लेखाको परिचय तथा सहकारी लेखा प्रणाली

– लेखनाथ खतिवडा
आर्थिक कारोबारहरूको क्रमबद्ध, नियमित र व्यबस्थित अभिलेखलाई लेखा भनिन्छ । आर्थिक कारोबार भनेको दुई पक्षका बीचमा निश्चित मौद्रिक मूल्य अंकित वस्तु, सेवा वा विचारको विनिमयलाई भनिन्छ ।
आर्थिक कारोबारका लागि सामान्यतया निम्नानूसार हुनु पर्दछ :
- दुई पक्ष हुनुपर्छ । जस्तैः क्रेता र बिक्रेता, साहू र आसामी, लिने र दिने व्यक्ति ।
- दूई पक्षवीच लेनदेन भएको हूनु पर्दछ । जस्तैः बस्तु, सेवाको
- त्यस्तो लेनदेन निश्चित मौद्रिक मूल्यमा अंकित भएको हुनुपर्दछ ।
लेखालाई व्यबसायमा सूचना प्रवाह गर्ने माध्यमको रुपमा लिइन्छ । लेखा बिना व्यबसायको बोध गर्न नसकिनेहुँदा लेखा व्यबसायको भाषा हो । उक्त भाषा गोश्वारा भौचर, खाता, आर्थिक विवरण तयार गरी प्रस्तुतीकरण गरिन्छ ।
लेखाको प्रयोग प्राचीन समयदेखि नै भएतापनि आधुनिक लेखा सन् १४९४ इटालीका म्याथमेटिसिएन लुका पाछोली (Luca Pacioli) को समरी अभ अरिथमेटिक, जीओमट्री, प्रोपोर्सन्स एण्ड प्रोपोर्सनालिटी (Summary of arithmetic, geometry, proportions and proportionality) नामक पुस्तक प्रकाशित भएबाट शुरु भएको हो । उक्त पुस्तकमा अकाउन्ट अभ् भेनिस सम्बन्धी पाठ समाबेश थियो । पछोलीको पुस्तक प्रकाशन पश्चात जेम्स प्यूल (James Pule) द्वारा ऋणी र धनी (Debtor and Creditor) सम्बन्धी पुस्तक र सन् १७९५ को एडवार्ड जेम्स् (Edward James) को प्रकाशन पनि महत्वपूर्ण मानिन्छ ।
नेपालको सन्दर्भमाः
- वि.सं. १९३६ सालमा खरिदार गुणवन्तले प्रादुर्भाव गरेको स्याहा स्रेस्ता प्रणाली को आधारमा राजश्व र खर्चको लेखा राखिन्थ्यो ।
- सर्वप्रथम दोहोरो लेखा प्रणालीको सुरुवात नेपालको व्यबसायिक तथा आर्थिक क्षेत्रमा वि.सं. १९९४ देखि नेपाल बैंक लि. स्थापना पश्चात भएको ।
- सरकारी क्षेत्रमा दोहोरो स्रेस्ता प्रणाली आ.ब. २०१९/०२० देखि तत्कालिन श्री ५ को सरकारको नयाँ स्रेस्ता प्रणालीको रुपमा लागू भएको ।
- सन् १९४१ मा अमेरिकन इन्स्टिटूट अभ् सर्टिफाईड पब्लिक अकाउन्टेन्टस् (American Institute of Certified Public Accountants) नामक संस्थाका अनुसार “लेखा भनेको मौद्रिक र मौद्रिक सरह कारोबारहरूको अभिलेख, वर्गीकरण, संक्षेपीकरण र प्रस्तुतीकरण गर्ने कला हो ।”
लेखाका केही अवधारणाहरू वा सिद्धान्तहरूः
व्यवसायिक अस्तित्वको अवधारणा (Business Entity Concept):
