सत्तासीन चार दलको घोषणापत्रमा सहकारीः जनता समाजवादीले सहकारीको नामै लिएन

सत्तासीन चार दलको घोषणापत्रमा सहकारीः जनता समाजवादीले सहकारीको नामै लिएन
समाचार | 2022-04-27 Share

काठमाडौं । यही बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर मुलुकका प्रमुख राजनीतिक दल तथा उम्मेदवारहरुले जारी गरेको घोषणापत्रमा सहकारीलाई महत्वपूर्ण स्थान दिएका छन् ।

स्थानीय निर्वाचनमा गठबन्धन गरेर प्रतिस्पर्धामा उत्रिएका सत्ता साझेदार नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले पनि आ–आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । 

सत्ता साझेदार दलहरु मध्ये नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थानीय तहमा वसोबास गर्ने जनताको आर्थिक सामाजिक विकासमा सहकारीलाई प्राथमिकताकासाथ परिचालन गर्ने उल्लेख गरेका छन् । तर जनता समाजवादी पार्टीले भने घोषणापत्रमा सहकारीको विषयमा एक शब्द उल्लेख गरेको छैन । 

नेपाली काँग्रेस

सत्तासीन नेपाली काँग्रेस पार्टीले सहकारीलाई स्थानीय तहमा उद्यमशीलता र रोजगारीको क्षेत्रमा परिचालन गर्ने जनाएको छ । स्थानीय तहमा मानवस्रोतलाई दक्ष र प्रभावकारी रुपमा परिचालन गर्नका लागि सहकारी, सार्वजनिक निजी साझेदारी, आदि अवधारणा अवलम्बन गर्ने उल्लेख गरेको छ । 

यसैगरी सहकारी क्षेत्रमा सुशासन कायम गरी मर्यादित बनाउन स्थानीय स्तरमा सहकारीको प्रभावकारी नियमन गर्ने जनाएको छ । साथै सहकारी सङ्घ संस्थाहरुलाई एकीकरण गरी व्यवसायिकरण र गुणस्तर विकास गर्नुका साथै प्रविधिमैत्री सहकारी बनाउने उल्लेख गरेको छ । 

सहकारीले निर्माण गरेको पूँजिलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने जनाउँदै नेपाली काँग्रेसले घोषणापत्रमा ‘कृषिजन्य वस्तु मल, विउ, यन्त्र, उपकरण आदि सहकारी संघ÷संस्था मार्फत विक्री वितरण गर्ने व्यवस्थालाई व्यवस्थित र प्रभावकारी वनाउने’ उल्लेख गरेको छ ।  
सहकारी विद्यालय, कलेज, स्वास्थ्य केन्द्र आदिको सञ्चालन गर्दा स्थानीय सरकारसँगको समन्वयमा गर्ने व्यवस्था गर्ने नेपाली काँग्रेसले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र)

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले औपचारिक घोषणापत्र जारी नगरेपनि एक अपिल जारी गरेर यसकै आधारमा सम्वन्धित स्थानीय तहको पार्टी संगठनलाई घोषणापत्र जारी गर्ने अधिकार दिएको छ ।

माओवादी केन्द्रले जारी गरेको अपिलमा उद्यमशीलताको विकास र रोजगारीको विस्तार गर्नका लागि ‘टोल–टोलमा सहकारी–घरघरमा रोजगारी’ भन्ने नारा तय गरेको छ । ‘सार्वजनिक,सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको मोडेलबाट हामीले समाजवादउन्मुख समृद्धिको परिकल्पना गरेका छौं’ भन्ने अपिलमा उल्लेख गरेको छ ।

अपिलमा लेखिएको छ, ‘समूह, सहकारी, परिवारमार्फत् आम जनतालाई आर्थिक विकासको साझेदार बनाउनु र प्रतिफलमा यथोचित प्रतिफलको सुनिश्चितता गर्दै समृद्ध र समानतामूलक समाज निर्माण हाम्रो आर्थिक विकासको केन्द्रीय सार हो ।’

माओवादी केन्द्रले कृषिलाई अर्थतन्त्रको प्रमुख आधार मानेर कृषिको आधुनिकीकरणसहित रुपान्तरणका लागि भूमिको उचित व्यवस्थापन, सिँचाइको उचित व्यवस्था, कृषिको यान्त्रिकीकरण र व्यावसायीकरणमा जोड दिएको छ ।

यसका लागि साना मझौला किसानहरुको सहकारी तथा समूहहरुको निर्माण गरेर ठूलो परिमाणको उत्पादनसहित मूल्य अभिवृद्धि श्रृङ्खलामा जोडदिने जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी)

सत्ता गठबन्धनको अर्को साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीले मनमोहन अधिकारीको नेतृत्वमा २०५१ सालमा गठन भएको नौ महिने सरकारले ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ कार्यक्रम ल्याएको स्मरण गराएको छ ।

एकीकृत समाजवादीले सरकारी विद्यालयको पठन–पाठनलाई स्तरीय बनाएर महँगो शुल्क लिएर संचालित निजी विद्यालयलाई निरुत्साहित गर्ने नीति लिएको छ । निजी लगानीका विद्यालयहरू सहकारी वा गुठीमा रूपान्तरण हुन चाहने हो भने विशेष सुविधा दिने केन्द्रीय नीति बनाउने उद्घोष गरेको छ ।

अहिले कृषि पेशामा संलग्न हुने किसानको ज्यालासमेत नउठ्ने अवस्था रहेकाले ग्रामीण क्षेत्रबाट जनशक्ति विस्थापित भई वैदेशिक रोजगारीमा युवा जनशक्ति पलायन भईरहेको एकीकृत समाजवादीले ठहर गरेको छ । 

यस्तो अवस्थाको अन्त्य गर्नका लागि हरेक पालिकाहरूले आफ्नो भूगोलभित्र कृषि उत्पादन बढाउने र कृषि उत्पादन विक्री हुने सुनिश्चितताका लागि व्यवस्थित योजना बनाई लागू गर्ने उल्लेख गरको छ । 

एकीकृत समाजवादीले सहकारी तथा सामूहिक खेतीको अभ्यासलाई अगाडि बढाउन यस्तो प्रणालीमा आवद्ध किसान समूहरूलाई मालपोत तथा कर छुट दिने नीति अवलम्वन गरेको छ ।

जनता समाजवादी पार्टी, नेपाल

वर्तमान सरकारको अर्को साझेदार जनाता समाजवादी पार्टी, नेपालले बैशाख १० गते ६ पृष्ठको घोषणापत्र जारी गरेको छ । समाजवादी अर्थ–राजनीतिक दिशा उपशीर्षकमा पार्टीले ‘समाजवाद न्याय, समानता, स्वतन्त्रता र सम्पन्नता भएको, विभेद र शोषण नभएको राज्य व्यवस्था हो’ भन्ने उल्लेख गरेको छ ।

समाजवादमा उत्पादनका साधनहरू सामाजिक हित र स्वामित्वमा प्रयोग हुने उल्लेख गर्दै ‘वर्तमान परिस्थितिमा बजार, राज्य र समुदायको समुचित व्यवस्थापन र भूमिका हुने गरी समाजवादउन्मुख नीति लिइने’ जनाएको छ ।

घोषणापत्रमा समाजवादको व्यायाख्या गर्न प्रशस्त कसरत गरेपनि जनता समाजवादी पार्टीले आफ्नो घोषणापत्रमा सहकारीको विषयमा भने एक शब्द पनि उल्लेख गरेको छैन ।