हसना भास्तिपुर साकोसको साधारण सभामा विभिन्न व्यक्ति सम्मानित

हसना भास्तिपुर साकोसको साधारण सभामा विभिन्न व्यक्ति सम्मानित
समाचार | 2022-01-02 Share

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२, बलम्बुमा प्रधान कार्यालय रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तिलाई सम्मानित गरेको छ । 

संस्थाले पुस १७ गते आयोजना गरेको समारोहरमा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने १६ जना छात्र÷छात्रा र उत्कृष्ट कारोबार गर्ने ६ जना शेयर सदस्यहरुलाई सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष नारायण कृष्ण महर्जनको सभापतित्वमा आयोजित समारोहको प्रमुख अतिथि बागमती प्रेदशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री वसन्त प्रसाद मानन्धरले उद्घाटन गर्नुभएको थियो । 

साधारण सभामा संस्थाका अध्यक्ष महर्जनले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । गत आ.व.मा संस्थाको शेयर पुँजी ६ करोड ३६ लाख १९ हजार रुपैयाँ पुगेको जानकारी गराउनुभयो । 

यसैगरी सो अवधिमा संस्थाको निक्षेप संकलन १ अर्ब २१ करोड १४ लाख १८ हजार रुपैयाँ र ऋण लगानी १ अर्ब ३३ करोड ३१ लाख ४६ हजार रुपैयाँ कायम भएको बताउनुभयो । संस्थाको कुल वासलात १ अर्ब ५५ करोड ७६ लाख ९६ हजार रुपैयाँ पुगेको जनाउनुभयो । 

साधारण सभामा दिईएको जानकारी अनुसार संस्थाले आर्थिक कारोबारका अलावा सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजिक क्रियाकलाप पनि गरेको छ । संस्थाले कोरोना भाईरस महामारीका कारण विगतका वर्षमा जस्तो बडा दशैंको अवसरमा मातातिर्थ बृद्धाश्रममा आश्रित आमाहरुलाई भौतिकरुपमा भोजन दान गर्न सम्भव नभएपछि ७ हजार ४ सय ७० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कुर्दन फुटबल ऐकेडेमीलाई फुटसल प्रतियोगिताका लागि ७ हजार रुपैयाँ, किसिपिडी युथ क्लबलाई १० हजार रुपैयाँ र एम्स इन्टरटेनमेन्टबाट भएको फुटसल प्रतियोगिता तथा सम्मान कार्यक्रमका लागि २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

संस्थाका प्रवन्ध संचालक सम्पूर्ण महर्जनले सचिवको जिम्मेवारी सम्हाल्नुभएको बलम्वुमा संचालित अस्थायी आईसोलेसनलाई ७० हजार नगद सहयोग गरेको जनाएको छ ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष राजाराम महर्जन र लेखा सुपरीवेक्षण समितिका संयोजक राजकुमार महर्जनले पनि आ–आफ्नो तर्फबाट प्रतिवेदन पेश गर्नुभयो । 

संस्थाले प्रधान कार्यालयका साथै चन्द्रागिरि–१२, हाईवे, बलम्बु र चन्द्रागिरि–९, मच्छेगाउँ, टौखेलमा सदस्य सेवा केन्द्र संचालन गरेर सदस्यहरुलाई प्रभावकारी सेवा प्रवाह गरिरहेको छ ।