व्यवसायको मालिक र व्यवसाबीच भिन्नता भएका मात्र कारोबारको वास्तविक स्थिति प्रस्तुत । मालिकको निजी खर्च र आम्दानीलाई व्यबसायमा समाबेश गरिंदैन ।
मौद्रिक मापन अवधारणा (Money measurement Concept) :
मौद्रिक कारोबारहरूको मात्र लेखा अभिलेख गर्नु पर्दछ ।
लागत अवधारणा (Cost Concept):
कारोबारहरूको लेखा वास्तविक वा परलमूल्यमा गर्नु पर्दछ । नकि बजारमूल्य वा स्वेच्छिक मूल्यमा ।
निरन्तरताको अवधारणा (Going Concern Concept):
व्यवसाय निरन्तर चलिरहन्छ भन्ने मान्यताबाटै कारोबार अभिलेख गरिन्छ ।
दोहोरो पक्षको अवधारणाः
प्रत्येक कारोबारको दुई पक्ष हुन्छ । एउटै रकमले दुबै पक्षमा प्रभाव पारेको हुन्छ । यसै अधारमा लेखा समिकरण बन्दछ ।
प्राप्ति अवधारणा (Realisation Concept):
अनुमानितरुपमा नभै वास्तविकरुपमा प्राप्त भएको, तिरेको वा प्राप्त हुने आम्दानी वा तिर्न बाँकी खर्चको अभिलेख राखिन्छ ।
हिसाब मिलानको अवधारणा (Matching Concept):
आम्दानी र खर्च बीच मिलान हुनु पर्दछ, सन्तुलन हुनु पर्दछ ।
लेखाको महत्व तथा उद्देश्य
- व्यवस्थित अभिलेख राख्छ
- नाफा नोक्सान पत्ता लगाउछ
- आर्थिक स्थिति पत्ता लगाउछ
- प्रमाणको रुपमा पेश गर्न सकिन्छ
- निर्णय प्रक्रियामा सहयोग गर्छ
लेखाको समीकरण
कुनै पनि व्यवसाय सञ्चालन गर्नका लागि सर्वप्रथम स्रोतको आवश्यकता पर्दछ, जस्तै– नगद, भवन, फर्निचर, कच्चा पदार्थ, इत्यादि । यी स्रोतहरु कुनै पक्षबाट आपूर्ति गरिनुपर्दछ । यी स्रोतहरु व्यवसायको स्वामित्वमा हुने हुँदा व्यवसायको तर्फबाट भन्नुपर्दा यिनलाई ‘सम्पत्ति’ भनिन्छ । यी स्रोतहरु जुटाउने सिलसिलामा व्यवसायका मालिक (शेयरधनी) हरुले संस्थामा लगाएको लगानीलाई ‘पुँजी’ भनिन्छ ।
यसरी व्यवसाय सञ्चालनको लागि आवश्यक सम्पत्ति जुटाउँदै जाने र यी सम्पत्ति जति जुटाउने हो त्यति नै मात्रामा ‘पुँजी’ समेत थपिंदै जाने हुँदा व्यवशायमा निम्नअनुसारको एउटा समीकरण बन्दछ:
सम्पत्ति = पुँजी (यहाँ पुँजी भन्नाले सामान्यतः सदस्यको शेयर पूँजीलाई लिइएको छ ।)
त्यसैगरी पुँजीका अतिरिक्त अन्य स्रोतबाट पनि व्यवसायमा सम्पत्तिको परिपूर्ति गरिन्छ, जुन व्यवसायले तिर्नुपर्ने हुन्छ, त्यसलाई ‘दायित्व’ भनिन्छ । सम्पत्ति, पुँजी र दायित्वलाई समेत समावेश गर्दा माथिको समीकरण यस्तो हुन्छः
सम्पत्ति = पुँजी + दायित्व
अथवा
कूल सम्पत्ति = कूल दायित्व
यसरी हाम्रो व्यवसायमा भएको सम्पत्तिको परिपूर्ति पुँजी र दायित्वबाट हुने हुँदा सम्पत्तिको योग अनि पुँजी र दायित्व जोड्दा हुने योग बराबर भई एउटा समीकरण बन्दछ जसलाई लेखाको समीकरण भनिन्छ ।
