मुलुकभरिका जिल्ला प्रशासन कार्यालयलाई सहकारी अभियानको ज्ञापनपत्र

मुलुकभरिका जिल्ला प्रशासन कार्यालयलाई सहकारी अभियानको ज्ञापनपत्र
समाचार | 2023-05-28 Share

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले गठन गरेको सहकारी समस्या समाधान सहजीकरण कार्यदलले जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र बुझाएको छ ।

देशभरिका जिल्ला सहकारी संघको संयोजकत्वमा सबै जिल्ला प्रशासन कार्यलयमा जुलुस सहित मागपत्र बुझाइएको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा कार्यदलका संयोजक ओमदेवी मल्लको नेतृत्वमा काठमाडौं जिल्लास्तरीय सहकारी संघहरु र प्राम्भिक  संस्थाका प्रतिनिधिहरु जिल्ला प्रशासन कार्यलय, काठमाडौंमा भेला भइ प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा संविधान सभा सदस्य मल्लले प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्यायलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । प्रमुख जिल्ला अधिकारीमार्फत संघिय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा ध्यानाकर्षण गराइएको हो ।

जेठ ८ गते कार्यदलले पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । सोहि कार्यक्रम अनुसार आइतबार सबै जिल्ला प्रशासन कार्यलयमा जुलुससहित मागपत्र बुझाइएको महासंघका वरिष्ठ उपाध्यक्ष मल्लले बताउनुभयो ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष मल्लले सहकारी संघ/संस्थाहरु निर्वाध रुपमा उच्च मनोबलका साथ संचालन गर्ने शान्तिपूर्ण वातावरण निर्माण गरिदिनका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानआकर्षण गराउनुभएको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी उपाध्यायले अर्थतन्त्रमा देखिएको चुनौतीको प्रभाव सहकारीमा समेत देखिएकाले त्यसको समस्या समाधान गर्न उपयुक्त उपायहरुसहित बुझाइएको ज्ञापनपत्र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा आज नै प्रस्तुत  गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा सांसद तथा महासंघका संचालक तारा लामा तामाङ, नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, राष्ट्रिय सहकारी बैंकका संचालक मनोज थापा, जिल्ला सहकारी संघ लि. काठमाडौंका वरिष्ठ उपाध्यक्ष खेमराज सुवेदी, सचिव बालकुमार बाँस्तोला लगायत उपस्थित  हुनुहुन्थ्यो ।

सबै जिल्लामा जिल्ला सहकारी संघका अध्यक्षको संयोजकत्वमा जिल्लास्तरीय सहकारी समस्या समाधान सहजीकरण संयन्त्र समेत गठन भएको छ । सो संयन्त्रले आ आफ्नो जिल्लामा ज्ञापनपत्र बुझाएको हो ।

त्यसैगरी जेष्ठ १६ गते विहान ८ः०० बजे संघीय सहकारी विभागमा सिठ्ठी जुलुस आयोजना गर्ने कार्यक्रम रहेको कार्यदलले जनाएको छ ।