जुपिटर नेपाल बहुउद्देश्यीय सहकारी पहिलो वर्षमै नाफामा

जुपिटर नेपाल बहुउद्देश्यीय सहकारी पहिलो वर्षमै नाफामा
समाचार | 2022-08-07 Share

काठमाडौं । ‘अहिंसा मार्फत शान्ति, सहकारी मार्फत समृद्धि’ भन्ने मूल ध्येयकासाथ संचालित जुपिटर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधरण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष चुडामणि सुवेदीको सभापतित्वमा साउन २१ गते कालीमाटीमा आयोजित समारोहमा काठमाडौं महानगरपालिका सहकारी विभागका पूर्व प्रमुख नमराज ढकाल प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले सहकारीले उत्पादन वृद्धि  र रोजगारी सिर्जना गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

शहरमा संचालित केही सहकारी संस्थामा समस्या देखापरेको उल्लेख गर्दै सहकारीलाई मूल्य, मान्यता, सिद्धान्त र सहकारी ऐन नियम कानुनको पूर्ण पालना गर्दै सदस्य केन्द्रित भएर कारोबार गर्न सुझाव दिनुभयो ।

उहाँले सहकारीका सदस्यहरुको सहकारी सम्बन्धी शिक्षा कमजोर भएको भन्दै सहकारीले आफ्ना सदस्यका लागि शिक्षा कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सहकारीले उत्पादन र वितरणमा ध्यान दिएर उपभोक्तालाई उचित मूल्यमा स्वस्थकर उपभोग्य बस्तु उपलब्ध गराउनुपर्ने भनाई राख्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सहकारी बिकास बोर्डका सल्लाहकार डा. ज्ञानेन्द्र पौडेलले सहकारीले सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक रूपान्तरणमा काम गर्नुपर्ने बताउनुभयो । 

मुलुकमा संचालित २९ हजार सहकारी मध्ये जुपिटर नेपाल नमुना सहकारीकोरुपमा संचालन होस् भन्ने शुभकामना दिनुभयो ।

उहाँले पछिल्लो समय केही सहकारी संस्था समस्यामा परेको खबरले सहकारी क्षेत्र मर्माहत भएको बताउनुभयो । 

सहकारीका छाता संघका नेतृत्वकर्ताहरु सहकारीमा देखिएको समस्या समाधान गर्न भन्दा पनि सहकारी अभियानलाई राजनीतिक दलमा पद पाउन बार्गेनिङ गर्ने कार्डकोरुपमा प्रयोग गरेको गुनासो गर्नुभयो ।

सहकारीमा समस्या आउँदा समाधानका लागि संचालक र सदस्यहरुले सामूहिक पहल गर्नुपर्ने भन्दै उहाँले सबै सदस्यहरुले एकै पटक बचत फिर्ता माग्दा जतिसुकै सुशासनमा बसेको सहकारीले पनि फिर्ता दिन नसक्ने बताउनुभयो ।

सहकारी भित्र देखिएका गलत प्रवृत्तिको सफाई गर्दै असल अभ्यासको अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज कुमार थापामगरले संस्थालाई समयमै साधारण सभा सम्पन्न गरेको धन्यवाद ज्ञापन गर्नुभयो ।

संस्थालाई आवश्यक परेको बेला सहयोग गर्न जिल्ला संघ सदैव तत्पर रहने प्रतिवद्धता प्रकट गर्नुभयो ।

साधारण सभाको अवसर पारेर संस्थाले चारजना उत्कृष्ट बचतकर्ता र शेयर सदस्यका छोराछोरीहरु मध्येबाट गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने चारजना विद्यार्थीलाई सम्मान गरेको छ ।

साधारण सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष सुवेदीले संस्थाको शेयर पुँजी १ करोड ४२ लाख ७९ हजार रुपैयाँ पुगेको बताउनुभयो । 

यसैगरी सो अवधिमा संस्थाको बचत संकलन १ करोड ४० लाख ५५ हजार रुपैयाँ र ऋण लगानी २ करोड १३ लाख ८२ हजार रुपैयाँ पुगेको जानकारी गराउनुभयो ।

उहाँले सो अवधिको कारोबारबाट संस्थाले आयकरको व्यवस्था अघि ९ लाख ७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको बताउनुभयो ।

संस्थाले न्यूनतम सेवाशुल्क लिएर सदस्यहरुको सवारी साधानको ब्लूबूक नविकरण सेवा दिनुका साथै सुपथ मूल्यमा मास्क र सेनिटाईजर विक्री गर्दै आएको छ ।

चालु आर्थिक वर्षमा संस्थाले अर्गानिक सामग्री सहितको सहकारी पसल संचालन गर्नुका साथै शुद्ध मसला उद्योग संचालन गर्ने लक्ष्य लिएको छ ।

संस्थाका सचिव रमेश सुवेदीले संचालन गर्नुभएको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीलाई संचालक सदस्य मोहम्मद अबरार आलमले स्वागत गर्नुभएको थियो ।