कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष पाठक विश्व किसान संगठनको सञ्चालकमा निर्वाचित

काठमाडौं । एफएओको मुख्यालय इटालीको रोममा भएको विश्व भरिका किसानहरुको छाता संगठन विश्व किसान संगठन (डब्लुएफओ) को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित हुनुभएको छ ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहनुभएका पाठक एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित हुनुभएको हो ।
पाठक सहित विश्व किसान संगठन डब्लुएफओको सञ्चालकमा विश्वभरबाट ६ जना निर्वाचित हुनुभएको छ ।
विश्वभरका सक्रिय किसान संघ संगठनहरुको छाता संगठनका रुपमा रहेको विश्व किसान संगठनमा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हुनुहुन्छ ।
किसान र कृषि क्षेत्रको रुपान्तणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको विश्व किसान संगठनको उच्चतह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनु आफैमा खुसी र गौरवको कुरा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले जनाएको छ ।
गरिबी निवारण, साना किसानको समृद्धि, ग्रामीण अर्थतन्त्र सुधार सहित महिला नेतृत्व विकासका क्षेत्रमा सहकारी अभियान र साना किसान अभियानमार्फत निरन्तर सक्रिय खेम बहादुर पाठक इटालिको रोममा भएको विश्व किसान संगठन (डब्लुएफओ) को महासभा २०२४ को सदस्य संगठनहरूको चुनावमा सर्वसम्मतले निर्वाचित हुनुभएको हो ।