दुग्ध पदार्थ खपतमा कमी आएपछि किसानले पाएनन् समयमै भुक्तानी

दुग्ध पदार्थ खपतमा कमी आएपछि किसानले पाएनन् समयमै भुक्तानी
समाचार | 2024-01-30 Share

मकवानपुर । जिल्लामा दैनिक ५० हजार लिटर दुध उत्पादन हुने गरेको भएपनि आर्थिक मन्दीका कारण दुग्धजन्य पदार्थको खपतमा कमी आउँदा किसानले समयमा भुक्तानी पाउन सकेका छैनन् । 

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले दैनिक ५० हजार लिटर दुध सहकारी संस्थामार्फत संकलन गरी बजारमा पठाएको भएपनि आर्थिक मन्दीका कारण विक्रीवितरण सुस्त हुँदा किसानले समयमा भुक्तानी नसकेका हुन् । संघका व्यवस्थापक कुमारमणी दहालले संघले ६२ वटा संस्थाबाट दैनिक ५० हजार लिटर दुध संकलन गरेर विक्री वितरण गर्दै आएको बताउनुभयो नुभयो । 

पछिल्लो समय उक्त मात्रामा दैनिकरुपमा दुध उत्पादन हुँदै आएको भए पनि मुलुकमा आएको आर्थिक मन्दीका कारण मकवानपुर जिल्लाले नै पहिलो पटक मिल्क होलिडेको सामान गर्नु परेको छ । अर्को तर्फ भारत लगायतका छिमेकी देशबाट अघोषित रुपमा दुधको आयात भएकाले किसानले थप मार भोग्नु परेको व्यवस्थापक दाहालले बताउनुभयो । 

विगत केही महिना दुध विक्री नहुँदा आफुहरु आर्थिक संकटमा रहेको र पछिल्लो समय निजी तथा सरकारी उद्योगहरुले दुध किने पनि समय भुक्तानी नपाएको उहाँले जनाउनुभयो । हिजो गाईभैंसीमा लम्पी स्किन रोगका कारण दुध उत्पादन घटेको र अहिले प्रशस्त दुध उत्पादन भए पनि बजारबाट समयमा भुक्तानी पाउन नसकेको उहाँले गुनासो गर्नुभयो । 

आर्थिक मन्दीका कारण बजारीकरण गर्न धेरै समस्या भएको र ४० करोड भन्दा माथी रकम संस्थाहरुलाई भुक्तानी दिनुपर्ने दायित्व रहेको उहाँले बताउनुभयो  । अर्कोतर्फ युवा पुस्ता विदेशिने, वृद्धवृद्धालाई दुग्ध पदार्थ नपच्ने र फुटपाथ व्यवसाय गर्न नपाउने जस्ता कारणले पनि दुग्धपदार्थको खपत घटेको उहाँको भनाई छ ।

त्यसैगरी संघले नीजि र सरकारी उद्योगबाट ४२ करोड रकम लिन बाँकी रहेको छ । सदस्य संस्थाबाट जतिमा किनेको हो तेतिनै मूल्यमा विक्री गर्दा पनि संघको बार्षिक कारोवार ठुलो हुने गरेको छ । संघमा आवद्ध ६२  संस्था मध्ये ५४ वटा संस्था नाफा नोक्सानमा सहभागी हुने शेयर सदस्यको रुपमा रहेका छन् । संघले बहुउद्देश्यीय, साना किसान र कृषि सहकारी संस्थालाई सदस्यता दिन नमिल्ने कानुनी प्रावधान रहेको छ ।

तर संघले ति संस्थाहरुले उत्पादन गरेको दुधको पनि बजारीकरणमा भने सहयोग पुर्याउँदै आएको छ । ६२ संस्थाका १२ हजार सदस्य पशुपालन पेशामा आवद्ध रहेको संघको तथ्याङ्क छ । सुरुवाती चरणमा ८/१० हजार लिटर दुध उत्पादन हुने गरेकोमा अहिले पशुपालनमा आएको व्यवसायिकरणले हाल बार्षिक १ करोड ५० लाख लिटरको हारहारीमा दुध संकलन गररु विक्री हुने गरेको छ । 

सरकारले मकवानपुर गढी गाउँपालिकालाई दुधको पकेट क्षेत्रको रुपमा लिएको छ र उक्त गाउँपालिकमा मात्रै दैनिक २० हजार लिटर दुध उत्पादन हुने गरेको छ । विगतमा दुध उत्पादक कृषकलाई सरकारले प्रतिलिटर दुधमा १÷२ रुपैया अनुदान दिने गरेको भए पनि अहिले त्यस्तो अनुदान नभएको उहाँले सुनाउनुभयो । राज्यले फ्याटको आधारमा न्युनतम समर्थन मूल्य ७.५० पैसा र ४.५० पैसाप्रति एसएनएफ तोकिदिएको छ । ४ प्रतिशत फ्याट र ८ प्रतिशत  एसएनएफ रहेको दुधको प्रतिलिटर ६५ रुपैयाँ पाउने उहाँले बताउनुभयो  । 

भैसीको दुधमा फ्याट बढी हुने भएकाले कृषकले ८५ रुपैयाँसम्म मूल्य पाउने गरेका छन् । गुणस्तरको आधारमा मूल्य निर्धारण हुने र सरदर लागत ७० रुपैया पर्ने गरेको छ । संस्थाहरुले प्रति के.जी ३.५० रुपैया संस्था व्यवस्थापन खर्च समेत पाउने गरेका छन् । राज्यले तोकेको भन्दा एक पैसा पनि तल किसानलाई मूल्य हुन नदिने र समर्थन मूल्य नदिने संस्थाहरुलाई संघले सहजीकरण समेत नगर्ने उहाँले बताउनुभयो  । 

