बस्नेतटार कृषि बहुउद्देश्यीयको १९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । तारकेश्वर–६, बस्नेतटारमा रहेको बस्नेतटार कृषि बहुउद्देश्यीय सहकारी संस्थाका १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भवानी गुरागाईंको सभापतित्वमा भदौ ५ गते आयोजित सभा तारकेश्वर नगरपालिका उपप्रमुख सिर्जना बुर्लाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै नगर उपप्रमुख बुर्लाकोटीले सहकारीका सदस्यहरुलाई नियमित बचत कारोबारलाई ध्यान दिन आग्रह गरिन ।
उनले सदस्यहरुलाई भविष्यमा कुनै समस्या उत्न्न हुँदा सम्पर्क गर्न सजिलो हुने भएकाले सहकारीका संचालकहरु स्थानीय वासिन्दा हुन कि होईनन् भन्ने विषयमा प्रमाण सहित जानकारी माग्न सुझाव दिईन ।
संस्थाले सदस्यको बचत कसलाई र कस्तो प्रयोजनका लागि लगानी गरेको छ भन्ने विषयमा पनि अवगत हुन आग्रह गरिन ।
‘बचत गर्दा बचतलाईमात्र प्राथमिकता दिएर ऋणलाई हेरेको छ कि छैन, जति बचत गरेको छ त्यही अनुसार ऋण चलाएको छ कि छैन हेर्नुपर्छ,’ उनले भनिन. ।
सहकारी संस्थाले कुनै ऋणीले सुरुमा थोरै ऋण लिएर समयमा फिर्ता गरेकै भरमा उसलाई विश्वास गरेर ठूलो ऋण दिने गरेकाले कतिपय ऋणी पैसा नतिरी भाग्ने गरेको समेत उपप्रमुख बुर्लाकोटीले बताईन ।
उनले सहकारी संस्थालाई ऋण लगानी गर्दा ऋणीको तिर्न सक्ने क्षमताको बारेमा समेत ध्यान दिन सुझाव दिईन ।
साधारण सभामा धर्म विद्याश्रम आधारभूत विद्यालयका प्रधानाध्यापक शान्ति बस्नेत लगायत विभिन्न संघ/संस्थाका प्रतिनिधि अतिथि रहेका थिए ।
साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष गुरागाईंले आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरे ।
संस्थाले काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाभित्रका धर्मस्थली, कभ्रेस्थली, गोलढुंगा, मनमैजु र जितपुर फेदीमा कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको छ । संस्थाले नगरपालिका भित्रका सबै वडामा कार्यक्षेत्र विस्तार गर्ने प्रकृया अगाडि बढाएको छ ।
संस्थाले चालु आ.व.मा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न तालिम तथा प्रशिक्षण कार्यक्रममा सहभागी बनाउने, शेयर सदस्यहरुको आय आर्जन वृद्धि गर्न सिपमूलक तालिमलाई निरन्तरता दिने र कृषक सदस्यहरुलाई सुपथ मूल्यमा मल र बिउ वितरण गर्ने कार्यलाई जारी राख्ने योजना बनाएको छ ।
संस्थाले विगतमा झैं यस आ.व.मा पनि शेयर सदस्य वा निजको पति वा पत्नीको निधन हुँदा पाँच हजार रुपैयाँ र शेयर सदस्यको नवजात शिशुको नाममा खाता खोलेर एक हजार रुपैयाँ बचत गरिदिने कार्यलाई निरन्तरता दिने भएको छ ।
वार्षिक साधारण सभाको अवसरमा संस्थाले महिला सदस्यहरुका लागि तिज विशेष कार्यक्रम पनि आयोजना गरेको थियो ।
संस्थाले ज्येष्ठ शेयर सदस्यहरुलाई हर्लिक्स उपहार प्रदान गर्नुका साथै बचत र ऋणमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाई पनि सम्मान गरेको थियो ।