‘हचुवाको भरमा सन्दर्भ ब्याजदर १७ प्रतिशत तोक्नुपर्छ भन्नु उचित होईन’

‘हचुवाको भरमा सन्दर्भ ब्याजदर १७ प्रतिशत तोक्नुपर्छ भन्नु उचित होईन’
अन्तर्वार्ता | 2022-02-24 Share

सन्दर्भ ब्याजदर निर्धारण समितिले गत वर्षको कात्तिक १५ गतेबाट लागू गरेको १४ दशमलव ७५ प्रतिशतको सीमा पुनरावलोकन नगरेपछि अहिले सहकारीकर्मी आन्दोलित बनेका छन् । राष्ट्रिय सहकारी महासंघले फागुन ३ गते प्रेस विज्ञप्ती निकालेर समितिलाई तीन दिनभित्र बैठक बसेर ब्याजदरको सीमा १७ प्रतिशत पु¥याउन आग्रह गरेको छ । महासंघकै आह्वानमा फागुन १० गते केही सहकारीकर्मीले विभाग परिसरमा धर्ना समेत दिएका छन् । यसै पृष्ठभूमिमा हामीले सन्दर्भ ब्याजदरको  विषयमा केन्द्रित भएर भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुसंग कुराकानी गरेका छौं । 

हालको सन्दर्भ ब्याजदर बढाउनुपर्छ भन्ने विषयमा तपाईंको धारणा कस्तो छ ? 

राष्ट्रिय सहकारी महासंघले फागुनको दुई÷तीन गते छलफलमा बोलाएको थियो । बैठकमा साथीहरुहले महासंघले ब्याज बढाउनुपर्छ भनेर लबिङ गरेन भने हामी आन्दोलमा जान्छौं भन्नुभयो । सन्दर्भ ब्याजदरले सहकारीको स्वायत्तता र स्वतन्त्रता हनन् ग¥यो भन्ने कुरा उठ्यो । मैले छलफलमा सन्दर्भ ब्याजदर बढ्दा स्वायत्तता र स्वतन्त्रता हनन् नहुने तर ब्याजदर घट्दा हनन् हुने भन्ने तर्क उचित नभएको विचार राखेँ । यदि यसबाट केही मात्रामा सहकारीको स्वायत्तता र स्वतन्त्रता हनन् भएको छ भने पनि सन्दर्भ ब्याजदर सहकारीलाई ब्यावस्थित बनाउन आएको हो । सहकारीमा जथाभावी चर्को ब्याज लिने प्रवृत्ति नियन्त्रण गर्न ल्याईएको ब्यवस्था भएकाले नै हामीले सहकारी ऐन, २०७४ जारी हुँदा यसको विरोध नगरेको कुरा स्मरण गराएँ । 

यो सहकारी ऐन र नियमावलीमा भएको विषय हो । हामीले सन्दर्भ ब्याजदर १७ प्रतिशत तोक्नुपर्छ भनेर माग गर्नुभन्दा पहिले यसको आधार दिन सक्नुपर्छ । केन्द्रमा बसेर विना आधार हचुवाका भरमा यति प्रतिशत हुनुपर्छ भन्नु उचित होईन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले पनि समयमै सहकारीको संचालन लागत यति पुग्यो, ब्याजदर यति पुग्यो भनेर देखाउनुपर्छ । जिल्ला सहकारी संघ, बचत तथा ऋण सहकारी संघ लगायतका सबै जिल्लाका विषयगत संघहरुलाई सम्बन्धित जिल्लामा ब्याजदरको अवस्था कस्तो छ भनेर सोध्नुपर्छ भनेको थिएँ । छलफलमा सन्दर्भ ब्याजदर यति प्रतिशत तोक्नुपर्छ भनेर मन्त्री वा रजिष्ट्रारसंग भेट्दा हामीले आधार दिन सक्नुपर्छ, हचुवाको भरमा माग गर्नहुँदैन भनेको थिएँ । हामी दुई चार जना पहुँचवाला सहकारीकर्मीले यति नै हुनुपर्छ भनेर पेल्न हुँदैन । समग्र सहकारी संघ÷संस्थाको ब्याजदरको डाटा सहित जानुपर्छ भन्ने मेरो भनाई हो । हचुवाको भरमा १७ प्रतिशत हुनुपर्छ भनेर माग राख्ने हो भने, १८ प्रतिशत, १९ प्रतिशत वा २० प्रतिशत किन भएन भन्ने प्रश्न आईहाल्छ । मैले अभियानको अहित हुने कुरा गरेजस्तो लाग्दैन । तर मलाई पछिल्लो बैठकमा बोलाईएन ।

केही जिल्ला स्तरीय संघहरुले औपचारिकरुपमै सन्दर्भ ब्याजदर अव्यवहारिक तथा अवैज्ञानिक छ भन्ने धारणा सार्वजनिक गरेका छन् । तपाईं के भन्नुहुन्छ ?

