्छ । हामीले कृषि सहकारी गठन गरेर किसानलाई पुँजी, प्रविधि र सिप दिईरहेका छौं । ती किसानले उत्पादन गरेको बस्तु संकलन गर्नका लागि संकलन केन्द्र निर्माण गरेका छौं । तर संकलन केन्द्रमा जम्मा भएको बस्तु बेच्नका लागि बजार छैन । यही भएर कृषि सहकारीको सञ्जाल मार्फत किसानले उत्पादन गरेको बस्तुको बजारीकरण गर्न नसकिएको हो ।

सहकारी मन्त्रालयले सहकारी बजार विकास कार्यक्रम संचालन गरेको छ । यसमा तपाईंहरुसंग सहकार्य भएको छैन ?

नेपाल सरकार र युएनडीपीले त्यो प्रोजेक्ट संचालन गरेको हो । उहाँहरुले आफ्नो ठाउँमा काम गरिरहनुभएको होला । तर कृषि संघलाई सम्पर्क गर्नुभएको छैन । महासंघसंग अलिअलि कुरा भएको छ । काठमाडौंलाई केन्द्रित गरेर उपत्यका आसपासका ६ वटा जिल्लामा त्यो कार्यक्रम संचालन भएको छ । केही सहकारीलाई गाडी वितरण गरेको छ रे । कस्ता संस्थाले पाए मैले हेर्न पाएको छैन । प्रोजेक्टसंग सम्वन्धित सरोकारवाला संस्थाहरु पहिचान गरेर उनीहरुको अनुभव र सहयोग लिएर अगाडि बढेको भए प्रभावकारी हुन्थ्योहोला । हाम्रा एकादुई संस्थाहरुसंग सहकार्य गरेको ठाउँमा राम्ररी काम अगाड बढेको छ ।

नेपालको बजारमा स्वदेशमा उत्पादित भन्दा छिमेकी मुलुकबाट आयातीत् कृषि उपजको मूल्य सस्तो छ । किसानलाई यथेष्ट अनुदान नदिएकाले उत्पादन लागत महंगो पर्नेगरेको भन्ने सुनिन्छ । स्वदेशी किसानले उत्पादन गरेको बस्तुलाई बजारमा प्रतिस्पर्धी बनाउने जिम्मेवारी कस्को हो ?

विदेशमा जस्तो हाम्रो मुलुकमा कृषि सरकारको प्राथमिकतामा परेको छैन । नीति, कार्यक्रम र बजेट पनि कार्यान्वयन हुँदैन । असार लागेपछि मात्र दौडधुप हुन्छ । छिमेकी मुलुकले आधुनिक प्रविधि प्रयोग गरेर कम लागतमा ठूलो मात्रामा उत्पादन गर्छन । ती बस्तु खुला नाकाबाट निर्वाध हाम्रो बजारमा आउछन् । ती उत्पादनसंग नेपालका किसानले परम्परागत विधिले हलो जोतेर उब्जाएको बस्तुले प्रतिस्पर्धा गर्न सक्दैनन् । यसैगरी छिमेकी मुलुकले किसानलाई अत्याधिक अनुदान दिने गरेका छन् । नेपालमा स्वस्फूर्तरुपमा कृषि गर्ने किसानलाई समेत प्रोत्साहन छैन ।

सरकारले दिने कार्यक्रम पनि कृषि गर्ने किसानले नभई कागज बनाउने गैह्र किसानले पाउने गरेका छन् । कृषि मन्त्रालयले सही तरिकाबाट कृषि क्षेत्रलाई अगाडि बढाउन सकेको छैन । सरकार फेरिएपछि पुराना कार्यक्रमलाई निरन्तरता नदिने प्रवृत्ति छ । यसैगरी किसानलाई प्राविधिक सहयोग गर्ने दक्ष जनशक्तिको पनि अभाव छ । सुलभ कर्जा, सिँचाई र बजारको पनि अभाव छ । यही कारण कृषिलाई व्यवसायिक बनाएर ठूलो मात्रामा उत्पादन गर्न नसकिएको हो । राज्य अहिलेको शैलीमा चल्ने हो भने नेपालमा कृषि अगाडि बढ्न सक्दैन । 

सहकारी क्षेत्रले निर्माण गरेको पुँजीलाई परिचालन गरेर कृषिलाई आधुनिक र व्यवसायिक बनाउँन सकिँदैन ?

