म्याग्दी साकोसको शेयर पुँजी साढे सात करोड नाघ्यो

म्याग्दी साकोसको शेयर पुँजी साढे सात करोड नाघ्यो
समाचार | 2022-01-11 Share

काठमाडौं । गोंगबुचोकमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अध्यक्ष थदेवी पुनको अध्यक्षतामा पुस २४ गते आयोजित साधारण सभाको उद्घाटन संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचन र ७४ वर्षिय जेष्ठ शेयर सदस्य इन्द्र बहादुर अधिकारीले सामुहिकरुपमा दिप प्रज्वलन गरेर गर्नुभएको थियो । 

समारोहमा शुभकामना मन्तव्य दिनुहुँदै, सहकारी अभियन्ता तथा कानुनी परामर्शदाता डिल्लीराम तिवारीले सहकारीको विगत वर्तमान र भावी चुनौतीका बारेमा संक्षिप्त चर्चा गर्नुभयो । सबै सदस्यहरुले संस्थाको सर्वोपरी हितका लागि बचत तथा ऋणमा महत्वपूर्ण योगदान गर्नुपर्ने बताउँदै संस्था स्थापनाको १५औं वर्षमा आइपुग्दा आम म्याग्देलीहरुलाई संगठित गराउँदै, व्यवसायी बनाउन आर्थिक योगदान र वित्तीय ज्ञान दिएको स्मरण गराउनुभयो । 

त्यसैगरी संस्थाका वरिष्ठ सल्लाहकार डा. ज्योति शेरचनले फरक परिचय सहित स्थापित म्याग्दी सहकारीे धेरै सम्भावना बोकेको वित्तीय संस्थाकोरुपमा परिचित हुन आवश्यक रहेको बताउनुभयो । 

‘हामीसंग धेरै सम्भावनाहरु छन तिनको उपयोग गर्न सकियो भने म्याग्दी जिल्लालाई समृद्धिको शिखरमा पु¥याउन सकिन्छ । त्यसको नेतृत्व गर्ने क्षमता म्याग्दी सहकारीमा छ तसर्थ यसैमा आवद्ध भई सर्बैले हातेमालो गर्न म आव्हान गर्दछु’, उहाँले भन्नुभयो । 

साधारण सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष थदेवी पुनले संस्था स्थापनाको १५ वर्ष पुगेको अवसरमा सबै शेयर सदस्यप्रति शुभकामना व्यक्त गर्नुभयो । सहकारीले महिलाहरुको नेतृत्व विकास र सशक्तिकरणका लागि प्राथमिकतामा राखी काम गर्नुका साथै तीन कार्यकालसम्म पनि महिलालाई नै नेतृत्वमा स्थापित गरेकोमा सबैप्रति आभार प्रकट गर्नु भएको थियो । 

संस्थाका सचिव दिप बहादुर छन्त्यालले संचालन गर्नुभएको सारधारण सभामा उपस्थित अतिथि तथा सहभागीलाई संस्थाका सह–कोषाध्यक्ष छकप्रसाद शेरचनले स्वागन गर्नुभयो ।

अध्यक्षको तर्फबाट प्रबन्धक विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदन अनुसार गत असार मसान्त सम्म कुल १ हजार ६ सय ७७ जन सदस्य आवद्ध बनेको संस्थको शेयर पुँजी ७ करोड ५३ लाख, बचत संकलन ४३ करोड ९५ लाख र कर्जा लगानी ३७ करोड ६ लाख रुपैयाँ कायम भएको छ । बाँडफाँट योग्य मुनाफा १ करोड ३८ लाख रुपैयाँ रहेको छ । 

सो अवसरमा उत्कृष्ट बचत गर्ने सदस्यहरु मीमकुमारी छन्त्याल, सुकुन शेरचन, डम्मरबहादुर छन्त्याल र बेलबहादुर तिलिजा तथा असल कर्जा कारोवार गर्नु हुने फुलसाङ्गो शेरचन र संगिता घर्तिमगरलाई कदर पत्र प्रदान गरिएको थियो । 

सोही अवसरमा प्रारम्भिक साधारणसभा देखि १४औं वार्षिक साधारणसभासम्म निरन्तर उपस्थित भई उल्लेखनीय योगदान दिनु भएका सहकारी अभियन्ता तथा काुननी परामर्शदाता डिल्लीराम तिवारीलाई सम्मान गरिएको थियो । त्यसैगरी यो वर्षमा निधन हुनुभएका शेयर सदस्य तथा शेयर सदस्यहरुको परिवारका सदस्यहरुको स्मरणमा मौन धारण गरिएको थियो ।