आर्जन साकोसको चौधौं वार्षिक साधारण सभामा निःशुल्क स्वास्थ्य परीक्षण

ललितपुर । कुमारीपाटी स्थित आर्जन बचत तथा ऋण सहकारी संस्थाले चौधौं वार्षिक साधारण सभाको अवसरमा शेयर सदस्यहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको छ ।
सानेपा स्थित हेरिटेज गार्डेनमा भदौ ३० गते सम्पन्न वार्षिका साधारण सभाको अवसरमा संस्थाले सदस्यहरुका लागि निःशुल्क स्वास्य शिविर संचालन गरेको हो ।
संस्थाका अध्यक्ष प्रविण सुवेदीको सभापतित्वमा आयोजित समारोहको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लगनखेल शाखा प्रमुख रमा घिमिरेले उद्घाट्न गर्नुभएको थियो ।
समारोहमा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि घिमिरेले सहकारीका संचालक र शेयर सदस्यहरुबीच चिनजान नभएको र नजिकको सम्बन्ध स्थापित हुननसकेको संस्थामा समस्या उत्पन्न हुनेगरेको बताउनुभयो ।
आर्जन साकोसमा संचालक समिति र शेयर सदस्यहरुबीच सुमधुर सम्बन्ध कायम भएको पाएको उल्लेख गर्दै उहाँले शेयर सदस्यहरुलाई संस्थाका हरेक गतिविधिमा सहभागी हुन अनुरोध गर्नुभयो ।
‘सहकारीको वार्षिक साधारण सभा सदस्यका लागि ठूलो पर्व हो । तपाईंहरुले संस्थाको वार्षिक प्रतिवेदन राम्ररी अध्ययन गरेर आवश्यक सल्लाह, सुझाव दिनुका साथै संस्था संचालनका लागि आफ्नो केही योजना छ भने यहाँ प्रस्ताव गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
उहाँले शेयर सदस्यहरुलाई धेरै ओटा सहकारीमा सदस्य बनेर कारोबार गर्नुको सट्टा एउटा संस्थामामात्र आवद्ध बन्न आग्रह गर्नुभयो । ‘आफू आवद्ध भएको सहकारीको कारोबारलाई नजिकबाट हेर्नुुस् । संस्थामा केही सुधार गर्नुपर्ने आवश्यकता महसुस गर्नुभयो भने तुरुन्त सुझाव दिनुस । साधारण सभा कुर्नुपर्छ भन्ने हुँदैन,’ उहाँले भन्नुभयो ।
संस्थाको प्रतिवेदन अध्ययन गर्दा पल्र्स मोनिटरिङमा भएका सूचक अनुसार संस्थाको सबै पक्ष राम्रो भएको बताउनुभयो । अहिलेको प्रतिकूल समयमा पनि संस्थाको वासलात मजबुत हुनुका साथै ८ प्रतिशत शेयर लाभांश वितरण गर्नु अत्यन्त सकारात्मक भएको धारणा राख्नुभयो ।
साधारण सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०७९/८० को वार्षिक प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष सुवेदीले सहकारीमा दीर्घकालीन विकास तथा सफलताका लागि संस्थागत सुशासन अपरिहार्य हुने बताउनुभयो ।
उहाँले आर्जन साकोसले संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिएर साधारण सभाले पारित गरेका नियम तथा निर्देशनहरुलाई क्रमशः कार्यान्वयन गर्दै लगेको उल्लेख गर्नुभयो ।
संस्थाले आफ्नो वित्तीय कारोबार तथा लेखा ब्यवस्थापनका लागि राष्ट्रिय सहकारी महासंघले प्रवद्र्धन गरेको ईन्फिनिटी बैंकिङ सफ्टवेयर प्रयोग गरेको, सहकारी विभागको कोपोमिस प्रणालीमा नियमित मासिक विवरण प्रविष्ट गरेको र विभिन्न संघ/संस्थाले संचालन गर्ने क्षमता अभिवृद्धि तालिममा संस्थाका कर्मचारीलाई सहभागी गराएको उहाँले जनाउनुभयो ।
यस्तै अध्यक्ष सुवेदीले विगतमा जस्तै यसवर्ष पनि संस्था आफैंले वा संस्थाका संचालकहरुको प्रत्यक्ष अप्रत्यक्ष संलग्नतामा घरजग्गा, शेयर बजार र अन्य कुनै पनि ब्यवसायमा लगानी नगरेको स्पष्ट पार्नुभयो ।
यसैगरी साधारण सभामा संस्थाका कोषाध्यक्ष रणजित कुमार पोडरले आ.व. २०८०/८१ को अनुमानित बजेट र लेखा समिति संयोजक नवराज भुषालले लेखा परीक्षण प्रतिवेदन पेश गर्नुभयो ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार गत असार ममान्त सम्म संस्थाको शेयर पुँजी ३ करोड ३९ लाख ६७ हजार रुपैयाँ, निक्षेप संकलन २२ करोड ३६ लाख २ हजार रुपैयाँ र कर्जा लगानी २३ करोड २१ लाख ७ हजार रुपैयाँ कायम भएको छ । साथै कुल वासलात २९ करोड ५३ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
संस्थाले साधारण सभाको अवसर पारेर मोबाईल बैंकिङ सेवालाई थप परिस्कृत बनाएको छ । आर्जन स्मार्ट एपलाई परिमार्जन गरेर एप्पलको आईओएस र गुगलको एन्ड्रोईड एप स्टोरमा उपलब्ध गराएको हो । नयाँ मोबाईल बैंकिङ एपमा ‘फेभरेट मर्चेन्ट’ लगायतका विभिन्न प्रयोगकर्तामैत्री नयाँ फिचरहरु थप गरेको संस्थाले जनाएको छ ।
शेयर सदस्यहरुलाई आधुनिक प्रविधिको प्रयोग गरेर छिटो, छरितो र भरपर्दो नगदरहित कारोबार तथा भुक्तानी सेवा प्रदान गर्न निःशुल्क मोबाईल बैंकिङ सेवा संचालन गर्दै आएको छ ।
मोबाईल बैंकिङ मार्फत सदस्यहरुले विद्युत, खानेपानी, टेलीफोन, इन्टरनेट, टेलिभिजन च्यानल, सरकारी सेवा आदिको महशुल भुक्तानी गर्न, हवाई यातायात तथा चलचित्र हलको टिकट खरिद, मोबाईल टपअप लगायको सुविधा उपयोग गर्न सक्ने संस्थाले जनाएको छ ।
यसैगरी मोबाईल बैंकिङमार्फत एउटा खाताबाट अर्को खातामा, सहकारीको खाताबाट बैंकको खातामा र बैंकको खाताबाट सहकारीको खातामा रकम ट्रान्सफर गर्न सकिने ब्यवस्था छ । साथै क्यूआर कोड भुक्तानीको समेत सुविधा उपलब्ध छ ।
साधारण सभाको अवसर पारेर संस्थाले गत आ.व.मा उत्कृष्ट कारोबार शेयर सदस्यहरु मध्येबाट एक जना बचतकर्ता र एक जना ऋणीलाई सम्मान गरेको छ । साथै शेयर सदस्यका छोराछोरीहरु मध्येबाट गत वर्षको एसईई परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई समेत प्रमुख अतिथिको हातबाट सम्मानित गरेको छ ।