लेखाङ्कन नियमको चिनारी
लेखाका सिद्धान्तहरुमध्ये एउटा महत्वपूर्ण सिद्धान्त भनेको दोहोरो पक्षको सिद्धान्त हो । दोहोरो लेखा प्रणालीमा प्रत्येक कारोबारका दुईवटा पक्षलाई समावेश गरी लेखा राखिने हुँदा कारोवारले कुन पक्षमा के असर पार्दछ र सोको अभिलेख कसरी गर्ने भन्ने कुरा निश्चित नियमको अधिनमा रही गरिन्छ । यो नियमलाई नै हामी लेखाङ्कन नियम भन्दछौं । अझ सजिलोसंग भन्नु पर्दा लेखा प्रणालीका डेविट र क्रेडिट गरी लेखा राख्ने निश्चित नियमहरुलाई नै लेखांकन नियम भनिन्छ ।
लेखाङ्कन नियमका चरणहरुः
प्रत्येक आर्थिक कारोबारमा एउटा पक्ष ‘डेबिट’ हुन्छ भने अर्को पक्ष ‘क्रेडिट’ हुन्छ । लेखाङ्कन नियमअनुसार प्रत्येक कारोबारको डेबिट र क्रेडिट पक्ष छुट्याउने कार्य निम्न चरणहरुमा पूरा गरिन्छः
(क) प्रथम चरण: दुई पक्ष पत्ता लगाउनु,
(ख) दोस्रो चरण: कारोबारका पक्षहरुको प्रकृति छुट्याउने, सम्पत्ति, दायित्व, खर्च र आम्दानी
(ग) तेस्रो चरण: असर पत्ता लगाउने
व्यवसायिक क्रियाकलाप सञ्चालन गर्ने क्रममा गरिएको आर्थिक कारोबारबाट रकम बढेको छ कि घटेको छ भनी यस चरणमा असर पत्ता लगाइन्छ ।
- सम्पत्ति, दायित्व र पुंजीमा पर्ने असर
हाम्रो संस्थाले गर्ने आर्थिक कारोबारको सिलसिलामा सम्पत्ति, दायित्व र पुँजीमा निम्नअनुसारको असर पर्न सक्दछ:
सम्पत्ति वृद्धि हुन्छ सँगसँगै दायित्व/पुँजी पनि वृद्धि हुन्छ ।
सम्पत्ति घट्छ, सँगसँगै दायित्व/पुँजी पनि घट्छ ।
सम्पत्ति बढ्छ सँगसँगै सम्पत्ति नै घट्छ ।
- आम्दानी र खर्चमा पर्ने असर
आर्थिक कारोबारको सिलसिलामा आम्दानी एवं खर्च हुँदा निम्न अनुसारको असर पर्दछः
- आम्दानी हुँदा आम्दानी बढ्छ साथै सम्पत्ति बढ्छ अथवा दायित्व घट्छ
- खर्च हुँदा खर्च बढ्छ साथै सम्पत्ति घट्छ अथवा दायित्व बढ्छ
- आर्थिक कारोबारबाट सम्पत्ति, दायित्व आम्दानी अनि खर्चमा परेको असर पत्ता लगाएपछि सो असरअनुसार निम्नबमोजिम कारोबारका पक्षहरुलाई डेबिट अथवा क्रेडिट गरिन्छः
सहकारी लेखा प्रणालीका मुख्य खाताहरु:
लेखापालन अन्तर्गत प्रारम्भिक अभिलेखकोरुपमा गोश्वारा भौचर तयार गरीसके पछि उक्त भौचरहरुलाई सम्वन्धित खाताहरुमा प्रविष्टि गर्नुपर्दछ । यसका लागि सहकारीहरुको हकमा चारवटा मूलखाताहरु सिफारिश भएको छ भने आवश्यकता अनुसारका अन्य सहायक खाताहरु पनि राख्नुपर्ने हून्छ । ती खाताहरु निम्न वमोजिम छन्:
मुख्य खाताहरु
१.दायित्व खाता (फाराम नं.५)
हि.नं.१० देखि हि.नं.७० सम्म
