दुई वा दुई भन्दा बढी सहकारीमा संचालक बसेका व्यक्तिलाई कारबाही गर्न निर्देशन
काठमाडौं । संघीय सहकारी विभागले दुई वा दुई भन्दा बढी सहकारी संस्थाको संचालक समितिमा बसेका व्यक्तिहरुलाई दोहोरो संचालक पद त्याग्न निर्देशन दिएको छ ।
विभागले मंसिर २२ गते एक सूचना प्रकाशन गरेर कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको संचालक हुन सक्ने कानुनी व्यवस्था स्मरण गराएको हो ।
सहकारी ऐन तथा नियमावलीमा भएको व्यवस्था विपरित केही व्यक्तिहरु हाल सम्म दोहोरो संचालककोरुपमा कार्यरत रहेको भन्ने गुनासो आएको उल्ल्ेख गर्दै विभागले यस्ता व्यक्तिलाई यथाशिघ्र एउटा सहकारीमा मात्र संचालक पद कायम राख्न निर्देशन दिएको हो ।
यसैगरी विभागले सहकारीको नियमनकारी भूमिकामा रहेका सबै तहका नियामक नियकायहरुलाई मातहतका सहकारीको अनुगमन, निरीक्षण, नियमन तथा सुपरीवेक्षण गर्दा दोहोरो संचालक बस्न नपाउने व्यवस्था कार्यान्वयनको अवस्था बुझ्न अनुरोध गरेको छ ।
साथै यदी कुनै व्यक्ति दुई वा दुई भन्दा बढी सहकारीमा संचालक बसेको भेटिए सहकारी ऐन र नियमावली बमोजिम कारबाही गर्न समेत आग्रह गरेको छ ।



