जेठ २९ र ३० गते चौथो साकोस शिखर गोष्ठी हुने: सहभागी दर्ता फाराम खुला

जेठ २९ र ३० गते चौथो साकोस शिखर गोष्ठी हुने: सहभागी दर्ता फाराम खुला
समाचार | 2022-05-09 Share

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले कोरोना भाईरस (कोभिड-१९) महामारीका कारण गत बर्ष  स्थगित गरेको साकोस शिखर गोष्ठी (साकोस समिट) आगामी जेठ २९ र ३० गते आयोजना गर्ने भएको छ । 

नेफ्स्कूनले 'दिगो एवम् एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि' भन्ने थिमका साथ संचालन गर्नलागेको गोष्ठीका लागि सहभागी दर्ता फाराम खुला गरेको छ ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलको संयोजकत्वमा आईतबार बसेको पहिलो तयारी बैठकले दर्ता फाराम खुला गरेको हो । 

कार्यक्रममा सहभागिता जनाउन संघमा आवद्ध संघ/संस्थाले १२ हजार रुपैयाँ (भ्याट बाहेक) तिर्नुपर्ने छ । जेठको १० गतेपछि नाम दर्ता गराउने सहभागिले १३ हजार ६ सय रुपैयाँ (भ्याट बाहेक) तिर्नुपर्ने संघले जनाएको छ ।

महिलाहरु मात्र आबद्ध रहेको सदस्य संस्था (एक संस्थाबाट एक जना मात्र) को हकमा भने ११ हजार रुपैयाँ (भ्याट बाहेक) तिर्नुपर्ने हुन्छ । त्यस्तै अन्य संघ/संस्था र निकायले जेठ १० गतेसम्म १७ हजार रुपैयाँ (भ्याट बाहेक) तिरेर कार्यक्रममा सहभागिता जनाउन सकिने नेफ्स्कूनले जनाएको छ ।

चौथो साकोस समिटको आयोजनालाई निरन्तरता दिँदै लामो समयदेखि अबरुद्ध जस्तै भएको सिकाई प्रक्रियामा बचत तथा ऋण सहकारी अभियान र सरोकारवालाहरुको प्रभावकारी र क्रियाशिल सहभागिता सहित उपलब्धीमूलक सिकाई हासिल हुने अपेक्षा रहेको संघले जनाएको छ । 

संघले २०६८ सालमा प्रथम साकोस समिट आयोजनागरेको संघले  प्रत्येक तीन बर्षमा शिखर गोष्ठी  सञ्चालन गर्दै आइरहेको छ । दोस्रो साकोस समिट २०७१ र तेस्रो समिट २०७५ जेठ २४ र २५ गते सम्पन्न भएको थियो । दोस्रो र तेस्रो समिटले जारी गरेका घोषणापत्रहरुलाई पछ्याउँदै संघले आफ्ना वहस पैरवीलाई निरन्तरता दिँदै सुशासित र व्यवस्थित साकोस विकासमा लागिरहेको छ भने चौथो समिटको आयोजना गरेको जनाएको  छ ।

समिटमा नेपालको आर्थिक विकास एवम् सहकारी क्षेत्रमा योगदान गर्नुहुने विज्ञ साथै विश्वका सफल बचत तथा ऋण सहकारी अभ्यासमा क्रियाशिल व्यक्तिहरुबाट कार्यपत्रहरु प्रस्तुत हुनेछन् । दुइ दिवसीय उक्त गोष्ठीमा दुई वटा सामुहिक सत्र र आठ वटा ब्रेकआउट सत्र गरी जम्मा १० सत्र सञ्चालन गरिनेछ । 

चौथो समिटले नेपालको साकोस अभियानलाई सशक्त, सञ्जालिकृत, गुणात्मक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास संघले लिएको छ । समिट जेठ २९ र ३० गते काठमाडौंको होटल सोल्टीमा बिहान ८ः३० देखि बेलुकी ५ः०० बजे सम्म सञ्चालन हुनेछ । 

सहभागी नाम दर्ता फारामका लागि नेफ्स्कूनको वेबसाइट  https://www.nefscun.org.np मा गइ Register for SACCOS Summit बटनमा क्लिक गरी आफ्नो नाम दर्ता गराउन सकिने संघले जनाएको छ ।