साकोस व्यवस्थापन प्रमुखहरुको गोष्ठी शुरुः वित्तीय सुशासनमा केन्द्रित हुन आग्रह

साकोस व्यवस्थापन प्रमुखहरुको गोष्ठी शुरुः वित्तीय सुशासनमा केन्द्रित हुन आग्रह
समाचार | 2023-03-08 Share

काठमाडौं । राजधानीमा बुधबारदेखि सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको गोष्ठीमा सहभागी वक्ताहरुले सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सुझाव दिएका छन् ।

सञ्चालकहरुले बदमासी गरे त्यसको प्रतिवाद व्यवस्थापकहरुले गर्नुपर्ने समेत वक्ताहरुले सुझाव दिएका छन् । 

कार्यक्रममा बोल्ने अधिकांश सहकारीकर्मीहरुले सरकारले बचतको सीमा २५ लाख तोक्न लागेको प्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारीको सुशासनका लागि स्पष्ट ऐन कानुको आवश्यक पर्ने र त्यसका लागि सरकार तयार हुनुपर्ने बताउनुभयो । 

‘देशमा आर्थिक समस्यामा आइरहेको छ, सहकारी र लघुवित्तमा चरम समस्या छ । के कारणले यस्तो समस्या आइरहेको हो ? किन वित्तीय सुशासन छैन ? सरकारको ध्यान जानु जरुरी छ’ सभामुख घिमिरेले भन्नुभयो, ‘सरकारले आवश्यक कानुनका लागि तयारी गरोस् यसमा सहयोग गर्न म तयार छु ।’

सोही अवसरमा सभामुख घिमिरेले सहकारी गाउँगाउँमा गरिब किसानहरुको साना साना पुँजी संकलन गरेर वित्तीय उपार्जनमा लगाउने सामाजिक संस्था भएकाले यस्तो संस्थालाई बचाउनु सबैको दायित्व भएको बताउनुभयो । 

‘उत्पादन, रोजगारीबाट गरिबी हटाइ समाजवाद उन्मुख समाजवाद स्थापना सहकारीबाट हुने भएकाले यसतर्फ सरकारको यथोचित ध्यान पुगोस् भन्ने मलाई लाग्छ’ उहाँले भन्नुभयो, ‘तर पछिल्लो समय सहकारीको माध्यमबाट ठगी गर्ने प्रवृति बढ्दै गएका भन्ने गुनासाहरु सुनिराखेका छौं । यस्तो कार्याललाई नियन्त्रण गर्न आवश्यक छ । सरकारले यसको अनुगमन गर्नुपर्यो र देखा परेका समस्या समयमै समाधान गर्नुपर्छ ।’

सोही अवसरमा सभामुख घिमिरेले ७ खर्ब भन्दा बढी रकम परिचालन गर्ने सहकारीलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक भएको समेत बताउनुभयो । सम्पत्ति शुद्धीकरणको हिसाबले सहकारीमा अवैध धन हुन्छ भन्दै बचतमा २५ लाखको सीमाको कुरा आएको बताउँदै घिमिरेले सो क्षेत्रमा यस्तो हुँदैन भनेर ग्यारेन्टी गर्न सके त्यो सीमा हट्न सक्ने समेत बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष एवम् पूर्वमन्त्री केशवप्रसाद बडालले सहकारीमा प्रविधि अत्यावश्यक भएको बताउनुभयो । कुनै पनि समुदाय पछि पर्न नहुने र त्यसका लागि सहकारीले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । 

‘सहकारीमा गैरकानुनी मुद्रा प्रयोग होस् भन्ने हामी पनि चाहदैँनौं, सहकारीमा कालोधन छ भन्ने भ्रम फिजाइएको छ’ उहाँले भन्नुभयो, ‘सहकारीको मूल्य, मान्यतामा नचलेका सहकारीमा समस्या आएको हो । सहकारीमा २५ लाखको सीमा कुनै पनि कारणले उचित छैन यसको कार्यान्वयन हामीलाई मान्य छैन । यो प्रावधान तत्काल हटाइयोस ।’

