बागलुङ बचत संघको अध्यक्षमा पुनः चण्डिप्रसाद शर्मा पौडेल सर्वसम्मत

बागलुङ बचत संघको अध्यक्षमा पुनः चण्डिप्रसाद शर्मा पौडेल सर्वसम्मत
समाचार | 2024-01-28 Share

बागलुङ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, बागलुङमा पुनः चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन भएको छ ।

शनिबार बागलुङ बजारमा सम्पन्न भएको संघको १२औं वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि १३ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति चयन गरेको हो । 

सञ्चालक समितिको उपाध्यक्षमा गणेश वहादुर खत्री, सचिवमा अर्जुनप्रसाद कँडेल, सह–सचिवमा उत्तमवहादुर महत र कोषाध्यक्षमा लिलादेवि खड्का के.सी. चयन हुनुभएको छ ।

संचालक समितिमा चिनी थापा काला, लक्ष्मी शर्मा, सरिता किसान, थमप्रसाद शर्मा, होमनाथ अर्याल, तेजबहादुर कुँवर, हरिवहादुर भण्डारी र मुकुन्दप्रसाद शर्मा सदस्य रहनुभएको छ ।

यसैगरी साधारण सभाले ऋषिराम गौतमको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । समितिमा शिवप्रसाद आचार्य र चन्द्र विश्वकर्मा सदस्य चयन हुनुभएको छ । त्यस्तै साधारण सभाले सल्लाहकारको रुपमा धुर्वप्रसाद शर्मालाई समेत चयन गरेको छ । 

साधारण सभामा संस्थाका सचिव ऋषिराम गौतमले आर्थिक वर्ष (आ.व.) २०७९/०८० को प्रगति प्रतिवेदन र आ.व. २०८०/०८१ को प्रस्तावित नीति तथा कार्यक्रम र  कोषाध्यक्ष लिलादेवी खड्का के.सी.ले आ.व. २०७९/०८० को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित आय व्यय विवरण प्रस्तुत गर्नुभयो । साथै लेखा सुपरीवेक्षण समितिका संयोजक महेन्द्रसिंह रायमाझीले लेखा परीक्षण प्रतिवेदन पेश गर्नुभयो । 

साधारण सभा संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता, बा.न.पा.–१२ का वडा अध्यक्ष कोपिलामणि शर्माको प्रमुख आतिथ्यता, उपाध्यक्ष गणेशवहादुर खत्रीको स्वागत र सचिव ऋषीराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । 

कार्यक्रममा काठेखोला गाउँपालीका वडा नं. १ का अध्यक्ष खड्कवहादुर थापा र नवनियुक्त सल्लाहाकार धुर्व प्रसाद शर्माले नयाँ समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा नवनिर्वाचित अध्यक्ष शर्माले पछिल्लो समयमा जिल्लाको सहकारी अभियानमा देखिएका समस्या समाधान गरी सदस्यहरु माझ धर्मराएको विश्वासलाई पुन जागरण तर्फ लैजाने नवनियुक्त सञ्चालक समितिको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

जिल्लाका ७६ वटा बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेको संघको शेयर पुँजी ३४ लाख ५ हजार, बचत ९ करो ६० लाख, लगानीमा रहिरहेको कर्जा १ करोड ५४ लाख, कोष १० लाख ३२ हजार, कुल सम्पत्ती १० करोड २६ लाख र कर्मचारी २ जना रहेको संघको प्रतिवेदनमा उल्लेख छ ।