सन्दर्भ ब्याजदर सहकारीले ब्याजदरमा अवलम्वन गरेको स्वच्छन्दता नियन्त्रण गर्न आएको व्यवस्था हो । सहकारी संस्थामा हुँदै आएको केही दुष्कर्मी संचालकहरुको हालीमुहाली नियन्त्रण गर्न आएको हो । यसबाट सहकारीको स्वायत्तता र स्वतन्त्रता पक्कै केही हनन् भएको छ । तर यसकै आधारमा सन्दर्भ ब्याजदरको व्यवस्था वेठीक हो भन्न मिल्दैन । सन्दर्भ ब्याजदर ठीक छ । बरु यसलाई व्यवहारिक बनाउन तीन महिना वा ६ महिनामा सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसेर निर्णय गर्ने व्यवस्था गर्नुपर्छ । सहकारी अभियान ब्याजदर बढाउन मात्र अग्रसर हुने अनि नियामक निकाय चाहिँ सधैं घटाउन मात्र अग्रसर हुने कुरा वेठीक हो । हामीले बचत संघमा सन्दर्भ ब्याजदर ऋणमा मात्र नभई बचतमा पनि लागू गर्नुपर्छ  भनेर छलफल गरिरहेका छौं । केही सहकारीले कर्जा लगानीमा तोकिएको १४ दशमलव ७५ प्रतिशतको सीमा मान्ने नमान्ने कुरा अलग्गै रह्यो, अहिले बचतमा नै १७ प्रतिशत ब्याज दिईरहेका छन् । त्यसरी उठाएको रकम संचालकहरुले आफूखुसी चलाउने हुन् । त्यसैले समुदायमा आधारित सहकारी संस्थाहरुको माग अलि भिन्न छ । 

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको सदस्यता लिएका सहकारी संस्थाहरुले प्रवाह गरिरहेको कर्जाको औशत ब्याजदर कति छ ?

समुदायमा आधारित भएर अरब भन्दा बढीको कारोबार गर्ने तीन चार वटा संस्था बचत संघमा आवद्ध छन् । अहिलेसम्म समुदायमा आधारित भएर ठूलो कारोबार गर्ने सहकारीलाई १४ दशमलव ७५ प्रतिशतको ब्याजदरले पनि खासै समस्या परेको छैन । दश/बीस करोडको अलिकति सानो कारोबार गर्ने संस्थाहरुलाई यसले समस्या पारेको छ । अहिले बजारमा बैंक वित्तीय संस्थाले बचतमा १२ प्रतिशत ब्याजद दिन थालेपछि सहकारीलाई पनि १२÷१३ प्रतिशत दिनुपर्ने अवस्था उत्पन्न भएको छ । थोरै मार्जिनमा काम गर्नुपर्दा साना सहकारीलाई चाहिँ समस्या परेको छ । तर स्ट्याडर्डमा बसेका सहकारीको ऋणको ब्याजदर अहिले पनि  १४ प्रतिशत पुगेको छैन । तर मार्जिन नपुगेका संस्थाहरुका लागि चाहिँ सन्दर्भ ब्याजदर १६ प्रतिशत कायम गर्दा हुन्थ्यो भन्ने कुरा उठेको छ ।

सदस्यहरुको आर्थिक उन्नतिका लागि स्थापना भएका सहकारीको ब्याजदर सधैं महंगो हुनेगरेको छ । सहकारीको ब्याजदर सस्तो बनाएर सदस्यहरुलाई राहत दिन सकिँदैन ?

