सन्दर्भ ब्याजदर घटाउने निर्णय भए बहिष्कार गर्छौंः अध्यक्ष उप्रेती

सन्दर्भ ब्याजदर घटाउने निर्णय भए बहिष्कार गर्छौंः अध्यक्ष उप्रेती
समाचार | 2021-12-29 Share

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले हालको सन्दर्भ ब्याजदर घटाउने निर्णय भए बहिष्कार गर्ने बताउनुभएको छ । 

काठमाण्डौ जिल्ला बहुउद्देश्यीय सहकारी संघले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले सन्दर्भ ब्याजदर नबढे सहकारी क्षेत्रमा थप संकट आउन सक्ने बताउनुभएको हो ।

अहिलेको १४ दशमलव ७५ प्रतिशतको सन्दर्भ व्याजदर बढाउन पहल गर्ने बताउँदै उहाँले सन्दर्भ ब्याजदर घटाउने निर्णय भए बहिष्कार गर्ने चेतावनी दिनुभयो । 

सरकारले सहकारी संस्थाहरुले ऋण लगानी गर्दा लिने ब्याजदरमा सिलिङ लगाएकाले सहकारी क्षेत्रको पैसा अन्यत्र गएको उहाँको भनाई थियो । 

सहकारी संस्थाहरुलाई संयमित भएर ऋण लगानी गर्न सुझाव दिँदै उहाँले भन्नुभयो, ‘अहिलेको यो तरलता अभावको अवस्था कहिलेसम्म कायम रहन्छ भन्ने थाहा छैन, त्यसैले अति आवश्यक बाहेकका अवस्थामा ऋण लगानी नगर्नु ।’

तरलता अभावसँग जुध्न राष्ट्रिय सहकारी बैंकले २ अर्बको तरलता कोष स्थापना गरेको बताउँदै उहाँले बैंकसँग निरन्तर कारोबार गरेका, यस अघिनै समस्यामा नपरेका तरलता आवश्यक परेका संस्थालाई बैंकले रकम उपलब्ध गराउने जनाउनुभयो । 

सहकारी क्षेत्रको समस्या समाधान गर्न महासंघ र केन्द्रिय संघहरुले पहल गर्नुपर्ने उहाँले औल्याउनुभयो । उहाँले भन्नुभयो, ‘समस्या भयो, यसरी समाधान गरौं, तपाईंले यस्तो पहल गर्नुप¥यो भनेर मलाई कसैले भनेको छैन ।’

जिल्ला बहुउद्देश्यीय संघका अध्यक्ष मनोज थापाले तरलता समस्या, बहुउद्देश्यीय सहकारीका समस्या र भावी कार्यदिशाका लागि छलफल आयोजना गरेको बताउनुभयो । 

सहकारी ऐनले बहुउद्देश्यीयहरुलाई प्राथमिक उद्देश्यमा काम गर्न भनेको तर काम गर्न बाटो खुला भने नगरेको उल्लेख गर्नुभयो । सहकारी अभियानमा नेता धेरै भएपनि समस्या समाधानका लागि राज्यसँग उचित पहल गर्ने कोही नभएको उहाँको गुनासो थियो ।