जहासम्म सहकारीमा समस्याको विषय छ, संघ संस्थाहरु ऐन नियम, विनियम अनुसार चले समस्या नआउने बताउँदै उनले त्यसका लागि संघ संस्थाका व्यवस्थापकहरु चनाखो हुनुपर्ने बताउनुभयो ।

यस्तै भनाई राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीको पनि रहेको छ । स्वनियमनमा चलेको सहकारीमा समस्या नरहेको बताउँदै सहअध्यक्ष दवाडीले सहकारी नचलाई बैंकसँग प्रतिष्पर्धा गर्नेहरु समस्यामा फसेको बताउनुभयो । नीति, नियम कार्यान्वयन गर्ने व्यवस्थापक नै भएकाले बढी जिम्मेबार हुनुपर्ने उहाँको भनाइ छ । 

‘उद्यमी बन्न ऋण प्राथमिकता दिनुपर्छ, घरघडेरीमा ऋण दिन कडाइ गर्नुपर्छ । चलायमान हुने ठाउँमा मात्र ऋण दिए आर्थिक रुपान्तरण हुने हो । तर, अधिकांश संघ संस्थाले घडेरीमा ऋण लगानी गरेका छन्, कतिपय सहकारी आफैले घडेरी किनलेकाले समस्या आएको हो’ उहाँले भन्नुभयो ।

बचतमा क्यापिङको सन्दर्भमा असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष दवाडीले भन्नुभयो, ‘समस्या बचतमा होइन व्यवस्थापनमा हो । यसो हो भने बचतमा मात्र किन ऋणमा पनि क्यापिङ गरौं ।’ उहाँले सहकारीमा २५ लाखको सीमा हटाउन माग गर्नुभयो । 

तर, सहकारीमा सम्पत्ति शुद्धीकरणको समस्या छैन हुँदैन भन्ने ग्यारेन्टी भए बचतको सीमामा पुनरविचार हुन सक्ने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बताउनुभयो ।

‘सहकारीमा केही चुनौती थपिएका छन् । सहकारी तीन तहमा गए पनि तल संरचना बन्न नसक्दा समस्या आएको हो’ सचिव रेग्मीले भन्नुभयो, ‘कोभिडका कारण समग्र वित्तीय क्षेत्र नै आक्रान्त बन्दा समेत सहकारीमा असर परेको छ । सहकारीकर्मीहरु सचेत भए वित्तीय सुशासन कायम गर्ने हो भने समस्या आउँदैन ।’ 

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या नरहेका बताउनुभयो । सहकारीको नाममा गलत काम गरेकाले समस्या आएको उहाँको भनाइ छ । 

‘सहकारीका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ, ती सहकारी होइन, बदनाम गरिरहेका छन्’ उहाँले भन्नुभयो ।

देशैभरि सेवाकेन्द्र खोलेर बजार प्रतिनिधि चिनेको भरमा करोडौं बचत राख्ने गरिएको र लगानी आफ्नो स्वार्थ अनुकुल खोलिएका कम्पनीमा लगानी गर्दा समस्या आएको उहाँले बताउनुभयो । विश्वमै आएको समस्या नेपाली वित्तीय क्षेत्रमा पर्नुु स्वभाविक भए पनि सहकारीमा त्यसको असर नपरेको उहाँले बताउनुभयो ।

सहकारी बिग्रिने, बिगार्ने ५० प्रतिशत भन्दा बढी जिम्मेवारी प्रमुख कार्यकारी अधिकृतको हुने उहाँले बताउनुभयो ।

‘सिइओ भ्रष्ट भए, सहकारी बदनामी हुन्छ । सञ्चालकमा राजनीति हुन्छ । कर्मचारीमा विज्ञता हुन्छ,  निर्णयमा सहयोग गर्ने र कार्यान्वयन गर्ने हो’ उहाँले भन्नुभयो ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सहकारीका चालक (व्यवस्थापक) हरु सक्षम भए संस्थाहरु दुर्घटनामा नपर्ने बताउनुभयो । नेपालका सहकारीलाई स्थिरिकरण र स्तरिकरण गर्नुपर्ने उहाँको भनाई थियो ।