सहयोगी बहुउद्देश्यीयमा कल्पना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति
ललितपुर । महालक्ष्मी–८, लुभु, क्वेयढोका स्थित सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
संस्थाको मंसिर २० गते सम्पन्न भएको २९औं वार्षिक साधारण सभाले कल्पना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
संस्थाको संचालक समतिको उपाध्यक्षमा सुर्यमान महर्जन, सचिवमा आशिष श्रेष्ठ र कोषाध्यक्षमा श्रवेश लाल श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्ष श्रेष्ठ निर्विरोध चयन भएका हुन् ।
सभाले संचालक समितिको सदस्यमा अनिल महर्जन, लक्ष्मी श्रेष्ठ, अजय श्रेष्ठ, बालकृष्ण महर्जन र ओम नारायण श्रेष्ठलाई सदस्य चयन गरेको छ ।
यसैगरी साधारण सभाले हरिभक्त श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ । समितिमा ओम श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठ सदस्य रहेका छन् ।
यसअघि संस्थाका कार्यवाहक अध्यक्ष कल्पना श्रेष्ठकाे अध्यक्षतामा संचालन भएकाे साधारण सभाको उद्घाटन सत्रमा संस्थापक अध्यक्ष नारायणलाल श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।
संस्थाका सचिव आशिष श्रेष्ठले संचालन गरेको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीलाई सदस्य अनिल महर्जनले छोटो मन्तव्य राख्दै स्वागत गरेका थिए ।
महिला उपसमति संयोजक अनिता श्रेष्ठले ब्याच वितरण गरेकी थिईन भने वेष्टविङ स्कूलका विद्यार्थीहरुले राष्ट्रिय गान गाएका थिए ।
साधारण सभामा संचालक समितिको तर्फबाट सचिव आशिष श्रेष्ठले आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन तथा चालु आ.व.को कार्यक्रम र कोषाध्यक्ष श्रवेश लाल श्रेष्ठले आर्थिक प्रतिवेदन तथा बजेट पेश गरे । लेखा सुपरीवेक्षण समितिका संयोजक हरिभक्त श्रेष्ठले लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए ।
सभामा पेश भएको प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा ३ हजार ६ सय ७ जना शेयर सदस्य आवद्ध भएको संस्थाको शेयर पुँजी ५ करोड ८१ लाख ५५ हजार रुपैयाँ कायम भएको छ ।
संस्थाले घरजग्गा खरिदका लागि भन्दा उद्योग व्यवसाय र उत्पादनशील क्षेत्रमा लगानी गर्ने कार्यलाई प्राथमिकता दिँदै आएको छ । साथै एउटै व्यक्तिलाई ठूलो रकम ऋण दिनुको साटो धेरै सदस्यलाई स–सानो आकारमा ऋण प्रवाह गरेर व्यवसायी बनाउने प्रयास गर्दै आएको छ ।
शेयर सदस्यहरुलाई आधुनिक प्रविधिमैत्री सेवा प्रवाह गर्न संस्थाले मोबाईल बैंकिङ सेवा समेत संचालनमा ल्याएको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य शिविर संचालन गर्ने, सदस्यलाई तीर्थ भ्रमण गराउने, छात्रवृत्ति प्रदान गर्ने, सदस्यलाई स्वास्थ्य राहत दिने, स्थानीय सम्पदा तथा संस्कृति संरक्षण गर्नका लागि विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्ने लगायतका कार्य गर्दै आएको छ ।
वार्षिक साधारण सभाको अवसर पारेर संस्थाले शेयर सदस्यहरु मध्येबाट ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको थियो ।
.jpg)