२. सम्पत्ती तथा जायदात खाता (फाराम नं.४)
हिसाव नं. ८० देखि हि.नं. १४० सम्म
३. सामान खरिद तथा खर्च खाता (फाराम नं.२)
हि.नं.१५०.१ देखि १५०.१३ सम्म
४. सामान विक्री तथा आम्दानी खाता (फाराम नं.३)
हि.नं. १६०.१ देखि १६०.६ सम्म
मूख्य खाताहरुको परिचय:
- दायित्व खाता (फाराम नं.५)
यस खातामा सहकारी संघ संस्थाले ढिलो चांडो आफ्ना सदस्य, कर्मचारी, ऋृणदाता वा अन्य कसैलाई वूझाउनूपर्ने तिर्नूपर्ने रकमहरु चढाइन्छ । यसमा सहकारी संकेत नम्वर अनूसार १० देखि ७० सम्मका हिसाव नम्वरहरु पर्दछन् । यो खाताको प्रत्येक शीर्षकमा डेविट, क्रेडिट र वांकी महलहरु हून्छन् जसमा क्रेडिट रकमवाट डेविट रकम घटाई बाँकी उल्लेख गरिन्छ । यस खाताको प्रत्येक शीर्षकमा डेविट भन्दा क्रेडिट रकम वढि हूने भएकाले यसको मौज्दात (Balance) क्रेडिट हून्छ ।
- सम्पत्ती तथा जायदात खाता (फाराम नं.४)
यस खातामा सहकारीको स्वामित्वमा रहेको धनमाल, जायजेथा, सम्पत्ती, सवै प्रकारका लगानी पाउनू पर्ने, लिनूपर्ने रकम आदि सवै प्रकारका सम्पत्तीहरुको प्रविष्टि गरिन्छ । यसमा सहकारी संकेत नम्वर अनूसार ८० देखि १४० सम्मका हिसाव नं. अर्थात् शीर्षकहरु उल्लेख गरिएका हून्छन् । दायित्व खातामा जस्तै यसमा पनि डेविट क्रेडिट र वांकी महलहरु प्रत्येक शीर्षकमा हुन्छन् । यो खाताको प्रत्येक शीर्षकमा डेविट महल जोड्ने र क्रेडिट महलको रकम घटाई वांकी उल्लेख गरिन्छ । खाताको अन्तिम महलमा रहेको कूल जम्माले प्रत्येक शीर्षकको वांकी महलहरुको जोडलाई जनाउंदछ । यो डेविट मौज्दात हूने खाता हो ।
- सामान खरिद तथा खर्च खाता (फाराम नं.२):
यस खातामा सहकारी संघ÷संस्थाले व्यवसायिक प्रयोजनका लागि खरिद गरिएका सामान, तिनमा लाग्ने ढूवानी, ज्याला खर्चको साथै अन्य संचालन तथा प्रशासनिक खर्चका रकमहरु प्रविष्टि गरिन्छ । दायित्व र सम्पत्ती खातामा जस्तो यस खातामा डेविट, क्रेडिट र वांकी महलहरु हूंदैनन् । यो खाता डेविट खाता भएकाले अधिकांश डेविट रकमहरु मात्र चढाइन्छ । यदि कुनै उल्टो भौचर (Reverse Voucher) प्रविष्टि गरी क्रेडिट रकम चढाउनू पर्ने भएमा त्यस्तो रकमलाई कोष्ठभित्र राखि जोड गर्दा कुल रकमवाट घटाउने गरिन्छ । सहकारी संकेत नम्वर अनुसार यस खातामा १५०.१ देखि १५०.१३ सम्मका विभिन्न उपशीर्षकहरु उल्लेख गरिएका हुन्छन।
- सामान विक्री तथा आम्दानी खाता (फाराम नं.३)
