बागमती प्रोस्कूनले प्राधिकरणको निर्देशन पालना गरी पाँचौ बार्षीक साधारण सभा सम्पन्न

बागमती प्रोस्कूनले प्राधिकरणको निर्देशन पालना गरी पाँचौ बार्षीक साधारण सभा सम्पन्न
समाचार | 2025-12-14 Share

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि ( बागमती प्रोस्कून) को पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रोस्कूनले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी निर्देशनको पूर्ण पालना गर्दै सदस्य संस्थाहरुको बिचमा सभा सम्पन्न गरेको हो । संघले सभामा अतिथि विना वार्षिक नीति तथा कार्यक्रम माथि व्यापक छलपल गरी पारित गरेको छ । प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको सभामा महासचिव गोविन्दप्रसाद काफ्लेले आ.व.२०८१\८२ को प्रगति प्रतिवेदन र यस आर्थिक बर्षको नीति, कार्यक्रम तथा कार्ययोजना सभामा प्रस्तुत गरेका थिए । 

अध्यक्ष सापकोटाले सभामा अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै सहकारी संस्था रहेको र त्यस मध्ये थुप्रै संस्था  समस्यामा परेको  बताए । उनले यस प्रदेशका सहकारीमा समस्या मात्र नभई बचत तथा ऋण परिचालन,रोजगारी सृजना, उद्यमशीलता विकास जस्ता क्षेत्रमा समेत उल्लेख योगदान गरेकोे बताए । संघ स्थापनाको  मुख्य उदेश्य सदस्य संस्थाहरुको क्षमता विकासका साथै अभियानमा निरन्तर वहस तथा पैरवी गर्नु रहेको सो अवसरमा अध्यक्ष सापकोटाले बताए । संघले ८ वटा विषयवस्तुमा पाठ््यक्रम विकास गरी गुणस्तरीय तालिमहरु सञ्चालन गर्दै आएको समेत उनले जानकारी दिए । संघले अन्तर लगानीलाई सुरक्षित रुपमा परिचालन गर्दै आएको र आगामी दिनमा पनि वित्तीय सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर लगानी गर्ने उनले जनाए । 

संघले चार बर्षिय रणनीति तयार गरेको र ‘ सदस्यहरुको सुरक्षा र समृद्धिका लागि प्रभावकारी पैरवी र सफल व्यवसायीकरण मार्फत् प्रविधिमा आधरित सेवा सुनिश्चितता गराउँदै सुशासन प्रर्वद्धन गर्ने’ भन्ने रहेको उनले जनाए । सहकारी अभियानको उत्कृष्ट संघ बन्ने परिकल्पना संघले बोकेको र सोही अनुसारको नीति तथा कार्यक्रम तय गरी अगाडि बढेको उनको भनाई छ ।   त्यसैगरी कोषाध्यक्ष प्रदिप थापाले आ.व.२०८१\८२ को आर्थिक प्रगति प्रतिवेदन तथा यस आ.व.को अनुमानित आयव्यय विवरण र बजेट सभामा प्रस्तुत गरेका थिए । संघमा गत आ.व. को असार मसान्तसम्म ५ सय ३८ सदस्य संस्था आवद्ध रहेको र त्यस अवधिमा शेयर पुँजी ७ करोड ५५ लाख पुगेको उनले सभामा जानकारी दिए । त्यसैगरी बचत संकलन,२ अर्ब ३१ करोड ४५ लाख, ऋण लगानी १७ करोड ५३ लाख, वित्तीय लगानी १ अर्ब ४६ करोड २ लाख गरी कुल सम्पत्ति २ अर्ब ४३ करोड २ लाख पुगेको कोषाध्यक्ष थापाले बताए । संघले त्यस अवधिमा ५७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । प्रोस्कूनको जगेडा कोषमा १ करोड ८४ लाख ८२ हजार र अन्य कोषमा ९४ लाख रुपैयाँ पुगेको छ ।  

संघले स्थापना दिवसको अवसरमा घोषणा गरेको पुरस्कार तथा सम्मान समेत प्रदान गरेको छ । संघले विभिन्न विधामा संघ संस्था र व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । पुरस्कार प्राप्त गर्नेहरुमा सहकारी अभियान्ता बर्षको उत्कृष्ट सम्मान ओमदेवी मल्ललाई प्रदान गरिएको थियो । उत्कृष्ट जिल्ला बचत संघका रुपमा कास्कून, उत्कृष्ट साकोसतर्फ  दोलखाको जनमुखी साकोसलाई प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट महिला साकोसमा काभ्रेको लक्ष्मी महिला साकोस, पुर्व संचालक तेजेन्द्रबहादुर खड्का, उत्कृष्ट संचारकर्मी नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, उत्कृष्ट संचालक सदस्यहरुको तर्फबाट काभ्रेको बनेपामा रहेको बुडोल सामुदायिक साकोसका अध्यक्ष कैलाश केसी, उत्कृष्ट ब्यवस्थापकका रुपमा ग्रामिण साकोस चितवन राप्तीका सिताराम सिलवाल सम्मानित भए । 

त्यस्तै उत्कृष्ट महिला ब्यवस्थापकमा जागरण साकोस गढी ४ मकवानपुरकी मेनुका दाहाल, उत्कृष्ट कर्मचारी काठमाडौका इन्चार्ज रामकृष्ण दुलाल, सेवा उपयोगकर्ता नेचुरल साकोस काठमाडौ ६, उत्कृष्ट लगानीकर्ता काभ्रेको बनेपामा रहेको विन्धबासिनी सहकारी, उत्कृष्ट बचतकर्ता दोलखा जिल्ला बचत तथा ऋण सहकारी, एकीकरण प्रोत्साहन सम्मान बज्रबाराही साकोस सम्मानित भएका छन् । संस्थाका अध्यक्ष उद्धव सापकोटा लगायतका संचालक समिति तथा सल्लाहकार सदस्यहरुले सम्मान र पुरस्कार प्रदान गरेका थिए । सम्मानित व्यक्ति तथा संघसंस्थालाई नगद तथा सम्मान पत्र प्रदान गरिएको थियो ।

सभामा वरिष्ठ उपाध्यक्ष जिवसराज खड्काले स्वागत मन्तव्य राखेका थिए भने सचिव ठाकुरप्रसाद बाँस्कोटाले सभा सञ्चालन गरेका थिए । २०७७ श्रावण १३ गते स्थापना भएको प्रोस्कुनमा ५ सय ३४ संस्था सदस्य  आवद्ध रहेका छन् । अधिकांश सहकारी संस्थाले नविकरण गरी साधारण सभामा भाग लिएको प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले बताए । सभामा बागमती प्रदेशका १३ जिल्लाका सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।