साझा सहकारीमा रोक्का रहेको जग्गा फुकुवा गर्न साउन १७ अघि विवरण बुझाउनुपर्ने

साझा सहकारीमा रोक्का रहेको जग्गा फुकुवा गर्न साउन १७ अघि विवरण बुझाउनुपर्ने
समाचार | 2022-06-30 Share

काठमाडौं । संघीय सहकारी विभागले पुराना साझा सहकारी संघ/संस्थाको नाममा रोक्का रहेको जग्गा फुकुवा गर्न संस्था र सदस्यहरुसंग ऋण कारोबारको विवरण मागेको छ ।

विभागले हिजो (असार १५ गते) एक सूचना प्रकाशित गरेर पुराना साझा सहकारी संघ/संस्थाको सम्पत्ति र दायित्व यकिन गरेर सदस्यहरुको ऋण व्यवस्थापन गर्न साझा सहकारीबाट ऋण लिएका व्यक्तिहरुको विवरण मागेको हो । 

विभागले २०४९ जेठ २ गते भन्दा अघि साझा संस्थाबाट ऋण लिएका सदस्यलाई साउन १७ गतेभित्र विवरण बुझाउन सूचित गरेको छ ।

सदस्यले साझा सहकारी संस्थालाई हालसम्म तिन बुझाउन बाँकी रहेको सावाँ, व्याज र हर्जना समेत जम्मा तिर्नुपर्ने दायित्वको रकमका साथै साझा सहकारी संस्थाका सदस्यको नाममा रोक्का रहेको घरजग्गा र रोक्का राख्ने बैंकको विवरण विभागले मागेको छ । 

यसैगरी विभागले साझा सहकारी संस्थाका सदस्यहरुलाई ऋण प्रवाह गर्ने सिलसिलामा तत्कालीन साझा सहकारी संघ/संस्थाले कृषि विकास बैंकसंग लिएको ऋणको विवरण समेत बुझाउन आग्रह गरेको छ । 

विभागले प्रदेश सहकारी मन्त्रालय, प्रदेश रजिष्ट्रार कार्यालय, सबै स्थानीय तह, राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय सहकारी संघहरु र जिल्ला सहकारी संघहरुलाई विवरण भर्ने काममा सहजीकरण गर्न अनुरोध गरेको छ ।