यस खातामा सहकारी संघ÷संस्थाले व्यापारिक सामान विक्रीवाट प्राप्त रकम र अन्य प्रकारका आम्दानी चढाउने गरिन्छ । यस खातामा पनि डेविट, क्रेडिट र वांकी महलहरु हुँदैनन् । यस खाताको कुल मौज्दात जहिले पनि क्रेडिट नै हुन्छ । यसमा अधिकांशतः क्रेडिट रकमहरु मात्र चढाइन्छ । यदि कुनै उल्टो भौचर (Reverse Voucher) प्रविष्टि गरि डेविट रकम चढाउनू पर्ने भएमा त्यस्तो रकमलाई कोष्ठभित्र राखि जोड गर्दा कुल रकमवाट घटाउने गरिन्छ । सहकारी संकेत नं. अनूसार यस खातामा १६०.१ देखि १६०.६ सम्मका उपशीर्षकहरु राखिएका छन् ।
सहायक खाताहरुको परिचयः
सहकारी संघ संस्थामा हुने आर्थिक कारोबारको गोश्वारा भौचर उठाईसकेपछि तिनीहरुलाई मुख्य खाताहरुको साथसाथै सहायक खातामा पनि प्रविष्टि गर्नुपर्दछ । विभिन्न व्यक्तिसंग उस्तै वा भिन्दै प्रकृतिका कारोबारहरु भएको अवस्थामा सम्बन्धित शीर्षकको सहायक खाता पनि खोल्नुपर्छ । सहायक खाताहरुको कुल योग मूख्य खाताको सम्बन्धित शीर्षकमा उल्लेख गरिएको कुल योग बराबर हुन्छ ।
सहकारी संघ संस्थाहरुमा राखिने हिसाबमा मुख्यतः निम्न शीर्षकहरुमा सहायक खाताहरु राख्नुपर्छ:
१. हिसाब नं. १० शेयर पुँजी : शेयर दर्ता किताब, सदस्य दर्ता किताब आदि ।
२. हिसाब नं. २०.१ : जगेडा कोषको सहायक खाता
हिसाब नं. २०.२ : विभिन्न कोषहरुको छुट्टाछुट्टै सहायक खाताहरु ।
३. हिसाब नं. ३० निक्षेप हिसाब : बचत खाता, धरौटी खाता र यी अन्तर्गतका व्यक्तिगत खाता ।
४. हिसाब नं. ४० ऋण लिएको हिसाब : सहकारी संघ संस्थालाई ऋण प्रदान गर्ने संस्था वा व्यक्तिहरुको खाता ।
५. हिसाब नं. ६० भुक्तानी दिनुपर्ने हिसाब : उधारो खरिद, पेश्की प्राप्त, कर्मचारी हितकोष, सापटी प्राप्त आदिसंग सम्बन्धित व्यक्तिगत खाताहरु ।
६.हिसाब नं. ७० अन्य दायित्व हिसाब : तिर्नुपर्ने तलब भत्ता, घरभाडा, व्याज, लेखा परीक्षण सम्बन्धी व्यक्तिगत खाता ।
७. हिसाब नं. ९० बैंक चल्ती खाता : विभिन्न बैंकहरुको खाता ।
८. हिसाब नं. १०० लगानी हिसाब : धितोपत्र खरिद, मुद्धति खाता, बचत खाता, शेयर खरिद आदि सम्बन्धी खाता ।
९. हिसाब नं. ११० सदस्यहरुलाई दिएको ऋण हिसाब : सदस्यहरुको व्यक्तिगत ऋण हिसाब ।
१०. हिसाब नं. १२० पाउनुपर्ने हिसाब : उधारो बिक्री, पेश्की दिएको, पाउनुपर्ने व्याज, हितकोष जम्मा, बेरुजु सर्टेज हिसाब, धरौटी हिसाब आदि सम्बन्धी व्यक्तिगत खाता ।
११. हिसाब नं. १३० स्थिर सम्पत्ति : फर्निचर, सेफ, सवारी साधन, जग्गा, भवनसम्बन्धी छुट्टाछुट्टै खाता
१२. हिसाब नं. १४० अन्य सम्पत्ति : अन्य सम्पत्ति सामानहरुको छुट्टाछुट्टै खाता ।