तपाईंले मैले सहकारीका हरेक फोरममा उठाउँदै आएको विषय उठाउनुभयो । तपाईंलाई धन्यवाद । सहकारीले पैसा किन्ने र बेच्नेमात्र काम गरे, अन्य काम गरेनन् भनेर आरोप लाग्ने गरेको छ । हेर्दा व्यवहारमा त्यही कुरा देखिन्छ । घरजग्गामा लगानी गरेको छ । पैसा ‘आईडल’ बसेको छ । पैसा सही ठाउँमा सदुपयोग भएको छैन । सदस्यको आयआर्जन बढेको छैन । अनि हामी चाहिँ सहकारी संचालन गरेका छौं भन्दै हिँड्छौं । मुलुकमा खानेकुरा विदेशबाट किनेर ल्याउने । सहकारीले निर्माण गरेको पुँजी अन्यत्र ‘डाइभर्ट’ हुने । किसानले पुँजी नपाउने । यो एकदमै नमिल्ने कुरा हो । मैले महासंघमा पनि यही कुरा उठाउने गरेको छु ।

उत्पादित बस्तुको प्रशोधन, भण्डारण र बजारीकरण नभई उत्पादन बढ्दैन । कानुनले सहकारी र कम्पनीलाई मिलेर लगानी गरेर काम गर्न दिँदैन । एउटा सहकारीले मात्र धेरै शेयर लगानी गरेर काम गर्न सक्दैन । त्यही भएर सहकारी ऐनमा विशिष्टिकृत संघको व्यवस्था आयो । यो ऐन अनुसार लुम्विनीमा एउटा विशिष्टिकृत संघ बन्यो । त्यो संघले दुध प्रशोधन गर्न ठूलो प्लान्ट राख्न लागेको छ । तर एकवर्ष देखि सफल भएको छैन । बचत ऋणमा ठूलो पँुजी छ । तर त्यो पुँजी त्यहाँ लगानी गर्न मिल्दैन रे । उहाँहरु लगानी गर्न नआउने । बहुउद्देश्यीय सहकारी पनि नआउने । हाम्रा कृषि सहकारी पनि जोडिन सकेका छैनन् ।

त्यसैले यस्तो अवस्थामा राष्ट्रिय सहकारी महासंघले सबै मिलेर सहकारीसंग भएको पुँजी लगानी गरेर प्लान्ट बनाऔं, किसानले उत्पादन गरेको दुध फाल्नुपर्ने अवस्थाको अन्त्य गरौं भनेर समन्वय गर्नुपर्छ । यदि बचत ऋण, बहुउद्देश्यीय, कृषि लगायतका सहकारी मिलेर एउटा सफल नमूना दुध प्लान्ट स्थापना गर्ने हो भने भोलि अन्य फ्याक्ट्री पनि बनाउँन प्रेरणा मिल्छ । सहकारी मन्त्रालय र विभागले मापदण्ड बनाएर सहकारीले निर्माण गरेको पुँजी मुलुकको हितमा लगानी गर्न बाटो खोलिदिनुपर्छ ।

मुलकमा भएका १९ वटा केन्द्रीय संघहरु मध्ये आधा भन्दा बढी संख्या कृषिसंग सम्बन्धित संघहरुको छ । कृषिसंग सम्बन्धित सबै सहकारी संघ/संस्थाहरुबीच एकीकरण गरेर एउटै नाममा काम गर्न मिल्दैन ?

अहिले संचालनमा रहेका १९ वटा केन्द्रीय संघहरुमा १२ वटा कृषिसंग सम्बन्धित छन् । सहकारी संघ/संस्था स्थापना गर्नेभन्दा पनि संचालन गर्ने काम महत्वपूर्ण हो । सहकारीले नाम र उद्देश्य अनुरुपको काम गर्न सक्नुपर्छ । व्यवस्थित र व्यवसायिक हुनुपर्छ । एकीकरणको कुरा पनि आएको छ । हामीलाई कान्छो कृषि संघ भन्छन् । हामीले झन्डै १२ सय संस्था गठन गरेका छौं । डोल्पा र दार्चुला बाहेक अन्य जिल्लामा संगठन छ । मानिसलाई प्रविधि सिकाउन ईजरायल पठाएका छौं । फर्किएर आएका मान्छेले सफल कृषि प्रोजेक्ट चलाईरहेका छन् । हामीले एउटा संस्थालाई पनि निष्क्रिय हुनदिएका छैनौं । हिजो एउटा लेटरप्याड किन्न नसक्ने हैसियतका हामी आफ्नै भवन बनाएर कार्यालय संचालन गरिरहेका छौं । चितवनको टाँडीमा ४ विगाहा जग्गा किनेर प्रत्येक दिन दुईवटा कृषि तालिम संचालन गरेका छौं । केन्द्रीय संघ नाफामा छ । ४५ जना कर्मचारी छन् । क्षमताले भ्याए सम्म बजारमा किसाने उत्पादन बेचीरहेका छौं ।

