काठमाडौं जिल्ला सहकारी संघको बाईसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं जिल्ला सहकारी संघको बाईसौं वार्षिक साधारण सभा सम्पन्न
समाचार | 2022-01-10 Share

काठमाडौं । जिल्ला सहकारी संघ लिमिटेड, काठमाडौंको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संघका अध्यक्ष ज्ञान बहादुर तामाङको सभापतित्वमा आयोजित समारोह शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

पुस २५ गते आयोजित सभाको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै मन्त्री पौड्यालले शिक्षालाई सिप र सिपलाई उत्पादनसंग जोड्न सहकारीले भूमिका खेल्नुपर्ने भनाई राख्नुभयो ।

शिक्षा मन्त्रालयले सहकारी अभियानले दिएको सुझाव अनुरुप कानुनी व्यवस्था गरेर सहकारी विषयलाई क्रमिकरुपमा पाठ्यक्रममा समावेश गर्दै जाने बताउनुभयो ।

उहाँले सहकारी उत्पादनलाई आधार बनाएर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले विशेषगरी सहरमा संचालित सहकारी संस्थामा समस्या बढी देखिनेगरेको जिकिर गर्नुभयो । हाल १ सय ३२ वटा सहकारी संस्थामा समस्या देखिएको र ती सवै संस्था सहरमा रहेको दलिल पेश गर्नुभयो ।

सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि कानुनी अड्चन रहेकाले पनि सहकारी संस्था बचत ऋण कारोबारमा मात्र केन्द्रित भएको भनाई राख्नुभयो ।

क्षमता भन्दा धेरै सहकारीको संख्या, उद्देश्य अनुरुपको काम नगर्ने र अस्वस्थ प्रतिस्पर्धाले गर्दा सहकारीमा समस्या उत्पन्न हुनेगरेको विचार राख्नुभयो ।

यसैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले सहकारीको सन्दर्भ व्याजदर घटाउने प्रस्ताव राखेकाले पुनरावलोकनको पकृया अवरुद्ध भएको बताउनुभयो ।

सन्दर्भ व्याजदर निर्धारण समितिका सदस्य समेत रहनुभएका पौड्यालले अभियानले हाल कायम रहेको १४ दशमलव ७५ प्रतिशत व्याजदरलाई २ प्रतिशत विन्दुले बढाउन चाहेपनि सरकारी पक्षका कारण बढ्ने सम्भावना कम रहेको जनाउनुभयो । उहाँले पुस ३० गते समितिको बैठक बस्ने तालिका रहेको जानकारी गराउनुभयो ।

यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सहकारी ऐन कार्यान्वयन हुननसकेकाले समस्या उत्पन्न भएको भनाई राख्नुभयो ।

समारोहमा नेपाल केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका संचालक मनोज कुमार थापा मगर, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का उपाध्यक्ष नवराज अर्याल, सहकारी हकहित राष्ट्रिय समाजका उपाध्यक्ष गोबिन्द गिरी, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि अतिथि रहनुभएको थियो ।

जिल्ला संघका महासचिव मनोज भण्डारीले संचालन गर्नुभएको समारोहमा उपस्थित अतिथि तथा सहभागीलाई उपाध्यक्ष खेमराज सुवेदीले स्वागत गर्नुभएको थियो ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष ज्ञान बहादुर तामाङले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो । उहाँले आगामी आर्थिक बर्षमा संघको आफ्नै कार्यालय भवन बनाउन पहल गर्ने बताउनुभयो  । 

साधारण सभाको बन्द सत्र संघका सचिव बालकुमार बाँस्तोलाले संचालन गर्नुभएको थियो  ।