हामीले सहकारीले ऋणमा बैंक भन्दा एक प्रतिशत कम ब्याज र बचतमा बैंक भन्दा अतिकति बढी ब्याज दिनुपर्छ भन्दै आएका छौं । तर अहिले सहकारीले अनिवार्य छुट्टयाउनुपर्ने तरलता वापतको रकम पनि बैंकहरुमा रहेको छ । बैंकमा तरलता अभाव हुन थालेपछि सबै पैसा बैंकमा जानथाल्यो । सहकारीको बचत पनि उतै गयो । सहकारीमा रकम अभाव हुनथालेपछि बजारमा प्रतिस्पर्धा त गर्नैपर्छ । समुदायमा आधारित सहकारीले बचतमा बढी ब्याजद दिँदा र ऋणमा कम ब्याज लिँदा आफ्ना सदस्यलाई नै फाईदा हुने हो । हामी यही कुरा सदस्य संस्थाहरुलाई सिकाईरहेका छौं । मलाई ऋणमा ब्याजदर बढाउनुपर्छ भन्ने माग चाहिँ सदस्यहरुको भन्दापनि हामी संचालकहरुको हो जस्तो लाग्छ । ऋणको ब्याजदर बढाउनुपर्छ भनेर आन्दोलन गर्दा सदस्यहरु खुसी हुँदैनन् । तर मेरो भनाईको तात्पर्य ब्याजदर बढाउँनै हुँदैन भन्ने होईन । सहकारी अभियानले वास्तविक आँकडा, डाटा लिएर मात्र माग राख्नुपर्छ । सन्दर्भ ब्याजदर बढाउन वा घटाउनका लागि भनिराख्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । बजारमा ब्याजदर बढ्दा स्वत बढ्ने र घट्दा घट्ने प्रणाली अवलम्वन गर्नुपर्छ । 

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई आधार दर र प्रिमियको आधारमा ब्याजदर निर्धारण गर्ने स्वतन्त्रता दिएको छ । अहिले केही छाता संघहरुले सहकारीमा पनि आधार दरको व्यवस्था लागू गर्नुपर्छ भन्ने कुरा उठाएका छन् । सहकारीमा यो व्यवस्था लागू गर्न सकिन्छ ?

बैंक वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंकको कडा नियमनमा संचालन भएका छन् । कलिकति त्रुटि वा कैफियत हुँदा पनि राष्ट्र बैंकले तुरुन्त अनुगमन निरीक्षण गर्छ । राष्ट्र बैंकले कडाईका साथ अनुशासन पालना गराएको छ । यसैगरी नेपाल राष्ट्र बैंकको नियमनमा जम्मा १ सय २९ वटा बैंक वित्तीय संस्थाहरु मात्र छन् । यता सहकारीको संख्या ३० हजार छ । यसमा आधा त वित्तीय कारोबार गर्ने सहकारी छन् । तिनलाई कस्ले अनुगमन गर्ने, नियमन गर्ने, वित्तीय सुशासन पालना नगर्नेलाई कारबाही गर्ने भन्ने अन्योल छ । अहिले पनि कतिपय सहकारीले सन्दर्भ ब्याजदर भन्दा बढी ब्याज लिएका छन् । तर हामीले अहिले सम्म नियामक निकायले एउटा सहकारीलाई पनि बढी ब्याज लिएको भनेर कारबाही गरेको सुनेका छैनौं । 

नियामक निकायले पनि सूचना, मापदण्ड, निर्देशन केवल काम गरेको देखाउने उद्देश्यले मात्र जारी गरेको जस्तो देखिन्छ । कानुन पालना भए नभएको कडाईका साथ अनुगमन, नियमन गरेको पाईंदैन । त्यसैले मलाई यस्तो अवस्थामा बेस रेटको व्यवस्था प्रभावकारी हुन्छ जस्तो लाग्दैन । संघीय सहकारी विभागले जारी गरेको निर्देशन र प्रदेशले जारी गरेको मापदण्डको कुनै बँुदामा ‘यदि कुनै सहकारी संघ/संस्थाले सन्दर्भ ब्याजदरको व्यवस्था भन्दा फरक हुनेगरी कारोबार गरेको खण्डमा यो ठेगानामा उजुरी गर्नुहोला, उजुरीकर्ताको नाम गोप्य रहनेछ’ भन्ने राखिदिएको भए प्रभावकारी हुन्थ्यो । नियामक निकायले पनि फ्याट्ट निर्देशन जारी गरिदिएपछि मेरो काम सकियो भन्ने सोच राख्नेगरेको पाईन्छ ।