तर केही संघहरुको नियमित बैठक नहुने, साधारण सभा नहुने, चिठ्ठी बुझाउनका लागि कार्यालय फेला नपर्ने भन्ने गुनासो आएको छ । यस्तो संघ किन खोलेको भनेर चारतिरबाट प्रश्न उठेको छ । एकीकरणका लागि हामी तयार छौं । तयार नहुने संघहरुसंग सरकार र महासंघले लबिईङ गर्नुप¥यो । कमजोर संघले आफू कुन संघसंग एकीकरण भएर संचालन हुने भन्ने निर्णय गर्नुपर्छ । भोलि विघटन भएर जाने अवस्था उत्पन्न भयो भने राम्रो सन्देश जाँदैन । धेरै संघहरु बनाउने भन्दा पनि कामकाजी संघ बनाउँ भन्ने हाम्रो धारणा हो ।

विश्वका विभिन्न मूलुकमा कृषि सहकारी सम्बन्धी छुट्टै ऐन जारी गरेको पाईन्छ । तपाईंहरुले यसको महसुस गर्नुभएको छैन ?

सहकारी अभियान र सरकार मिलेर हामीले सहकारी ऐन, २०७४ जारी गर्यौं । नियमावली पनि आयो । हामीले ऐनमा छुटेका केही कुरा मिलाउन संशोधन गर्न कुरा उठायौं । प्रकृया अगाडि बढेपनि संशोधन भएको छैन । यसमा केही कुरा कृषिका पनि छन् । राजनीतिमा आएको अस्थिरताले कतिपय महत्वपूर्ण नयाँ ऐन जारी नभएर संसदमा थुप्रिएका छन् । मौजुदा सहकारी ऐन संशोधनले महत्व नपाउने सम्भावना छ । त्यसैले अहिले कृषिको छुट्टै ऐन बनाउन सम्भव छैन । बरु सरकारले कृषि क्षेत्र र कृषि सहकारीलाई विशेष प्राथमिकता दिएर बजेट र नीति कार्यक्रम बनाउनुपर्छ । प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । योजना बनाउँदा व्यवहारमा काम गरिरहेका संगठनलाई साथ लिनुपर्छ । अनिमात्र कृषिमा नतिजामुखी काम गर्न सकिन्छ ।

बचत तथा ऋण सहकारी बाहेकका अन्य विषयगत सहकारीले बचत ऋणको कारोबार गर्न हुँदैन भनेर अभियानभित्रैबाट ‘लबिईङ्ग’ हुँदै आएको छ । मौजुदा ऐनमा पनि ३० प्रतिशत भन्दा बढी बचत ऋणको कारोबार गर्न नपाउने व्यवस्था राखिएको छ । यसमा कृषि सहकारीको धारणा कस्तो छ ?

यसमा मैले धेरै पहिले देखि विमति राख्दै आएको छु । केही साथीहरु सहकारीले नाम अनुसारको काम गर्नुपर्छ । बचत ऋण नाम गरेका बाहेकका अन्य सहकारीले बचत ऋणको काम गर्न हुँदैन भन्नुहुन्छ । उहाँहरुले आफ्नो विषयको सहकारीलाई मजवुत बनाउनका लागि योजना बनाउने हो । अन्य सहकारीले हामी जस्तो काम गरे भनेर टाउको दुखाउने होईन । मैले विश्व सहकारी अभियानको अभ्यास हेरेको छु । सहकारीको मूल्य, मान्यता र सिद्धान्त अध्ययन गरेको छु । सहकारी भनेको अर्काले पैसा दिएर चलाउने संस्था होईन । नभए एनजीओ खोले भईगयो । दाताले पैसा दिन छोडेको दिन ढोका बन्द हुन्छ ।

सहकारी संस्था यसका सदस्यले लगानी गरेर आफ्ने श्रम र मेहनतले चलाउने हो । सदस्यले पैसा हाल्न नपाउने हो सहकारी कस्ले चलाईदिन्छ ? यस्तो कुरापनि जायज हुन्छ ? त्यो त सहकारी नबुझेको मान्छेले भन्ने कुरा हो । सबै सहकारीका सदस्यले आफ्नो संस्थामा बचत गर्न पाउनुपर्छ । थोरै पुँजी भएर व्यवसाय गर्न नसक्ने मानिसहरु सहकारीमा संगठित हुने हुन् । सहकारीको माध्यमबाट व्यक्तिसंग भएको स–साने पुँजी एकीकृत गरेर ठूलो पुँजी निर्माण गर्ने हो । त्यही पुँजी प्रयोग गरेर सदस्यले व्यक्तिगत तथा सामूहिक व्यवसाय गर्ने हो । यही उद्देश्यले सहकारी खोलेको हो । सहकारीलाई आत्मनिर्भर र स्वावलम्वी बनाउने भनेको उसले निर्माण गर्ने पुँजीले हो । अरुको मुख ताकेर सहकारी खोल्ने होईन । सरकारको पैसा नलिने, दातासंग पनि नलिने अनि आफूले पनि बचत नलिने भएपछि मान्छे मात्र बसेर सहकारी चल्छ त ?