बेविलोन उपभोक्ता सहकारीमा नयाँ कार्यसमिति

बेविलोन उपभोक्ता सहकारीमा नयाँ कार्यसमिति
समाचार | 2024-01-28 Share

काठमाडौं । चावहिल चुच्चेपाटीमा रहेको बेविलोन उपभोक्ता सहकारी संस्थामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

संस्थाको माघ १३ गते सम्पन्न भएको चौधौं वार्षिक साधारण सभाले पुनः होम ध्वज लामाको अध्यक्षतामा सर्वसम्मत नयाँ संचालक समिति र विष्णु माया लामाको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरेको हो ।

साधारण रभाले संचालक समितिको उपाध्यक्षमा पेमा वङ्गेल लामा, सचिवमा प्रविण लामा र कोषाध्यक्षमा रुपचन्द्र शेर्पालाई चयन गरेको छ ।

सात सदस्यीय संचालक समितिमा दावा शेर्पा, नगेन्द्र तामाङ र शान्ति लामा संचालक सदस्य निर्वाचित हुनुभएको छ । साथै तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिमा समिता राणा र कृष्णा लामा सदस्य चयन हुनुभएको छ ।

संस्थाका अध्यक्ष होम ध्वज लामाको सभापतित्वमा आयोजित साधारण सभा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

समारोहमा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि तिमल्सिनाले सदस्य केन्द्रित भएर कारोबार नगर्ने र वित्तीय सुशासनमा नबस्ने सहकारी संस्थाहरुमा समस्या उत्पन्न भएको बताउनुभयो ।

उहाँले संस्थालाई सदस्यहरुको चाहना र आवश्यकता अनुसारका सदस्य लक्षित कार्यक्रम तय गर्न र प्रभावकारी कार्यान्वयन गर्नका लागि स्पष्ट कार्ययोजना बनाउन सुझाव दिनुभयो ।

साधारण सभामा संस्थाका अध्यक्ष लामाले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०७९÷८० को वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

उहाँको प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा संस्थाको शेयर पुँजी ६९ लाख १ हजार रुपैयाँ, बचत संकलन ८ करोड ४५ लाख ८४ हजार रुपैयाँ कर्जा लगानी ५ करोड ६७ लाख ४८ हजार रुपैयाँ कायम भएको छ । 

संस्थाले चालु आ.व.मा शेयर सदस्यता वृद्धि गर्ने, प्रविधिमा आधारित सेवा प्रवाह गर्ने, खराब कर्जा न्यूनिकरण गर्ने, विभिन्न सामाजिक गतिविधि गर्ने लगायतका भावी योजना तय गरेको छ ।

साधारण सभामा लेखा समितिका संयोजक राजेन राईले लेखा परीक्षण प्रतिवेदन पेश गर्नुभएको थियो । समारोहमा उपस्थित अतिथि तथा सहभागी शेयर सदस्यहरुलाई संस्थाका सचिव प्रविण लामाले स्वागत गर्नुभएको थियो ।