सहकारीको ऋण नतिर्ने ऋणीलाई मन्त्रालयले कानुनी कारबाही गर्ने

सहकारीको ऋण नतिर्ने ऋणीलाई मन्त्रालयले कानुनी कारबाही गर्ने
समाचार | 2025-07-09 Share

काठमाडौं । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीको ऋण नतिरी अटेर गरेर बस्ने ऋणीलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

ऋणीले समयमा ऋणको साँवा, व्याज र किस्ता नतिर्दा सहकारी संस्थाको पुँजी सुरक्षामा गम्भीर असर परेको उल्लेख गर्दै मन्त्रालयले सहकारीको ऋण तिर्न ताकिता गरेको हो ।

मन्त्रालयले असार २५ गते एक सूचना जारी गरेर ‘ऋणी सदस्यहरुले आफूले लिएको ऋण चुक्ता नगर्ने परिपाटीले सहकारी संस्थामा सदस्यहरुको बचत फिर्ता गर्न असहज भएको’ जनाएको छ ।

सहकारी संस्थाले सदस्यहरुबाट लिएका बचत ऋण लगानी गर्ने भएकाले ऋणी सदस्यले समयमा ऋण चुक्ता नगर्दा संस्था र बचतकर्तालाई समेत गम्भीर समस्या परेको मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्रालयले कतिपय सहकारी संस्थामा पूर्व संचालक, संचालक, व्यवस्थापक तथा परिवारका सदस्यका नाममा लिएको ऋण समेत नतिरेको भेट्टाएको उल्लेख गरेको छ ।

सूचनालाई गम्भीरतापूर्वक लिएर सम्बन्धित सहकारी संस्थाको सम्पर्कमा रहेर आफूले तिर्नुपर्ने ऋण अबिलम्व तिर्न मन्त्रालयले सबै ऋणलाई आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले सहकारीका संचालकहरुलाई समेत वित्तीय अनुशासन र सहकारी ऐन, नियमको पूर्ण परिपालना गर्न गराउन सचेत गराउँदै अन्यथा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।