दुधको मुख्य बजार काठमाडौं उपत्यका र पोखरा रहेको छ । १० हजार लिटर हेटौंडा दुग्ध विरतण आयोजनाले, १० हजार लिटर दुग्ध विकास संस्थानले, ५ हजार लिटर संघले र बाँकी ५० देखि ६० प्रतिशत दुध काठमाडौं र पोखरामा विक्रीका लागि पठाइने गरेको छ । संघले दुग्ध जन्य वस्तु उत्पादनको लागि उद्योगको सुरुवात गरेको भए पनि बजारको भने समस्या रहेको उहाँले सुनाए । संघले दही, घ्यु, पनिर र खुल्ला मख्खन उत्पादन गर्दै आएको छ । निकट भविष्यमा आइसक्रिम, मसालेदार मोही उत्पादन गर्ने योजना बनाएको भए पनि बजारको भने समस्या रहेको उहाँको बुझाई छ ।

सरकारले दुग्धजन्य उत्पादन पनिर, घ्यू, आइसक्रिम लगायतमा भ्याट लगाएको भएपनि विदेशबाट आयात हुने डेरी ह्वाइटमा भ्याट नलाग्नु दुःखद भएको उहाँको भनाई छ । सरकारले लागत घटाएर स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने नीति लिनुपर्नेमा उहाँको जोड छ । त्यसैगरी उत्पादन लागत घटाउन बहुवर्षीय र पोषिला घाँस लगाउन र आयातित दानापराल घटाउन सके लागत घट्ने उहाँको सुझाव छ । आयातित दानापरालमा निर्भर होउञ्जेल उत्पादन लागत बढ्ने हुँदा किसानले लाभ नसक्ने भन्दै घाँसमा आधारित पशुपालन गर्नुपर्नेमा जोड दिनुभयो । 

यसरी सुरु भएको थियो दुग्ध उत्पादक संघ 

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ २०४७ साल भाद्र २५ गते जिल्ला स्तरको पहिलो भेलाबाट स्थापना भएको हो । यस अघि पनि दुग्ध विकास संस्थान र दुग्ध वितरण आयोजना हेटौंडाका विभिन्न स्थानहरुमा दुग्ध संकलन केन्द्रहरु थिए । तिनै केन्द्रहरुलाई पछि दुग्ध उत्पादक संस्थामा परिवर्तन गर्दै जाँदा सहकारी संस्था गठन भएपछि संघको आवश्यकता महसुस गरेर २०४७ सालमा तदर्थ समिति र गठन गरी २०४९ साल चैत्र २२ गते विधिवत रुपमा यो संघ गठन भएको हो । 

संघ स्थापना भएको ३० बर्ष पुगेको छ र यस संघमा जिल्लामा रहेका ६३ वटा संस्था आवद्ध रहेका छन् । संघले ६२ वटा प्रारम्भिक सहकारी संस्थाले उत्पादन गरेको दुध एउटै छानामुनिबाट विक्री वितरण गर्दै आएको संघका व्यवस्थापक दहालले बताउनुभयो  । संघले सदस्य संस्थाहरुले उत्पादन गरेको दुध विक्री वितरणमा सहजीकरण गर्दै आएको र त्यस बापत संघले एक रुपैया पनि नलिने उहाँको भनाई छ । 

नीजि क्षेत्रबाट सञ्चालित दुध उद्योग र दुग्ध विकास संस्थानलाई संघले आलोपालोमा दुध विक्री गर्ने गरेको छ । संघको ४२ ठाउँमा दुग्ध चिस्यान केन्द्र रहेको र ७० हजार लिटर दुध भण्डारण गर्न सक्ने क्षमता रहेको दहालले जानकारी दिए । तिनै चिस्यानकेन्द्रमा नै गएर डेरी उद्योगका ट्याङ्करले दुध संकलन गर्ने गरेका छन् । नीजि क्षेत्रलाई एउटै छानामुनीबाट दुध उपलब्ध गराए वापत उनीहरुबाट भने केही  सेवा सुविधा लिने गरेको उहाँले बताउनुभयो  ।

स्थानीय तह र प्रदेश सरकारले दुग्धजन्य उद्योग स्थापनाका लागि समेत सहयोग गरेका छन् । संघको ५ करोडको हाराहारी सम्पत्ति रहेको छ । उद्योगालाई पूर्णता दिन थप एक करोड लाग्ने अनुमान संघको छ । उद्योग स्थापनाका लागि शुरुमा प्लान इन्टरनेशनलले ५० प्रतिशत लागत अनुदान दिएको थियो । 
संघले २०५९ सालमा पहिलो चिस्यान केन्द्रको रुपमा सामरीमा स्थापना गरेको थियो । २०६३ पछि संघले आफ्नै घरजग्गा जोडेर काम गर्दै आएको छ ।

संघमा आवद्ध संस्थाका सदस्यमध्ये २०० भन्दा बढी किसानलाई संघले बिग फार्मरका रुपमा पहिचान गरेको छ । उनीहरु न्यूनतम १० देखि ५०, ६० वटासम्म गाईभैंसी पालन गर्दै आएको दहालले जानकारी दिनुभयो ।