१३. हिसाब नं. १५०.१ सामान खरिद र हिसाब नं. १६०.१ सामान बिक्रीको सहायक खाताको रुपमा स्टक रजिस्टर आदि ।
सहकारी हिसाब संकेत नम्बर
१. हिसाब नं. १० - शेयर पूँजी हिसाब खाता
२. हिसाब नं. २० - कोष हिसाव खाता
(क) हिसाब नं. २०.१ - जगेडा कोष हिसाव खाता
(ख) हिसाब नं. २०.२ - अन्य कोष हिसाव खाता
३. हिसाब नं. ३० - निक्षेप/डिपोजिट हिसाब खाता
(क) हिसाब नं. ३०.१ - चल्ती हिसाव खाता
(ख) हिसाब नं. ३०.२ - बचत हिसाव खाता
(ग) हिसाब नं. ३०.३ - धरौटी हिसाव खाता
४. हिसाब नं. ४० - ऋण लिएको हिसाब
५. हिसाब नं. ५० - अनुदान हिसाब (हाल प्रयोगमा नभएको) ।
६. हिसाब नं. ६० - भुक्तानी दिनु पर्ने हिसाब खाता
(क) हिसाब नं. ६० .१ - उधारो खरीद र भुक्तानी हिसाव खाता
(ख) हिसाब नं. ६० २ - पेश्की प्राप्त र फछ्र्याैट हिसाब खाता
(ग) हिसाब नं. ६० ३ - कर्मचारी हितकोष हिसाब खाता
(घ) हिसाब नं. ६०.४ - सापटी प्राप्त र फिर्ता हिसाब खाता
(ङ) हिसाब नं. ६०.५ - अन्य भुक्तानी दिनु पर्ने रकम हिसाब खाता
७. हिसाब नं. ७० - तिर्नु पर्ने अन्य दायित्व हिसाब खाता
(क) हिसाब नं. ७०.१ - तिर्नु पर्ने तलब भत्ता हिसाब खाता
(ख) हिसाब नं. ७०.२ - तिर्नु पर्ने घर/गोदाम भाडा हिसाब खाता
(ग) हिसाब नं. ७०.३ - तिर्नु पर्ने व्याज हिसाब खाता
(घ) हिसाब नं. ७०.४ - तिर्नु पर्ने लेखा परीक्षण शुल्क हिसाब खाता
(ङ) हिसाब नं. ७०.५ - तिर्नु पर्ने अन्य रकम हिसाब खाता
८. हिसाब नं. ८० - नगद हिसाब खाता
९. हिसाब नं. ९० - बैंक चल्ती हिसाब खाता
१०. हिसाब नं. १०० - लगानी हिसाब खाता
(क) हिसाब नं. १००.१ - धितोपत्र खरिद हिसाब खाता
(ख) हिसाब नं. १००.२ - मुद्दती हिसाब खाता
(ग) हिसाब नं. १००.३ - बचत हिसाब खाता
(घ) हिसाब नं. १००.४ - शेयर खरीद हिसाब खाता
११. हिसाब नं. ११० - ऋण दिएको हिसाब खाता
१२. हिसाब नं. १२० - पाउनु पर्ने हिसाब खाता
(क) हिसाब नं. १२०.१ - उधारो बिक्री र असुली हिसाब खाता
(ख) हिसाब नं. १२०.२ - पेश्की दिएको र फछ्र्यौट हिसाब खाता
(ग) हिसाब नं. १२०.३ - पाउनुपर्ने व्याज हिसाब खाता
(घ) हिसाब नं. १२०.४ – हितकोष जम्मा हिसाब खाता
(ङ) हिसाब नं. १२०.छ - बेरुजु/सर्टेज हिसाब खाता
(च) हिसाब नं. १२०.६ - धरौटी हिसाब खाता
(छ) हिसाब नं. १२०.७ - अनिवार्य बचत रकम
(ज) हिसाब नं. १२०.८ - अन्य पाउनु पर्ने रकम हिसाब खाता
१३. हिसाब नं. १३० - स्थायी सम्पत्ति हिसाब खाता
(क) हिसाब नं. १३०.१ - फर्निचर हिसाब खाता
(ख) हिसाब नं. १३०.२ - सेफ हिसाब खाता
