अग्रिम बाँसवारी साकोसको अध्यक्षमा पुनः विष्णु गिरी

अग्रिम बाँसवारी साकोसको अध्यक्षमा पुनः विष्णु गिरी
समाचार | 2021-11-29 Share

काठमाडौं । बाँसवारीमा कार्यालय रहेको अग्रिम बाँसवारी बचत तथा ऋण सहकारी संस्थामा नयाँ संचालक समिति निर्वाचित भएको छ । 

संस्थाको मंसिर ११ गते सम्पन्न भएको दशौं वार्षिक साधारण सभाले संचालक समितिको अध्यक्षमा विष्णु गिरीलाई चयन गरेको हो ।

यसैगरी सभाले उपाध्यक्षमा पुजा रोकाया, सचिवमा कृष्ण कुमार तिमिल्सिना र कोषाध्यक्षमा उद्धव थापामगरलाई निर्वाचित गरेको छ । 

संचालक समितिको सदस्यमा अमृत पण्डित, कृष्ण गिरी, उजेन बस्नेत, शोभा गिरी र सुनिता दुलाल चयन हुनुभएको छ ।

यसैगरी सभाले टोप राज गिरीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । समितिमा टिकाराम चापागाईं र सूर्यलाल श्रेष्ठ सदस्य रहनुभएको छ । 

संस्थाका अध्यक्ष विष्णु गिरीको सभापतित्वमा आयोजित साधारण सभा राष्ट्रिय सहकारी महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गिरीले कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण संस्थाले सातौं र आठौं वार्षिक साधारण सभाबाट तय गरेका योजनाहरु समयमै कार्यान्वयन गर्न नसकिएको उल्लेख गर्नुभयो । साथै चालु आर्थिक वर्षका लागि तय भएका योजना पूर्णरुपमा पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रस्तुत प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा संस्थाको शेयर पुँजी १ करोड ६३ लाख रुपैयाँ, बचत संकलन ५ करोड ५६ लाख ५५ हजार रुपैयाँ र कर्जा लगानी ६ करोड ८६ लाख ३७ हजार रुपैयाँ कायम भएको छ ।

संस्थाले चालु आ.व.मा संस्थागत पुँजी वृद्धि गर्ने, सदस्यता वृद्धि गर्ने, उत्पादन तथा सेवाको विकासमा लगानी वृद्धि गर्ने, आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्ने, सहकारी सम्बन्धी तालिम संचालन गर्ने लगायतका योजना तय गरेको छ । 

साधारण सभामा संचालक समितिका सचिव कृष्ण कुमार तिमल्सिना, कोषाध्यक्ष उद्धव थापा मगर र लेखा समिति संयोजक टोपराज गिरीले पनि आ–आफ्नो तर्फबाट वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।