काठमाडौं महानगरले ३० दिन भित्र विवरण नबुझाउने सहकारीलाई कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रका सहकारीलाई ३० दिन भित्र विवरण बुझाउन निर्देशन दिएको छ ।
महानगरपालिकाले आज (असार १३ गते) एक सूचना प्रकाशित गरेर कानुन अनुसार नियमित विवरण नबुझाएका सम्पूर्ण सहकारीलाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र विवरण बुझाउन निर्देशन दिएको हो ।
‘केही सहकारी संस्थाहरुले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायत तोकीए बमोजिमका विवरणहरु समयमा नै पेश गर्र्ने गरेको नपाइएको हुँदा यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।
सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र काठमाडौं महानगरपालिका सहकारी विभागमा विवरण बुझाई अद्यावधिक नहुने सहकारीलाई कानून बमोजिम कारवाही गर्ने महानगरले चेतावनी दिएको छ ।
सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २ अनुसार हरेक सहकारीले संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र बोलाउनु पर्ने ब्यवस्था छ ।
यसैगरी दफा ५४ को उपदफा १ मा आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ३ महिना भित्र प्रचलित कानून बमोजिम इजाजत प्राप्त लेखा परिक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण गराउनु पर्ने ब्यवस्था छ ।
महानगरपालिकाले सूचनामा सहकारी ऐन, २०७४ को दफा ५२ मा सहकारीले नियामक निकायमा तोकिए बमोजिमका विवरणहरु बुझाउनु पर्ने व्यवस्था गरेको उल्लेख गरेको छ ।
साथै ऐनको दफा ७९ ले विभिन्न कसूरजन्य कार्यहरु, दफा ८१ ले सजायँ, दफा ८२ ले जरिवाना र दफा ६६ ले सहकारीको विघटन वा दर्ता खारेजीको व्यवस्था गरेको समेत सहकारीलाई स्मरण गराएको छ ।