(ग) हिसाब नं. १३०.३ - सवारी साधन हिसाब खाता
(घ) हिसाब नं. १३०.४ - घरजग्गा जमीन हिसाब खाता
१४. हिसाब नं. १४० - अन्य सम्पत्ति सामान हिसाब खाता
१५. हिसाव नं १५० - सामान खरिद तथा खर्च खाता
(क) हिसाब नं. १५०.१ - सामान खरिद खाता
(ख) हिसाब नं. १५०.२ - ढुवानी, ज्याला खर्च खाता
(ग) हिसाब नं. १५०.३ - तलब, भत्ता खर्च खाता
(घ) हिसाब नं. १५०.४ - घर/गोदाम भाडा खर्च खाता
(ङ) हिसाब नं. १५०.५ - मसलन्द खर्च खाता
(च) हिसाब नं. १५०.६ - मर्मत खर्च खाता
(छ) हिसाब नं. १५०.७ - चालु व्याज खर्च खाता
(ज) हिसाब नं. १५०.८ - विविध खर्च खाता
(झ) हिसाब नं. १५०.९ - ह्रास खर्च खाता
(ञ) हिसाब नं. १५०.१० - इन्धन खर्च खाता
(ट) हिसाब नं. १५०.११ - बैठक भत्ता खर्च खाता
(ठ) हिसाब नं. १५०.१२ - हर्जाना खर्च खाता
(ड) हिसाब नं. १५०.१३ - व्यापारिक छुट दिएको खर्च खाता
१६. हिसाव नं १६० - सामान बिक्री तथा आम्दानी खाता
(क) हिसाब नं. १६०.१ - सामान बिक्री खाता
(ख) हिसाब नं. १६०.२ - ऋणबाट व्याज प्राप्त खाता
(ग) हिसाब नं. १६०.३ - लगानीबाट व्याज प्राप्त खाता
(घ) हिसाब नं. १६०.४ - विविध आम्दानी खाता
(ङ) हिसाब नं. १६०.५ - व्यापारिक छुट प्राप्त खाता
(च) हिसाब नं. १६०.६ - प्रशासनिक अनुदान प्राप्त खाता
(छ) हिसाब नं. १६०.७ - प्रवेश शुल्क प्राप्त खाता
१७. हिसाव नं १७० व्यापार तथा नाफा नोक्सान खाता
(क) हिसाब नं. १७०.१ - व्यापार खाता
(ख) हिसाब नं. १७०.२ - नाफा नोक्सान खाता
(ग) हिसाब नं. १७०.३ - नाफा वितरण खाता
माथि उल्लेखित संकेत नम्बरहरुको आधारमा खाता राखिसकेपछि सहकारी संघ÷संस्थाले प्रचलित सहकारी ऐन तथा आर्थिक ऐन (आयकर प्रयोजनको लागि) बमोजिम सम्बन्धित निकायहरुमा आफ्नो वार्षिक प्रतिवेदनहरु बुझाउनु पर्ने हुन्छ । सामान्यतया सहकारी संस्थाले तयार गर्नुपर्ने वित्तिय विवरणहरु निम्न अनुसार छन्:
१. स्थिति विवरण पत्र (वासलात)
२. आय व्यव विवरण
३. नगद प्रवाह विवरण हुन् ।
लेखा कुनै पनि व्यवसायको निर्णय आधार हो । यसले हरेक पलमा व्यवसायको आर्थिक अवस्थाको बारेमा जानकारी दिन्छ । कुनै पनि व्यवसायको आर्थिक सवलता र निर्वलता नाप्ने प्रमुख कसी समेत आर्थिक सक्षमता नै भएकोले व्यवसायमा लेखा पूर्ण र अद्यावधिक हुनु पर्दछ । सहकारी संघ संस्थाहरु धेरै व्यक्तिहरुको आवद्धता हुने संगठन भएको र सद्विश्वाश तथा पारदर्शिताको आधारमा मात्र दिगोपना हुने हुनाले सहकारी संघ/संस्थामा लेखा महत्वपूर्ण पाटो हो ।