सरकार र सहकारी अभियान एउटै डुङ्गाका सहयात्रीः मन्त्री श्रेष्ठ

सरकार र सहकारी अभियान एउटै डुङ्गाका सहयात्रीः मन्त्री श्रेष्ठ
समाचार | 2022-07-02 Share

काठमाडौँ  । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुलुकको समृद्धिका लागि सरकार र सहकारी अभियान एउटै डुङ्गाको सहयात्री भएको विचार व्यक्त गर्नुभएको छ । 

सहकारी मार्फत भूमिको समग्र विकास गरी गरिबी निवारण गर्न आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय सहकारी महासंघले १००औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा  आज  (असार १८ गते ) ललितपुरको पुल्चोकमा आयोजना गरेको विशेष समारोहलाई संबोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सहकारी अभियानको सकारात्मक सुझावलाई ग्रहण गर्न सरकार सधै तयार रहेको बताउँदै मन्त्री श्रेष्ठले सहकारीबाट रोजगारी सिर्जना गरेर जनताले देखिने र सुन्ने गरी काम गर्न आफू  आतुर रहेको बताउनुभयो ।

साथै सहकारीप्रतिको जनविश्वास बढाउनु पर्ने आग्रह गर्दै उहाँले सहकारी व्यवसायलाई अवरोध पु¥याउने कानूनी व्यवस्थामा समसामयिक परिवर्तन सकिने बताउनुभयो । सो कार्यक्रममा सहकारीले उत्कृष्ट विश्व निर्माण कसरी योगदान गर्न सक्छ भन्ने विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । ।

सोही अवसरमा सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारी लोकतान्त्रिक र सुशासन अभ्यास गर्ने थलो भएकाले लाभको पदमा बसेका सहकारीका सदस्यहरुले पद त्याग गर्नुपर्ने बताउँदै सम्पत्ति सुद्धिकरणलाई सहकारी संघ/संस्थाहरुले महत्वकासाथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

समारोहमा महासंघका पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, सल्लाहकार उषा झा र महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमिरेले शुभकामना मनतव्य राख्नुभएको थियो ।   

महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियान सरकारसंग हातेमालो गरेर विकासको सहयात्री बन्न चाहेको बताउँदै सहकारी ऐन, २०७४  मा भएको व्यवस्था अनुसार नै सहकारी संघ/संस्थाहरुलाई कर निर्धारण गर्न माग गर्नुभयो । 

महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

 
घिमिरेलाई राष्ट्रिय सहकारी पुरस्कार

सहकारी अभियन्ता तथा राष्ट्रिय सहकारी महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमिरेलाई  राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट सम्मान गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले उहाँलाई नगद ५० हजार सहित सम्मान गर्नुभएको हो । सो अवसरमाउत्कृष्ट सहकारी पुरस्कार २०७८बाट जिल्ला सहकारी संघ लि.दोलखा पुरस्कृत भयो ।

उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८बाट प्रत्यक प्रदेशबाट एक एक  वटा प्रारम्भिक संस्था पुरस्कृत भएका छन् । प्रदेश १ बाट झापाको मेची बहुउद्देश्यी सहकारी संस्था लि., मधेश प्रदेशबाट बाराको बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि., बागमती प्रदेशबाट काठमाडौंको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. पुरस्कृत भए ।

गण्डकी प्रदेशबाट बागलुङ्गको कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. लुम्बिनी प्रदेशबाट बर्दियाको सिको बचत तथा ऋण सहकारी संस्था लि, कर्णाली प्रदेशबाट सुर्खेतको जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. र सुदुरपश्चिम प्रदेशबाट कैलालीको एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.पुरस्कृत भए । पुरस्कृत संस्थालाई नगद २५ हजार प्रदान गरिएको थियो ।

त्यसैगरी  उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०७८बाट भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का व्यवस्थापक बालकृष्ण ध्वजु सम्मानित हुनुभएको छ ।